लमजुङ- ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लमजुङमा कर्मचारी र सुरक्षाकर्मी आ-आफ्नो केन्द्रमा खटिएका छन् । आठ वटा स्थानीय तह र ७५ वटा वडा रहेको लमजुङमा १४ सय ९७ कर्मचारी र २३ सय ७६ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
जिल्लाभर एक सय ८८ मतदान अधिकृतसहित १४ सय ९७ कर्मचारी आ-आफ्नो निर्वाचन सामग्री बुझेर निर्वाचनको केन्द्रमा पुगेका छन् ।
सुरक्षाका लागि म्यादी प्रहरी एक हजार ९७ जना खटिएका छन् । नेपाल प्रहरी ६ सय १२ जना, नेपाली सेना चार सय ६०, सशस्त्र प्रहरी एक सय ९७ जना र राष्ट्रिय अनुसन्धानका १० जना खटिएका छन् । उनीहरूलाई मतदान स्थल, मतदान केन्द्रको सुरक्षार्थ सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।
लमजुङमा जिल्ला कारागार र जिल्ला समन्वय समिति अस्थायीसहित एक सय ३० मतदान स्थल छन् । कारागार र समन्वय समिति अस्थायीसहित एक सय ८८ वटा मतदान केन्द्र छन् । लमजुङमा जम्मा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेका छन् । जिल्लामा ६८ हजार दुई सय ८८ महिला मतदाता रहेका छन् भने ६५ हजार दुई सय ७१ पुरुष मतदाता छन् ।
संघ तर्फ एउटा निर्वाचन क्षेत्र र प्रदेशतर्फ दुई निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रदेशसभा (क) तर्फ महिला मतदाता ३१ हजार आठ सय ७२ रहेको छ भने ३१ हजार सात सय तीन पुरुष मतदाता गरी ६३ हजार पाँच सय ७५ मतदाता रहेका छन् ।
त्यस्तै, प्रदेश सभा (ख) तर्फ ३६ हजार चार सय १६ महिला र ३३ हजार पाँच सय ६८ पुरुष गरी ६९ हजार नौ सय ८४ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले बताए ।