मुख्य समाचार

दिउँसो १ बजेसम्मका मुख्य १० समाचार

By खबरहब

September 18, 2022

काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउँसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्:

१. जबरालाई रोक लगाउन सरकारको निर्देशन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन सरकारले नेपाल प्रहरीलाई निर्देशन दिएको छ । सरकारले प्रहरी प्रधान कार्यालयलाई आज  बिहान सर्वोच्च अदालतमा जबरालाई  प्रवेश गर्न नदिन निर्देशन दिएको उच्च स्रोतले जनाएको छ ।  सरकारको निर्देशन आएसँगै जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउन सर्वोच्च परिसरमा आज  बिहानदेखि व्यापक रूपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । सर्वोच्च अदालत प्रशासनले पनि निलम्बनको फुकुवा पत्र नआउन्जेलसम्म प्रधानन्यायाधीश जबरालाई प्रवेश गर्न नदिन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ ।

२. सर्वोच्च जान रोके सरकारले जिम्मेवारी लिनुपर्ने निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालत प्रवेश गर्न  आफूलाई रोक्दा हुने दुर्घटनाको जिम्मेवारी सरकारले नै लिनुपर्ने बताएका छन्। आफूलाई सर्वोच्च प्रवेश गर्न नदिने योजना बनाएर सरकार अराजकता तर्फ गएको उनले टिप्पणी गरेका छन्। यसैबीच  नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालतभित्र प्रवेश गर्न नदिने निर्णय गरेको  छ ।

३. अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन प्रतिवेदन सरकारलाई हस्तान्तरण अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले तयार पारेको अध्ययन प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा विज्ञ समूहका संयोजक वीरेन्द्रबहादुर देउजाले प्रधानमन्त्री देउवालाई अध्ययन प्रतिवेदन हस्तान्तरण गरेका हुन्। प्रतिवेदन अनुसार पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थलका लागि उपर्युक्त स्थान काठमाडौं–तराई द्रूतमार्ग (फास्ट ट्र्याक) र पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको पसाहा नदी र बकैया नदी बीचको करिब ९ हजार हेक्टर क्षेत्रफल भित्रको करिब ४ हजार हेक्टर क्षेत्र उपर्युक्त रहेको जनाइएको छ ।

४. समानुपातिक उम्मेदवार छान्न दलहरुको बैठक जारी राजनीतिक दलहरु समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची तयार पार्न व्यस्त बनेका छन् । नेपाली कांग्रेसको संसदीय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । यस्तै, नेकपा एमालेको सचिवालय बैठक आज पनि बसिरहेको छ । हिजो बसेको बैठकले समानुपातिक उम्मेदवाहरुको टुंगो लगाउन नसकेपछि एमालेले पनि आजै समानुपातिक उम्मेदवारको टुंगो लगाउने तयारी । यस्तै नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा जारी छ । बैठकमा समानुपातिक तर्फका उम्मेदवार आजै टुंगो लगाउने पार्टीको तयारी छ ।

५. प्रदेशको संरचना नयाँ भएकाले बेरुजु बढेको मुख्यमन्त्री केसी भनाइ  लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको संरचना नयाँ भएकाले बेरुजु बढेको दाबी गरेका छन् । उनले कर्मचारी अभावकाबीच काम गर्नुपर्ने अवस्था रहेकोले पनि बेरुजु बढेको तर्क गरेका हुन् । प्रमुख सचिव दिपक काफ्लेले भने प्रदेशको एकीकृत वित्तीय प्रणाली नबन्नु र अनुगमन, प्रगति मूल्यांकन प्रणाली कमजोर हुँदा बेरुजु देखिने र फर्छ्योटमा पनि समस्या हुने गरेको बताए। लुम्बिनी प्रदेश सरकारको बजेट खर्चमा करिब अढाई अर्ब रुपैयाँ बेरुजु देखिएको छ ।

६. नयाँ स्टक ब्रोकरका लागि आवेदन माग नेपाल धितोपत्र बोर्डले एकसाथ धितोपत्र बजार (स्टक एक्सचेन्ज), वस्तु विनिमय बजार –कमोडिटी एक्सचेन्ज) तथा धितोपत्र दलाल तथा धितोपत्र व्यापारी (स्टक ब्रोकर र स्टक डिलर) को लाइसेन्सका लागि आवेदन माग गरेको छ । बोर्डले आज सूचना प्रकाशित गर्दै स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज, स्टक ब्रोकर र स्टक डिलरको लाइसेन्सको लागि आवेदन माग गरेको हो । बोर्डले यस पटक दलाल व्यवसायीको लाइसेन्समा कोटा नतोकी योग्य सबै आवेदकलाई लाइसेन्स दिने गरी नियमावली संशोधन गरेको छ ।

७. दार्चुलामा जिप दुर्घटना हुँदा ४ जना घाइते दार्चुलाको  नौगाड गाउँपालिका–४ मा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।  नौगाड गाउँपालिका–४  होपरी नजिक से १ ज १०७८ नम्बरको जिप आज विहान दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा जिप चालक धनबहादुर धामी, २८ वर्षीय कमलेश टमटा, १९ वर्षीय सुरे ठगुन्ना र २८ वर्षीय धनवीर टमटा रहेका छन् । घाइतेहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

८. बेपत्ता भएका शिक्षकको उद्धार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा पौडी खेल्ने क्रममा बेपत्ता भएका शिक्षकको सकुशल उद्धार गरिएको छ । दोलखा स्थायी घर भएका शिक्षक केशव सिवाकोटी खोलामा नुहाउने क्रममा  हिजो बेपत्ता भएका थिए । उनलाई जीवित भेटिएपछि नेपाली सेनाको हेलिकोप्टरबाट आज उद्धार गरिएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए।  सिवाकोटी ढुंगामा अड्किएको अवस्थामा जिवितै फेला परेका थिए ।

९. फलाम खानीमा बाढी पस्दा १४ जनाको मृत्यु  चीनमा  पूर्वमा  रहेको रहेको हेबेइ फलाम खानीमा बाढीका कारण १४ जनाको मृत्यु भएको छ । अन्य केही बेपत्ता भएका छन् ।  राजधानी बेइजिङबाट  करिब एक सय ६० किलोमिटर पूर्वमा अवस्थित हेबेइ फलाम खानीमा बाढी पस्दा १४ जनाको मृत्यु भएको हो ।  महिनाको प्रारम्भमा त्यहाँ पसेको बाढीमा परी सो हताहती भएको तथा घटनास्थलमा खोज तथा उद्धारका काम स्थगन गरिएको सरकारी अधिकारीहरूले आज जनाएका छन् ।

१०. एसियन कप छनोटमा नेपालले आज बंगलादेशको सामना  गर्दै बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोटमा नेपालले आज अन्तिम खेलमा बंगलादेशको सामना  गर्दैछ ।  शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा  हुने नेपाल र  बंगलादेशबीचको खेल  राति पौने ९ बजे सुरु हुनेछ । बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ ।  यसअघिको खेलमा  नेपालले लगातार तीन हार व्यहोरिसकेको छ । समूह ’बी’ मा रहेको नेपाल अंक विहीन रहँदै समूहको पुछारमा रहेको छ ।