मनोरञ्जन

बोर्ड अध्यक्षमा १० आकांक्षी, कसको साथ कसलाई ? 

By खबरहब

July 18, 2022

काठमाडौँ- अन्ततः सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डमा रिक्त रहेको अध्यक्ष पदका लागि १० उम्मेदवारको औपचारिक सूची सार्वजनिक गरेको छ । मन्त्रालयले सोमबार सूचना जारी गर्दै उम्मेदवारको सूची बाहिर ल्याएको हो । उम्मेदवारी दिएका १० जनाकै आवेदन स्वीकृत गर्दै मन्त्रालयले १० जनाको सुची प्रकाशित गरेको हो ।

उम्मेदवारको दरखास्त स्वीकृत भएको जानकारी दिँदै मन्त्रालयले छानिएका उम्मेदवारको व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति, समय र स्थान पछि तोक्ने जानकारी पनि सूचनामा उल्लेख छ ।

मन्त्रालयका अनुसार सुनसरीका अरुणकुमार प्रधान, काठमाडौँका दीपक श्रेष्ठ, ललितपुरका नरेशकुमार पौड्याल, काठमाडौँका निर्मलराज ढकाल, भुवन केसी, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुशीलकुमार पोखरेल र सुष्मा कार्की उम्मेदवारको रूपमा छन् । उनीहरूले प्रकाशित सूचनाको आधारमा आवेदन दिएका थिए ।

यसपटक अध्यक्ष बनाउन निकै ढिलाइ भएको गुनासो फिल्मकर्मीको छ । बोर्डमा अध्यक्षको पद रिक्त भएको डेढ महिना भइसक्दा मन्त्रालयले अन्तर्वार्ता लिने डेट समेत तय गरेको छैन । यसकासाथै यसपटक अध्यक्ष बन्ने दौडमा केहि नामहरू छन् । विशेषत भुवन केसी , सम्झना उप्रेती रौनियार , नरेश कुमार पौड्याल दौडमा बलियो रहेको बुझिएको छ ।

अध्यक्ष बन्ने सहमति सहित केही समय अगाडी भुवन केसी एमाले छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । उनलाई समाजसेवी अनुराधा कोइरालाले कांग्रेस सभापति शेर बहादुर देउवासँगै छलफल गराएर पार्टी प्रवेश गराएकी थिइन् । भुवनलाई समाजसेवी कोइरालासँगै कांग्रेसका प्रदेश सभापति इन्द्र बानियाको समर्थन छ । उनले आफ्नो नामको स्टारडमलाई प्रयोग गर्दै कांग्रेसका केही नेताहरुलाई समेत आउँदो समयमा उमेर बाधक हुने भन्दै यसपटक सघाउन आग्रह गरेका छन् ।

सम्झना उप्रेती रौनियार पनि बलियो नाम बनेकी छिन् । नेपाली कांग्रेसमा विद्यार्थी काल देखि नै राजनीतिमा सक्रिय उनी महासमिति सदस्य हुन् । कांग्रेसमा महासमिति सदस्यले विधान समेत परिवर्तन गर्ने अधिकार राख्ने भएकाले उनको दावेदारी बलियो छ । साथै उनी नेता प्रकाश मान सिंहसँग नजिक छिन् । उनले सिर्जना सिंहलाई काठमाडौँमा सघाएकी थिइन् । त्यसैले प्रकाश र सिर्जना सहित काठमाडौं क्षेत्र नम्बर १ बाट उनको लागि दबाब गइरहेको छ । राजनीतिसँगै सम्झना फिल्म नगरीमा छुटै पहिचान बनाएकी निर्देशक हुन् । पत्रकारितामा समेत सक्रिय सम्झनाले मेघा र फागु फिल्म निर्देशन गरेकी छिन् । फिल्मको शिक्षा लिएर नै उनले निर्देशनमा पाइला टेकेकी थिइन् ।

नरेश कुमार पौड्याल नेपाली कांग्रेसमा जोडिएका पुराना फिल्मकर्मी हुन् । उनले आफ्नो बल्दो समयमा पार्टीलाई सघाएका थिए । प्रशासनिक ज्ञान समेत भएकाले नरेशले आफ्नो दाबी स्वाभाविक रहेको बताउँदै आइरहेका छन् । नेपाली फिल्ममा निर्माता , निर्देशक र कलाकारको रूपमा परिचय स्थापित गरेका नरेशको फिल्मी यात्रा दुई दशक भन्दा लामो छ । उनलाई पार्टीको कुन पक्षले सहयोग गरेको स्पष्ट रूपमा खुलेको छैन । यद्यपि पार्टी सभापति देउवाको खेमाको रूपमा चिनिने फिल्म निर्माता रोज राणा र नरेशको तस्बिर सामाजिक सञ्जालमा पाइएको छ ।

यी नामसँगै अरुण कुमार प्रधान पूर्वका हुन् । सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँग उनी नजिक छन् । उनलाई पूर्वका कांग्रेसीहरुको साथ छ । पूर्व अध्यक्ष राजकुमार राईले पनि उनलाई सघाइरहेको चर्चा फिल्म नगरीमा छ । राजकुमार र अरुण सञ्चार मन्त्री कार्कीको संघीय निर्वाचनमा प्रभाव पार्न सक्ने भएकाले यसलाई पनि महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

यसका साथै अन्य उल्लेखित नामहरू पनि कहीँ कतै कसैको भरोसामा आवेदन दिएका छन् । उनीहरूको अन्तर्वार्ता लिएपछि तीनलाई छानिने र उनीहरू मध्ये एकलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरिने छ ।