राजनीति

मतदानको तयारी तीव्र

By खबरहब

November 18, 2022

बागलुङ– प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबार मतदान हुँदैछ । यहाँका दुई सय ३१ वटै मतदान केन्द्रमा व्यवस्थापकीय तयारी तीव्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार अधिकांश मतदान केन्द्रमा शुक्रबार नै सर्वदलीय बैठक सम्पन्न भएको छ । जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले शनिबार ‘बुथ’ निर्माणको काम हुने बताए ।

‘निर्वाचन सामग्रीसहित, कर्मचारी, सुरक्षाकर्मी बिहीबार नै मतदान केन्द्रमा पुगिसक्नुभएको छ, अहिले मतदानकेन्द्र केन्द्रित तयारी चलिहरेको छ’, उनले भने। मतदान सुरु हुन केही घण्टा बाँकी रहँदा मतदाता आफ्नो मताधिकार प्रयोगको पखाईमा छन् । जिल्ला बाहिर रहेका मतदाता पनि मन परेको उम्मेदवारलाई मत दिन गाउँ फर्किरहेका छन् । स्थिर समय सुरु भएका कारण दलका गतिविधि भने ठप्प छन् ।

निर्वाचन गराउन जिल्लाभर गरी एक हजार आठ सय ५४ कर्मचारी र नौ सय २६ स्वयंसेवक खटिएका छन् । यहाँ कूल एक सय छ मतदानस्थल र दुई सय ३१ मतदान केन्द्र रहेका छन् । जिल्ला कारागारका बन्दीसहित सुरक्षाकर्मी र कर्मचारीका लागि गरी दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको छ ।

प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा कूल एक लाख ९२ हजार २२६ मतदाता छन् । क्षेत्र नं १ मा ९६ हजार ६६५ र २ माा ९५ हजार ५६१ मतदाता छन् । प्रतिनिधिसभा सदस्यका दुई र प्रदेशसभा सदस्यका चार सिटका लागि यहाँ ३१ उम्मेदवार चुनावी मैदानमा छन् । 

निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन जिल्लाको सुरक्षा प्रबन्ध पनि चुस्त पारिएको छ । सुरक्षाका दृष्टिबाट कुनै कमी हुन नदिन सुरक्षा निकाय लागिपरेका छन् । जिल्लाका कुल एक सय छ मतदानस्थलमध्ये ३५ प्रतिशतलाई अतिसंवेदनशील, १५ प्रतिशतलाई संवेदनशील र ५० प्रतिशतलाई सामान्यमा वर्गीकरण गरी सुरक्षा रणनीति तयार पारिएको छ ।

मतदानस्थलको अवस्था र संवेदनशीलता हेरेर सुरक्षा योजना बनाइएको जिल्ला सुरक्षा समितिले जनाएको छ । समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी रमेश ढकालले राज्यका चार वटै सुरक्षा निकायको समन्वयबाट सुरक्षा व्यवस्थापनको काम भइरहेको बताए ।

सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी आठदेखि २२ जनासम्म सुरक्षाकर्मी एउटा मतदान केन्द्रमा परिचालन गरिएको छ । मतदान केन्द्रको भित्री सुरक्षामा जनपद र म्यादी प्रहरी खटिनेछन् भने बाहिरी सुरक्षा घेरामा भने सशत्र प्रहरी र नेपाली सेना रहनेछ ।