अन्तर्वार्ता

इन्जेक्सन लगाएपछि पाठेघरको मुखको क्यान्सर हुँदैन

By विना न्यौपाने

December 18, 2022

नेपालमा पछिल्लो समय महिलामा प्रजनन स्वास्थ्यमा धेरै खालका समस्या देखिएका छन् । विशेष १० देखि १८ वर्षको उमेरका महिलामा धेरै समस्या आउन सक्छन । महिनावारीको समयमा धेरैलाई हुने समस्या भनेको रक्तस्राव बढी हुने र महिनावारी गडबडी हुने हो । कसैको धेरै रगत जाने र त्यसले गर्दा रक्त अल्पता हुने सम्भावना पनि धेरै भएको छ । यही बेलामा बच्चाले धेरै खाना नखाइदिने, स्कुलको समय नमिल्ने, आमाबाबाले दिएको खाना नखाइदिने र जंकफुड खाइदिने समस्या छ। गर्भ, महिनावारीसँग सम्बन्धित रोगहरू धेरै छन्। यीमध्ये कतिपय रोग रोकथाम गर्न सकिने छन् भने कतिपय रोग समयमा पत्ता लागेन भने यसबाट ज्यान जान सक्छ । त्यसैले महिलाको प्रजननमा के कस्ता समस्या देखा पर्दंछन् ? यसै विषयमा डा. ज्योति अग्रवालसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:

पछिल्लो समय महिलाको प्रजननमा कस्ता कस्ता समस्या देखा परेका छन् ? महिलालाई उमेर अनुसारको रोग बुढेसकालसम्म पनि लाग्छ। महिलामा धेरै निःसन्तान हुने समस्या धेरै देखिएको छ र धेरै सेतो पानी बग्ने समस्या धेरै देखिएको छ ।

सेतो पानी बग्ने कारण के हो ? यो इन्फेकसनको कारणले हुन्छ । धेरै जनासँग यौन सम्वन्ध राख्दा पनि यो समस्या बढेको छ। महिलाले बेला बेलामा सरसफाइ नगरेको कारणले पनि सेतो पानी बग्ने समस्या हुन्छ । सरसफाइ गर्न महिलाहरूले दिनहुँ आफ्नो भित्री वस्त्र एक पटक अनिर्वाय परिवर्तन गर्नु पर्दछ । महिनावारी हुँदा टालो राखेर हिँड्दा पनि इन्फेक्सन हुन्छ । कसै कसैले योनीभित्र पानी राखेर सफा गर्ने गर्दछन् त्यसले गर्दा पनि इन्फेक्सन हुनसक्छ ।

कतिपय महिलाले यो समस्या सामान्य हो भनेर वा भन्न लजाएर पनि लुकाउने गरेको पाइन्छ, त्यसले पछि कस्तो असर गर्ला ? समयमा नै वास्ता गरेन भने पछि गएर पाठेघरको वरिपरी घाउ हुन्छ र पछि त्यहि पाठेघरको क्यान्सरसमेत हुने सम्भावना हुन्छ । त्यसैले सबै महिलाहरूले समय समयमा आफ्नो ब्यक्तिगत सरसफाइमा ध्यान दिनु पर्दछ र वर्षमा एक पटक डाक्टरलाई देखाउनु पर्दछ ।

कस्तो कस्तो लक्षण देखियो भने अस्पताल जाने त ? लक्षणलाई कुर्नु हुँदैन । केही समस्या नभए पनि एक पटक नियमित आफ्नो स्वास्थ्यलाई ख्यालमा राखेर जाँच गर्नु पर्दछ ।

महिलामा यस्ता समस्या नआओस् भनेर केके कुरामा ध्यान दिने त ? नियमित सरसफाइमा ध्यान दिने, महिनावारीको समयमा कपडा वा टालोको प्रयोग नगर्ने, योनीभित्र पानी नहाल्ने र बाहिरको भाग सफा गरे पनि सुख्खा राख्ने र धेरै जनासँग यौन सम्पर्क राख्नु हुँदैन । छिटो विवाह हुनु भएन र सन्तान धेरै जन्माउनु भएन । नियमित एक एक वर्षमा एक पटक अवश्य स्वास्थ्य जाँच गर्नु पर्याे । बच्चा ९ वर्षको भएपछि गाडासिल इन्जेक्सन लगाउने । जसले पाठेघरको मुखको क्यान्सर हुन दिँदैन । यो गाडासिल इन्जेक्सन ९ देखि १४ वर्षको बच्चाले २ वटा लगाए पुग्छ र १५ वर्ष कटे पछि ६ महिनाको अन्तरमा ३ पटक लगाउनु पर्दछ ।

यो इन्जेक्सन लगाएपछि पाठेघरको मुखको क्यान्सर नहुने हो ? यो इन्जेक्सन लगाएपछि पाठेघरको मुखको क्यान्सर लगभग हुँदैन ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)