काठमाडौँ- युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले निर्माणाधीन मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अनुगमन गरेका छन् । सोमबार बिहान मुलपानी पुगेका मन्त्री गहतराजले निर्माणाधीन रंगशालाको निर्माण कार्य युद्ध स्तरमा अघि बढाउन निर्देशन दिएका हुन् ।
आगामी २ वर्षभित्रै सम्पन्न हुने गरी निर्माण कार्य अगाडी बढाउन निर्देशन दिदैं मन्त्री गहतराजले गुणस्तरियताका लागि प्राविधिक पाटोलाई समेत ख्याल गर्नुपर्ने बताए ।
मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङसहित रंगशालाको निरीक्षणमा पुगेका मन्त्रीले खेलकुदलाई उद्योगको रूपमा विकास गर्नुपर्ने बताउँदै त्यसका लागि सबै खेल प्रेमीको इमानदार प्रयासको आवश्यकता रहेको बताए ।
अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री गहतराजले अभ्यासरत खेलाडीहरूसँग भेटघाट गरेका थिए ।