अन्तर्राष्ट्रिय

रहिनन् २९ वटा डमरुकी आमा ‘कलरवाली’

By खबरहब

January 19, 2022

नयाँदिल्ली– संसारको सबैभन्दा धेरैपटक तस्वीर खिचिएको बघिनीको रूपमा चर्चित कलरवालीको मृत्यु भएको छ ।

भारतको मध्य प्रदेशस्थित पेन्च टाइगर रिजर्भको १७ वर्षको उमेरमा यो बघिनीको प्राकृतिक कारणले मृत्यु भएको हो । यो बघिनीले आफ्नो जीवनकालमा २९ वटा डमरुलाई जन्म दिएकी थिई । बाघको संख्या वृद्धिमा ठूलो योगदान पुर्‍याएकी यो बघिनीलाई ‘सुपर मम’को घोषणा गरिएको थियो ।

सन् २००८ देखि २०१८ सम्म यो बघिनीले ८ पटकमा २९ वटा डमरुलाई जन्म दिएको पेन्च टाइगर रिजर्भका पदाधिकारीले जनाएका छन् । शनिबार मृत्यु भएको यो बघिनीलाई अन्तिम श्रद्धाञ्जली दिन सयौंको संख्यामा मानिसहरु उपस्थित भएका थिए ।

मुख्यमन्त्रीद्धारा श्रद्धाञ्जली अर्पण मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले समेत कलरवालीको निधनमा श्रद्धाञ्जली दिएका छन् । उनले बाघको निधनप्रति श्रद्धाञ्जली अपर्ण गर्दै कलरवाली बघिनीले बाघको संख्या बढाउनमा महत्वपूर्ण योगदान गरेको उल्लेख गरेका छन् ।

बघिनी अन्तिमपटक जनवरी १४ मा देखिएकी थिई । टाइगर रिजर्भले बघिनीको मृत्यु शनिबार साँझ ६ः१५ मा रहेको जनाएको छ ।