दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू (अडियोसहित)

By खबरहब

August 18, 2022

काठमाडौँ– आज दिनभर नागरिकता विधेयक प्रतिनिधिसभाबाट जस्ताको त्यस्तै पारित, एमसीसीका विभिन्न आयोजनाको ठेक्का आह्वानका लागी तयारी तिव्र, महिला रोजगारी र स्वरोजगारी सिर्जना गर्नु पर्नेमा प्रधानमन्त्रीको जोड, रुपान्तरणको काम आफैबाट सुरु गर्न पार्टीका नेताहरुलाई प्रचण्डको सुझाव, शुक्रबार बिहानसम्मका लागि माओवादी केन्द्रको बैठक स्थगित, नेपालमा थप ५ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि लगायतका समाचारहरू प्रमुख स्थानमा रहे ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

नागरिकता विधेयक प्रतिनिधिसभाबाट जस्ताको त्यस्तै पारित राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ ।

बिहीबार प्रतिनिधिसभामा भएको छलफलपछि मतबिभाजनका आधारमा उक्त बिधेयक बहुमतले पारित भएको हो ।

मत विभाजनमा नागरिकता विधेयकलाई प्रस्तुत रुपमा नै पारित गरियोस प्रस्तावको पक्षमा १३५ मत परेको थियो भने प्रस्तावको विपक्षमा ६० मत परेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराए ।

यसअघि राष्ट्रपतिले वैवाहिक अंगीकृत, प्रादेशिक पहिचान, महिलाको आत्मसम्मानलगायतका विषय उल्लेख गर्दै नागरिकता विधेयकलाई पुनर्विचार गर्न भन्दै साउन २९ गते प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् ।

एमसीसीका विभिन्न आयोजनाको ठेक्का आह्वानका लागी तयारी तिव्र अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतको आयोजनाका लागि आउँदो मङ्सिरभित्र ठेक्का आह्वान हुने भएको छ ।

एमसीसी कार्यान्वयन गर्ने नेपाली निकाय मिलिनियम च्यालेञ्ज अकान्ट नेपाल (एमसीए) ले विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नतिका लागि आउँदो नोभेम्बर अर्थात् मङ्सिरभित्र अन्तर्राष्ट्रिय ठेक्का आह्वान गर्ने तयारी भइरहेको जनाएको छ ।

ठेक्का आह्वानका लागि सबै कागजात तयारी अवस्थामा रहेको एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले जानकारी दिएका छन ।

६ महिनाको अवधि राखेर ठेक्का आह्वान हुने, त्यसपछिको तीन महिनामा ठेकेदार छनोट गरेर आउँदो वर्ष अर्थात् २०८० सालको भदौदेखि एमसीसी अन्तगर्तका आयोजनाको काम सुरु हुने उहाँले जानकारी दिए ।

नागरिकता विधेयकलाई राजनीतिकरण गर्न खोजिएको एमालेको आरोप  नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले नागरिकता विधेयकलाई राजनीतिकरण गर्न खोजिएको आरोप लगाएका छन ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा नागरिकता बिधेयकमाथिको छलफलका क्रममा ज्ञवालीले नागरिकतासम्बन्धी बिषय राष्ट्रियतासंग जोडिएको बिषय भएकाले कुनै दलले राजनीतिकरण गर्न नहुने बताएका हुन ।

उनले नागरिकताका बिषयमा जनमत विभाजित किमार्थ गर्न नहुने बताए । त्यस्तै उनले नागरिकता विधेयक छिटो टुंगो लगाउन प्रमुख प्रतिपक्ष रहेको भन्दै जबर्जस्ती, टाउकाको गिन्तीको आधारमा टुंगो लगाउन खोजिए यसका दुष्परिणाम राम्रो नहुने जिकिर गरे । राष्ट्रपतिबाट उक्त बिधेयक फिर्ता आएर छलफलका लागि अवसर प्राप्त भएको ज्ञवालीको भनाई छ ।

त्यस्तै कांग्रेस सांसद मीन विश्वकर्माले नागरिकता बिधेयकको सम्बन्धमा दलहरुले मौसमी राष्ट्रियता देखाएको टिप्पणी गरे । पूर्व फर्किँदा एक खालको, पश्चिम फर्किँदा एक खालको राष्ट्रियता, उत्तर फर्किँदा एक खालको र दक्षिण फर्किँदा एक खालको राष्ट्रियता हुने गरेकाले समस्या भएको उनको भनाई छ ।

महिला रोजगारी र स्वरोजगारी सिर्जना गर्नु पर्नेमा प्रधानमन्त्रीको जोड प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी सीप र प्रविधिमा आधारित उद्योगबाट उत्पादित वस्तुको प्रचारप्रसार र बजार विस्तार गर्न आवश्यक रहेको बताएका छन ।

महिला उद्यमी महासङ्घ नेपालको आयोजनामा बिहीबारबाट ललितपुरमा सुरु छैटौँ अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्वदेशी श्रम, सीप र कच्चा पदार्थमा आधारित उद्योग स्थापना गरी आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्न सहयोग पु¥याउन आग्रह समेत गरे ।

उनले स्ववदेशभित्रै उपलब्ध कच्चा पदार्थ, स्रोत साधनलाई अधिक परिचालन गरी निकासी प्रवद्र्धनमार्फत विदेशी मुद्राको आर्जन र रोजगारी विस्तार गर्न बिशेष ध्यान दिनुपर्ने बताए । मेलाले महिला रोजगारी र स्वरोजगारी सिर्जना गर्नका साथै अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने दिशामा अगाडि बढाउन सहयोग मिल्ने उनले विश्वास व्यक्त गरे ।

रुपान्तरणको काम आफैवाट सुरु गर्न पार्टीका नेताहरुलाई प्रचण्डको सुझाव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले रुपान्तरणको काम आफैवाट सुरु गर्न पार्टीका नेताहरुलाई सुझाव दिएका छन ।

रामवृक्ष यादवको २८ औँ स्मृति दिवसका अवसरमा माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले पार्टीलाई अघि बढाउन एक व्यक्ति मात्रै रुपान्तरण भएर नपुग्ने भन्दै रुपान्तरणको सुरुवात आफैबाट गर्न पार्टीका नेताहरुलाई सुझाव दिएका हुन ।

उनले नेताहरुले आफ्नो भनाई र गराई लाई एकतारुपता ल्याई अन्तरविरोधलाई हल गर्नुपर्ने बताए ।

शुक्रबार बिहानसम्मका लागि माओवादी केन्द्रको बैठक स्थगित नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ ।

बिहीबार बिहान ९ बजेका लागि बोलाएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित गरेर दिउँसो ४ बजेका लागि बोलाइएको थियो । पुनः ६ बजेका लागि बोलाएको बैठक शुक्रबार बिहान ८ बजेसम्मका लागि स्थगित भएको हो ।

शुक्रबार ८ बजेका लागि बोलाइएको माओवादी स्थायी कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्ने छन् ।

नेपालमा थप ५ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि नेपालमा थप ५ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ८२ पिसिआर परिक्षणका क्रममा २ सय २४ जना र २ हजार ८ सय ४८ एन्टीजेन परिक्षणका क्रममा ३ सय १८ जनामा कोरोना पुष्टि भएको छ ।

कोरोनाका कारण बिहीबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ४ सय २१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७७ हजार ३ सय ५८ जनाको मृत्यु भएको छ । हाल नेपालमा ५ हजार २ सय ६५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

संघीय निजामती ऐन तत्काल ल्याउन माग गर्दै आन्दोलन घोषणा संयुक्त ट्रेड यूनियन सञ्जालले संघीय निजामती ऐन तत्काल ल्याउन माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सञ्जालले प्रथम चरणको आन्दोलनले गरेको माग सुनुवाई नभएको भन्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको जानकारी दिइएको हो ।

दोस्रो चरणका आन्दोलनका माग सुनुवाई नभएमा आन्दोलनलाई थप शसक्त रुपमा अगाडी बढाउन बाध्य हुनेपनि सञ्जालले चेतावनी दिएको छ । र, त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार स्वयम् हुनुपर्ने समेत उसको भनाई छ ।

सञ्जालले पहिलो चरणको कार्यक्रम २०७९ भाद्र २ गते सम्पन्न गरेको थियो ।

साइकल खरिदमा मुख्यमन्त्रीको हस्ताक्षर रहेको कागजै गायब मधेस प्रदेश सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत वितरण गरेको साइकल खरिद प्रक्रियामा मुख्यमन्त्री र प्रदेश सचिवले हस्ताक्षर गरेका कागजात ‘हराएका’ छन् ।

मुख्यमन्त्री कार्यालयको उच्च स्रोतका अनुसार १४ हजार साइकल खरिद प्रक्रियाका कतिपय कागजात कार्यालयमै छैनन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५/७६ मा गरिएको उक्त खरिद प्रक्रियामाथि छानबिन गरिरहेकाले निर्णय फाइल मागेको थियो । अख्तियारमा पठाउन खोज्दा मुख्यमन्त्री र प्रदेश सचिवले हस्ताक्षर गरेका कागजात नभेटिएको स्रोतको भनाइ छ ।

ओखलढुंगामा १९ वर्षीया किशोरी बलात्कृत ओखलढुंगामा एक जना १९ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले खिजिदेम्बा गाउँपालिका–३ बस्ने ५१ वर्षीय बाल कुमार दर्जीलाई बुधबार पक्राउ गरेको छ ।

दर्जीले ती किशोरीलाई गत साउन २६ गते बलात्का गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खिजिफलाटेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

अडियो सुन्नुहोस् :