फाइल तस्वीर- केसीएनए

अन्तर्राष्ट्रिय

उत्तर कोरियाद्वारा दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण

By खबरहब

December 18, 2022

काठमाडौँ- उत्तर कोरियाले आइतबार थप दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । नयाँ हतियार प्रणालीका लागि ठोस इन्धन प्रयोग गर्ने मोटरको सफल परीक्षण गरेको बताएको केही दिनपछि उत्तर कोरियाले थप क्षेीयास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

उत्तर कोरियाले गत महिना अहिलेसम्मकै अत्याधुनिक अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणसहित अभूतपूर्व हतियार परीक्षण गरेपछि कोरियाली प्रायद्वीपमा यस वर्ष सैन्य तनाव ह्वात्तै बढेको छ ।

दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले उत्तर प्योङगान प्रान्तको तोङचाङ–री क्षेत्रबाट प्रहार गरिएका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र पहिचान गरिएको पुष्टि गरेको हो ।

ती क्षेप्यास्त्रहरू स्थानीय समयअनुसार बिहान ११ः१३ देखि अपराह्न १२ः०५ बजेसम्म पूर्वी सागरमा प्रहार गरिएको थियो । जेसीएसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हाम्रो सेनाले संयुक्त राज्य अमेरिकासँग नजिकबाट सहकार्य गर्दै निगरानी र सतर्कतालाई बलियो बनाएको छ ।”

जापानको रक्षा मन्त्रालयका अनुसार उक्त क्षेप्यास्त्र करिब ५०० किलोमिटरको उचाईमा पुगेको थियो ।

“यसले जापान, यस क्षेत्र र अन्तर्राष्ट्रिय समुदायको शान्ति र सुरक्षालाई खतरामा पार्छ र यो बिल्कुलै अस्वीकार्य कार्य हो,” जापानका वरिष्ठ उपरक्षामन्त्री तोशिरो इनोले भने ।

उत्तर कोरियाले ‘हाई थ्रस्ट सोलिड फ्युल मोटर’ को परीक्षण गरेको केही दिनपछि आइतबार क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले यसलाई ‘अर्को नयाँ प्रकारको रणनीतिक हतियार प्रणालीको विकासका लागि’ महत्वपूर्ण परीक्षणका रूपमा व्याख्या गरेका छन् ।

आफ्नो हतियार कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय प्रतिबन्धका बावजुद प्योङयाङले अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र (आईसीबीएम) निर्माण गरेको छ ।

यद्यपि, उत्तर कोरियाली नेता किम जोङ उनले थप उन्नत क्षेप्यास्त्रका लागि ठोस इन्धनबाट चल्ने इन्जिन विकास गर्न रणनीतिक प्राथमिकता दिएका छन् ।

नेता किमले यसै वर्ष उत्तर कोरियासँग विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति होस् भन्ने चाहनाका साथ आफ्नो देशलाई ‘अपरिवर्तनीय’ आणविक राष्ट्र घोषणा गरेका थिए ।

उनले गत वर्ष सार्वजनिक गरेको इच्छासूचीमा जमिन वा पनडुब्बीबाट प्रक्षेपण गर्न सकिने ठोस इन्धनको आईसीबीएम पनि समावेश थियो ।

पछिल्लो ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण उक्त लक्ष्यतर्फको एक कदम रहेको यद्यपि यस्तो क्षेप्यास्त्रको विकासमा उत्तर कोरिया कति टाढा पुगेको छ भन्ने स्पष्ट नभएको विश्लेषकहरुले बताएका छन् ।

यस महिनाको अन्त्यमा हुने सत्तारुढ कोरियाली वर्कर्स पार्टीको बैठकमा अर्को वर्षका लागि देशको नीतिगत दिशा तय गरिने बताइएको छ । उत्तर कोरियाको सरकारी समाचार संस्थाका अनुसार यसअघि सर्वोच्च नेता किमले सन् २०२३ उत्तर कोरियाका लागि ‘ऐतिहासिक वर्ष’ हुने बताएका थिए ।

विगतका वर्षहरूमा नेता किमले हरेक जनवरी १ मा सम्बोधन गर्ने गरेपनि तर हालै उनले वर्षको अन्त्यमा हुने पार्टीको पूर्ण बैठकका निर्णय सार्वजनिक गर्ने परम्परालाई त्याग्ने बताइएको छ ।

गत नयाँ वर्षको दिन जारी गरिएको आफ्नो पछिल्लो सम्बोधनमा किमले घरेलु मामिलाबारे बोलेका थिए । गत वर्ष किमले अमेरिकालाई प्रत्यक्ष सम्बोधन नगरे पनि यसपटक भने उनले आफ्नो स्वर परिवर्तन गर्न सक्ने विज्ञहरुले बताएका छन् ।

संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाले आफ्नो सातौं आणविक परीक्षणको तयारी गरिरहेको महिनौंदेखि चेतावनी दिँदै आएका छन् ।

उत्तर कोरियाले सन् २००६ देखि आणविक तथा क्षेप्यास्त्र गतिविधिलाई लिएर संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ ।