खेलकुद

अफ्रिका कप : १० खेलाडीमा सीमित घाना समूह चरणबाटै बाहिरियो

By खबरहब

January 19, 2022

काठमाडौँ – घाना अफ्रिका कप अफ नेशन्सको समूह चरणबाटै बाहिरिएको छ । खेलको २५ औं मिनेटमै १० खेलाडीमा सीमित भएको घाना कोमारोससँग ३–२ गोल अन्तरले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो ।

अफ्रिका कपको चार पटकको विजेता घानामाथि कोमोरोसका लागि चौथो मिनेटमा बेन नाबोहानले गोल गर्दै सुरुवाति झड्का दिएका थिए । खेलको २५ औँ मिनेटमा एन्ड्री अय्यूले रातो कार्ड पाए । त्यसपछि घाना १० खेलाडीमा सीमित भयो ।

कोमोरोसका लागि खेलको ६१ र ८५ औँ मिनेटमा मोग्नीले थप दुई गोल गरे । जवाफमा घानाका लागि ६४ औँ मिनेटमा बोएकी र ७७ औँ मिनेटमा डीजिकुले गोल गरे पनि त्यो जितका लागि पर्याप्त भएन ।

मंगलबार राति पराजित घानाले तीन खेल खेल्दा एक अंक मात्र जोडेको हो । कोमोरोस तीन अंकसहित तेस्रो स्थानमा छ ।

त्यसैगरी गएराति भएका अन्य खेलमा मोरक्को र गाबोनले २–२ को बराबरी खेलेका छन् । समूह बी अन्तर्गतको खेलमा मालवी र सेनेगलले गोल रहित बराबरी खेले भने जिम्बाबेले गिनीलाई २–१ ले पराजित गरेको छ ।