काठमाडौँ– बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः
१. नागरिकता पहिलो संशोधन विधेयक प्रस्ताव स्वीकृत
प्रतिनिधिसभामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ माथि पुनः विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेको सो प्रस्ताव बहुमतले स्वीकृत भएको हो । बैठकमा नेपाल नागरिकता पहिलो संशोधन विधेयकमाथि छलफल जारी छ ।
२. नागरिकता विधेयक दिउँसो राति पठाऔँ : सांसद महतो
प्रतिनिधि सभाको बैठकमा सांसदले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक दिउँसो नभई राति पठाउन भन्दै व्यंग्य गरेका छन् । सत्ता गठबन्धनको दल माओवादी केन्द्रका सांसद गजेन्द्र महतले नागरिकता विधेयक प्रमाणीकरणका लागि दिउँसो नभइ, राति पठाउनुपर्ने भन्दै राष्ट्रपतिमाथि व्यंग्य गरेका हुन् ।
आज बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद महतले दिउँसो पठाउँदा विधेयक पास नहुने, तर राति पठाउँदा पास हुने गरेको भन्दै राष्ट्रपतिको ‘भूमिका’ प्रति व्यंग्य गरेका हुन् ।
३. राष्ट्रपतिले दिएको अवसरलाई सदुपयोग गर्न एमालेको माग
प्रमुख प्रतिपक्षी नेकपा एमालेले नागरिकता विधेयकलाई सर्वस्वीकार्य दस्तावेज बनाउन राष्ट्रपतिले दिएको अवसरलाई सदुपयोग गर्न माग गरेको छ ।
राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकमाथि आज प्रतिनिधिसभामा सुरु भएको छलफलमा भाग लिँदै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले संसद् नियमावली अनुसार सांसदहरूलाई संशोधन हाल्ने अवसर दिनुपर्ने र जनताको प्रतिक्रिया लिनुपर्ने बताएका हुन् ।
४. वामपन्थीलाई एकीकृत गर्न लागेको छुः प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू अहिले वामपन्थी आन्दोलनलाई एकीकृत गर्न सक्रिय रहेको बताएका ।
रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले पुरानै तरिकाले राष्ट्रको आवश्यकता पूरा नहुने भएकाले वामपन्थी आन्दोलनलाई एकीकृत र ध्रुविकृत गरेर अगाडि बढ्नुपर्ने बताएका हुन् ।
उनले कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले ध्रुविकृत गर्ने र एकीकृत गर्ने काम भइराखेको पनि जानकारी दिए ।
५. सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी
सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । आगामी मंसिर ४ गते निर्धारित प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँडका विषयमा छलफल गर्न नेताहरू जुटेका छन् ।
गठबन्धनले सिट बाँडफाँडका लागि कार्यदल गठन गरेको कार्यदलले खाका तयार पार्न नसकेपछि शीर्ष नेताहरू नै छलफलमा जुटेका हुन् । बैठकमा कार्यदलका नेताहरू पनि सहभागी भएका छन् ।
६. फेरि रोकियो फोहोर
बन्चरेडाँडामा फोहोर विसर्जन गर्ने सहमति भएको २४ घण्टा पनि नबित्दै फेरी स्थानीयले आज बिहानैदेखि फोहोर फोहोर फाल्न रोक लगाएका छन् ।
तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसमेतको उपस्थितिमा हिजो साँझ भएको सहमतिमा फोहोर फाल्न दिने सहमति गरिएको भएपनि काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरूलाई आज बिहान स्थानीयले रोकेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
७. ओखलढुङ्गाको एक घरमा आगलागी
ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–६ ठाडेमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । गए राति विद्युत सर्ट भएर लागेको आगोले स्थानीय डम्बरबहादुर मगरको चार तले कच्ची घर जलेर नष्ट भएको हो ।
आगलागीबाट करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । राति १० बजेबाट सुरु भएको आगलागी राति १ बजेमात्रै नियन्त्रणमा आएको बताइएको छ ।
८. काबुलको मस्जिदमा विस्फोट, २० जनाको मृत्यु
अफगानिस्तानको राजधानी काबुलको एउटा मस्जिदमा भएको हमलामा २० जनाको मृत्यु भएको छ । हिजो साँझको प्रार्थनाको समयमा भएको उक्त विस्फोटमा अन्य केही घाइते भएका छन् ।
विस्फोटमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारीले बताएका छन् । विस्फोटको जिम्मा कुनै समूहले लिएको छैन् । घाइतेको स्थानीय अस्पतालमा उपचार गरिएको प्राप्त विवरण जनाइएको छ । विस्फोटमा २० जनाको मृत्यु भएको अलजजिराले जनाएको छ ।
९. तापक्रम वृद्धिको चपेटामा चीन
लामो खडेरीसँगै तापक्रम वृद्धि उच्च भएपछि चिनियाँ अधिकारीहरूले कृत्रिम वर्षा गराउने प्रयास गरेका छन् । देशको मध्ये तथा दक्षिणपश्चिमी क्षेत्रमा चिनियाँ विमानहरूले आकाशमा बादल सिर्जना गर्ने सिल्भर आयोडाइड रडहरु विस्फोट गराएका छन् ।
चुरोटका खिल्ली जस्ता रडहरु आकाशमा देखिएका बादलभित्र विस्फोट गराएर त्यसबाट वर्षा गराउने प्रयास गरिएको हो । यद्यपि त्यसको परिणाम भने सन्तोषजनक नभएको चिनियाँ अधिकारीहरूले बताएका छन् ।
१०. पहिलो एकदिवसीयमा न्युजिल्याण्डविरुद्ध घरेलु टोली वेस्ट इन्डिज विजयी
घरेलु टोली वेस्ट इन्डिजले न्युजिल्याण्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा जित हात पारेको छ । बार बाडोसमा आज बिहान भएको खेलमा वेस्ट इन्डिज ५ विकेटले विजयी भएको हो ।
जितसँगै तीन खेलको एकदिवसीय सिरिजमा घरेलु टोलीले १–० को अग्रता बनाएको छ ।