तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

बाइडेनले ‘खतरनाक देश’ को संज्ञा दिएपछि पाकिस्तानले अमेरिकी दूतलाई बोलायो

By खबरहब

October 18, 2022

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनले पाकिस्तानलाई विश्वकै सबैभन्दा खतरनाक देशहरुमध्ये एकको संज्ञा दिएपछि पाकिस्तानले अमेरिकी दूतलाई बोलाएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेनले पाकिस्तान विश्वको सबैभन्दा खतरनाक देशहरू मध्ये एक हुन सक्ने र त्यहाँ आणविक हतियारहरू भएको बताएपछि पाकिस्तानी विदेश मन्त्रालयले अमेरिकी दूतलाई बोलाएको हो ।

७९ वर्षीय बाइडेनले गत बिहीबार डेमोक्र्याटिक कंग्रेसनल क्याम्पेन कमिटीको एक कार्यक्रममा उक्त टिप्पणी गरेका थिए । कार्यक्रममा उनले युक्रेनमा जारी युद्ध, चीन, र अमेरिकी मुद्दाबारे टिप्पणी गरेका थिए ।

चीन र राष्ट्रपति सी जिनपिङसँगको आफ्नो सम्बन्धको सन्दर्भमा बोल्दै, बाइडेनले भने, ‘जिनपिङले आफूले चाहेको कुरा बुझ्दछन तर उनमा समस्याहरूको विशाल श्रृंखला छ ।’

सोही सन्दर्भमा उनले पाकिस्तानको बारेमा पनि चर्चा गरेका थिए । ‘मलाई लाग्छ पाकिस्तान संसारको सबैभन्दा खतरनाक राष्ट्रहरू मध्ये एक हो, जहाँ बन्दोबस्त बिनाको आणविक हतियार छ ।’

पाकिस्तानी विदेशमन्त्री बिलवाल भुट्टो जर्दारीले दक्षिण बन्दरगाह सहर कराँचीमा केही दिनअघि आयोजित पत्रकार सम्मेलनमा आफू बाइडेनको भनाइबाट चकित परेको बताएका थिए । ‘मलाई लाग्छ कि यो ठ्याक्कै एक प्रकारको गलत बुझाइ हो, जुन बचनबद्धताको कमी हुँदा सिर्जना हुन्छ’, उनले थपे ।