तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

केदारनाथनजिकै हेलिकोप्टर दुर्घटना, ७ जनाको मृत्यु

By खबरहब

October 18, 2022

काठमाडौँ- भारत उत्तराखण्ड राज्यको धार्मिक तीर्थस्थल केदारनाथनजिकै ७ जना सवार हेलिकोप्टर दुर्घटनामा परेको छ । केदारनाथ धामबाट करिब २ किलोमिटर टाढा गरुड चट्टीमा हेलिकोप्टर दुर्घटनामा परेको भारतीय अखबार हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले जनाएको छ ।

दुर्घटनामा हेलिकोप्टरमा सवार सबै ७ जनाको मृत्यु भएको अधिकारीहरुले पुष्टि गरेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

तीर्थालु बोकेको उक्त हेलिकोप्टर केदारनाथबाट फटा हेलिप्याडका लागि उडेको जनाइएको छ । दुर्घटनापछि प्रहरी र राज्य विपद् प्रतिकार्य बल घटनास्थल पुगेका थिए ।

दुर्घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्विटरमार्फत् दुःख व्यक्त गरेका छन् । खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनामा परेको अनुमान गरिएको छ ।

राज्यका मुख्यमन्त्री पुष्कर धामीले दुर्घटनाको छानबिन गर्न निर्देशन दिएका छन् ।