तस्बिर : बीबीसी

अन्तर्राष्ट्रिय

भारतमा थप एक व्यक्तिमा मङ्कीपक्स सङ्क्रमण पुष्टि

By खबरहब

July 18, 2022

काठमाडौँ- भारतको दक्षिणी राज्य केरलामा विदेशबाट आएका एक व्यक्तिमा सोमबार मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको छ ।

केरला राज्यका स्वास्थ्यमन्त्री वीना जर्जका अनुसार पुणे शहरको नेशनल इन्स्टिच्युट अफ भिरोलोजी (एनआईभी) मा उनको नमूना परीक्षण गरिएपछि दोस्रो मङ्कीपक्स सङ्क्रमण पुष्टि गरिएको हो । केरला सरकारले यो रोग विरुद्धको रोकथामका उपायलाई तिव्रता दिएको छ ।

कन्नूर जिल्लाका स्थायी वासिन्दा ३१ वर्षीय युवकको केरलाको एक सरकारी अस्पतालमा उपचार भइरहेको बताइएको छ । उनी जुलाई १३ मा दुबईबाट केरला आएका थिए । स्वास्थ्य अधिकारीका अनुसार मङ्कीपक्स सङ्क्रमित बिरामीको स्वास्थ्य चिन्ताजनक अवस्थामा छैन ।

प्रशासनले उनको सम्पर्कमा आएका व्यक्तिहरूलाई पनि समूहमा घुलमिल नहुन आह्वान गरेको छ । साथै चिकित्सकहरूले उनीहरूको स्वास्थ्य अवस्थालाई पनि अवलोकन गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मुलुककै पहिलो मङ्कीपक्सका बिरामी पनि केरालामा नै पत्ता लागेको थियो । तर, ती संक्रमित व्यक्ति संयुक्त राज्य अमेरिकाबाट आएका यात्री थिए । ती यात्री जुलाई १२ मा केरला आइपुगेको बताइएको छ ।

भारतमा मङ्कीपक्सको पहिलो सङ्क्रमण पुष्टि भएपछि केन्द्र सरकारले यसलाई फैलिन नदिन आवश्यक सावधानी अपनाउन र परीक्षणलाई व्यापक बनाउन वरिष्ठ चिकित्सकसहितका समूहलाई विभिन्न राज्यमा पठाएको थियो ।