अन्तर्वार्ता

नेपालमा शून्य दशमलव आठ प्रतिशतले मात्रै गर्छन् रक्तदान

By विना न्यौपाने

July 18, 2022

पछिल्लो समय रगतको अभाव बढ्दै गएको छ। दैनिक रुपमा अस्पतालमा रगत खोज्ने बिरामीका आफन्तको संख्या बढ्दो छ। तर मागअनुसार आपूर्ति भने निकै कम छ। जसले गर्दा आम मानिसमा रगतको माग र आपूर्तिको सन्तुलन मिल्न सकेको छैन। अहिलेसम्म जम्मा तीन लाख मानिसले मात्रै रक्तदान गरेका छन्। जुन असाध्यै थोरै छ। यद्यपि पछिल्ला वर्षमा रक्तदान गर्नेको संख्या भने बढ्दो छ। रगत अभाव, रगतको आपूर्ति र रक्तदानको पछिल्लो अवस्थाबारे केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

रक्तदान गर्न मानिस किन डराइरहेका छन् ? रक्तदान गर्न सुरु गरेका व्यक्तिहरुले नियमित रुपमा नै गरिरहनु भएको छ। १०० पटक भन्दा पनि बढी रक्तदान गर्ने मान्छे अझै पनि हाम्रो समाजमा देख्न सकिन्छ। तर, नेपालमा कुल जनसंख्याको ० दशमलव ८ प्रतिशतले मात्र रक्तदान गर्नु हुन्छ। त्यसमा पनि धेरैले नियमित रक्तदान गर्नु हुन्न र त्यसमा पनि करिब १७ प्रतिशत महिला हुनुहुन्छ र पुरुष ८३ प्रतिशत हुनुहुन्छ। डब्लु एच ओको भनाइ अनुसार एउटा देशमा रगतको अभाव हुन नदिने हो भने त्यो देशका कम्तिमा पनि २ प्रतिशतले रक्तदान गनुपर्दछ। तर, हाम्रो देशमा त्यो छैन। यसलाई बढाउनका लागि रक्तदान किन कहाँ गर्ने र यसले केही बेफाइदा हुन्छ कि भन्ने मानिसलाई रक्तदानमा फाइदाका बारेमा बताउनु पर्दछ।

रक्तदानका फाइदा के के छन्, रक्तदान किन गर्नुपर्छ ? पहिलो कुरा हाम्रो शरीरको हाड भित्र रहेको मासुले सेतो र रातो रक्त कोष नियमित रुपले उत्पादन हुन्छ र पुरानो रगत मरी रहेको हुन्छ र खेरा जान्छ। त्यसैले यो शरीरमा भएर पनि काम नलाग्ने खेरा जाने रगत हामीले दान गर्यौ भने त्यसले कुनै पनि बेफाइदा गर्दैन। रक्तदाताले रक्तदान गरेको रगत ३ महिना भित्र पूण रुपले शरीरमा प्राकृतिक रुपले परिपूर्ति हुन्छ। रातो रक्त कोषहरु पूर्ति हुन एक दुई महिना लाग्छ अरु तत्व एक दुई हप्तामै हुन्छ त्यसैले मेरो रगत धेरै गयो भने म कमजोर हुन्छु भनेर सोच्नु पर्दैन। दोस्रो कुरा हाम्रो शरीरलाई तौल अनुसार प्रति केजी ५० मिलिलिटर रगत भए पुग्छ। जसकारण पुरुषमा प्रति केजी ७६ र महिलामा प्रति केजी लगभग ६६ मिलिलिटर रगत हुन्छ। त्यसैले प्रकृतिक रुपमा चाहिने भन्दा बढी नै रगत हुन्छ। १८ वर्ष कटेका र ४५ केजी तौल भएका व्यक्तिले ३–३ महिनामा ३५० देखि ४५० मिलिलिटर रगत रक्तदान गर्दा कुनै असर गदैन। तेस्रो कुरा, नियमित रक्तदान गर्ने व्यक्तिसँग कुरा गर्दा शरीरमा स्फुर्ती आउछ भन्नुहुन्छ। कुनै रोगले छुदैन हृदयघातदेखि लिएर कोलेस्टोरलका समस्या कम भएको अध्यायनले नै देखाएको छ, त्यसैले आफ्नो शरीरको स्फूर्तिको लागि पनि रक्तदान गर्नु आवश्यक छ।

चौथो कुरा, यदि शरीरमा र रगतमा कुनै रोगहरु लागेको छ भने जस्तोः भाइरल हेपाटाइटिस बी, एचआईभी छ भने त्यो टेस्ट हुन्छ। यदि त्यस्तो रहेछ भने रक्तदातालाई खबर जान्छ। आफूलाई स्वस्थ राख्न र अरुको ज्यान बचाउनलाई रक्तदान गर्ने भएकोले सबै भन्दा ठूलो कुरा भनेको आत्म सन्तुष्टि हो। यो एउटा पुण्यको काम हो। अथवा मानव भएर जन्म लिइसकेपछि ‘दानमा दान महादान भनेकै रक्तदान’ हो भन्ने कुरा नै ठूलो हो। त्यसैले भौतिक रुपले आध्यात्मिक रुपले समुदायमा एउटा जिम्मेवार नागरिकको रुपले रक्तदान गर्दा फाइदै फाइदा छ।

कस्तो व्यक्तिले कति समयमा रक्तदान गर्नुपर्छ ? स्वस्थ र कुनै औषधि नलिएको १८ वर्षदेखि ६५ वर्षसम्मका मानिसले रक्तदान गर्न मिल्छ। तर, पहिलो पटक रक्तदान गर्न ५५ वर्षभित्र नै गरिसक्नु पर्दछ। त्यहाँ तौलको कुरा आउछ ४५ केजी तौल हुनुपर्दछ भनेर नेपाल सरकारले भनेको छ। सामान्य रक्तचाप हुनुपर्दछ माथिल्लो (सिस्टोलिक) रक्तचाप १०० देखि १४० एम एम तल्लो (डायस्टोलिक) ६० देखि ८० एम एम को हुनुपर्दछ। एन्टिबायोटिक औषधि लिराखेको व्यक्ति, मदरिया भएको डेंगु लागेर निको भएको, जन्डिस, ठेउला, भएको ठूलो अप्रेसन गरेको ट्याटु खोपाएको व्यक्तिले केही महिना रक्तदान गर्न मिल्दैनपछि मिल्छ। सुत्केरी भएको अथवा गर्भपतन भएको छ भने त्यसको ६ महिनासम्म रक्तदान गर्न मिल्दैन। स्तनपान गर्दै आएको महिलाले एक वर्षपछि मात्र रक्तदान गर्न मिल्छ। टाइफाइड निको भएकोले एक वर्षसम्म रक्तदान गर्न मिल्दैन। रक्तदान गर्न नमिल्ने भनेको क्यान्सर भएको दीर्घरोग लागेका मुटुको रोग भएका रगतको संक्रमणको रोग भएका मिर्गौलाको रोग भएका व्यक्तिहरुले दिन मिल्दैन।

रक्तदान गरेको व्यक्तिले कत्तिको केयर गर्ने ? कस्तो खाने कुराहरु खानुपर्छ ? रक्तदान एकदमै सरल छ। छोटो समयमा नै हुन्छ कही फलफूल सामान्य झोलिलो र नुनिलो पदार्थ खानुपर्दछ। तीन घण्टासम्म धुम्रपान गर्न हुँदैन। गह्रौ भारी र जिम जाने मानिसले त्यो दिन नगर्ने, सामान्य आराम गर्ने।

नेपालमा पछिल्लो समय रक्तदानको ट्रेन्ड कस्तो छ ? नेपालमा युवाको रक्तदानमा आकषर्ण बढ्दै छ। त्यसलाई अझ बढाउनु पर्दछ। किन भने ० दशमलव ८ प्रतिशतले रक्तदान गर्नुहुन्छ। त्यसलाई २ प्रतिशतसम्म पुर्याउनु पर्दछ त्यसो भयो भने मात्र भनेको समयमा भनेको सेवा दिन सकिन्छ। रक्तदानमा विभिन्न किसिमका संघ सस्था जेडिने क्रम जारी छ। नेपाल सरकारले पनि यो क्षेत्रामा लगानी बढाउनु पर्दछ भन्ने धारणा ल्याइसकेको छ। रक्तदानको बारेमा प्रचारप्रसार बढाउनु पर्दछ। त्यसमा पनि महिला र युवाले रक्तदान गर्ने कार्यलाई बढाउन सकियो भने नेपालमा रगतको सहज पहुँच पुग्छ र धेरै मानिसले यो बुझिरहनु भएको छ।

वार्षिक रुपमा नेपालमा कति रगत संकलन हुने गरेको छ ? गएको वर्षको तथ्यांक हेर्ने हो भने दुई लाख ४२ हजार ४८ जनाले रक्तदान गर्नुभएको छ। नेपाल रेडक्रसको जुन देशभर संजाल छ। यसबाट तीन लाख ३१ हजार ७ सय ५६ युनिट रगत तथा रक्त तत्वहरु हामीले वितरण गरेका छौँ। यो हेर्दा जनसंख्याको ० दशमलव ८ प्रतिशतले मात्र रक्तदान गरेका पत्ता लगायौं। समग्रमा नेपालको अस्पताल र रेडक्रसको क्षेत्रमा हेर्ने हो भने ७० वटा जिल्लाको ११७ स्थानबाट रक्त संचार सेवा चालु छ। वर्षको कम्तिमा तीन लाख मानिसले रक्तदान गरिराख्नुभएको छ।

धेरैले रक्तदान गर्नुहुन्छ। तर, आफूलाई चाहिएको बेला पाउन सकिँदैन भन्ने गुनासो धेरै सुनिन्छ, किन हो ? रक्तसंचार केन्द्रको मुल आधार भनेको नै रक्तदाता हो। रेडक्रसका निकायमा रगतको मात्रा बढ्यो भने सजिलै पाउन सकिन्छ। यदि मागेको रगत स्टकमा रहेन छ भने समस्या हुन्छ। रगत भनेर मात्र पनि हुँदैन त्यो पोजेटिभ र नेगेटिभ गरी आठ प्रकारका हुन्छन्। त्यसैले आफ्नो समूहको रगत नपाइन सक्छ। नेपालमा ९७ प्रतिशत जति पोजेटिभ समूह हुनुहुन्छ र तीन प्रतिशतमात्र नेगेटिभ समूह हुनुहुन्छ। त्यसैले त्यो खोज्नु पर्ने हुन्छ। हरेक व्यक्तिले आफूसँग मिल्दो रगत कस्को छ भनेर नातागोतासँग याद गर्न सकियो भने आफूलाई चाहिँदा पाउन सकिन्छ। नेपाल रेडक्रसले एक घर एक रक्तदाता भन्ने अभियान ल्याएको छ। यदि त्यसो भयो भने परिवारका अन्य व्यक्तिलाई चाहियो भने त्यही परिवारको व्यक्ति वा नजिकको नातेदारबाट त्यो परिपूर्ति हुन्छ।

रक्तदान गरेको रगत कति समयसम्म राख्नु हुन्छ या रहन्छ ?

३५ दिनसम्म प्रिजब गरेर सबै परीक्षण गरेर तयार गरेर राख्न सकिन्छ। रगतको कम्पोनेन्टको आधारमा आयु हुन्छ।

रक्तदाताले निशुल्क दान गरेको रगत धेरै मूल्यमा बेचिन्छ भन्ने आरोप छ नि, सत्य हो ?

रगत एउटा अमूल्य छ जसको कुनै मूल्य नै हुँदैन बेच्ने कुरा पनि होइन। जब रक्तदाताको रगत ल्याबमा आउछ त्यसको अनेकौँ रोगको परीक्षण गर्नुपर्ने हुन्छ, त्यहाँ हेपाटाइटिस बी एचआइभी कुन समूहको रगत हो। त्यो परीक्षण गर्नु पर्ने हुन्छ। त्यसलाई तापक्रम मेन्टेन्न गर्नु पर्ने हुन्छ भण्डार गर्नुपर्ने हुन्छ। रक्त सञ्चालनमा खर्च लाग्छ त्यो खर्च कही न कहीबाट मिलाउनु पर्दछ। त्यसमा पनि काम गर्ने जनशक्ति हुनुहुन्छ त्यहाँ पेमेनट गर्नु पर्दछ। त्यसैले त्यसमा खर्च हुन्छ भन्ने बुझ्नु पर्यो। अहिले गण्डकी प्रदेशले त्यहाँको बासिन्दालाई रगत फ्रिमा दिएको छ, त्यस्तै बागमती प्रदेशले पनि निश्चित हस्पिटलमा जाने बिरामीलाई फ्रि गरेको छ। कठमाडौंको हकमा वीर अस्पतालमा जाने बिरामी जो बागमती प्रदेशको हुनुहुन्छ। कीर्तिपुर नगरपालिकाले आफ्ना नागरिकलाई निःशुल्क रगत दिएको छ। त्यसमा लाग्ने कष्ट नगरपालिकाले नै रेडक्रसलाई उपलब्ध गराउँछ। टोखा नगरपालिकाले पनि गरेको छ। यस्तै धेरै नगरपालिकाले गर्दै आएका छन्।

सबैलाई रक्तदानको लागि कसरी आह्वान गर्नु हुन्छ ? आत्मसन्तोष सबैभन्दा ठूलो कुरा हो। रक्तदानको कुनै बेफाइदा छैन। फाइदा नै फाइदा छ। स्वेच्छिक र अवैधानिक रुपले सेवाको भावनाले सबैलाई हामीले अरुलाई सेवा गर्यौँ भने हामीलाई पनि चाहिएको बेला पाइन्छ। तपाईं एक जनाको रक्तदानले तीन जनासम्मको ज्यान बचाउन सकिन्छ भन्न चाहन्छु।