तस्वीर- अरबियन बिजनेश/एएफपी/गेटी इमेज

अन्तर्राष्ट्रिय

६३ वर्षे साउदी पुरुषद्वारा ४३ वर्षको अन्तरालमा ५३ पटक विवाह

By खबरहब

September 18, 2022

काठमाडौँ- साउदी अरबमा एकजना पुरुषले ५३ पटक विवाह गरेको दाबी गरेका छन् । ६३ वर्षे साउदी नागरिक अबु अब्दुल्लाहले ४३ वर्षको अवधिमा विभिन्न महिलासँग ५३ पटक विवाह गरेको दाबी गरेका हुन् ।

उनले व्यक्तिगत खुशीका लागि भन्दा पनि शान्ति र स्थिरताका लागि त्यति धेरै पटक विवाह गरेको जनाएका छन् ।

६३ वर्षीय अबु अब्दुल्लाले आफूले २० वर्षको उमेरमा पहिलो पटक विवाह गरेको जनाएका छन् । उनकी प्रथम श्रीमतीको उमेर उनकोभन्दा ६ वर्ष धेरै रहेको थियो । त्यसको तीन वर्षपछि उनले २३ वर्षको उमेरमा दोस्रो विवाह गरेका थिए ।

‘जब मैले पहिलो पटक विवाह गरे, मैले एकभन्दा बढी महिलासँग विवाह गर्ने योजना बनाएको थिइन किनकी म खुशी थिएँ’, उनले भने, ‘तर, केही समयपछि समस्या देखियो । २३ वर्षमा पुग्दा मैले पुनः विवाह गर्ने निर्णय गरेँ र मेरो निर्णय श्रीमतीलाई सुनाएँ ।’

गल्फ न्युजका अनुसार उनको वैवाहिक जीवनमा समस्या तब सुरु भयो जब उनको पहिलो र दोस्रो श्रीमतीसँग झगडा हुन थाल्यो । यही कारण उनी तेस्रो र चौथो पटक दोस्रो विवाह गर्न बाध्य भए ।

अन्ततः पहिलो, दोस्रो र तेस्रो पत्नीसँग उनको सम्बन्धविच्छेद भयो । ‘लामो समयावधिमा मैले ५३ जना महिलासँग विवाह गरे । पहिलो पटक मैले २० वर्षको उमेरमा विवाह गरे । उनी मभन्दा ६ वर्ष जेठी थिइन्’, अब्दुल्लाहले भने ।

उनको सबैभन्दा छोटो विवाह एक रात मात्र टिकेको छ ।

उनलाई ‘शताब्दीकै बहुविवाहक’ को संज्ञा दिइएको छ । हालसालै स्थानीय टेलिभिजनमा अन्तवार्तामा देखा परेका उनले हालै एक महिलासँग विवाह गरेको र पुनः विवाह गर्ने कुनै मनसाय नभएको बताएका छन् ।