प्रवास

एनआरएनए कुवेतद्वारा एक महिलाको उद्धार 

By खबरहब

February 19, 2022

दोहा – गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतले एक नेपाली महिलालाई उद्धार गरी स्वदेश फिर्ता पठाएको छ ।

रोजगारीको सिलसिलामा कुवेत पुगेर काम सकेर फर्किने क्रममा कम्पनीकै सवारी दुर्घटनामा परेकी झापाकी उमा पोर्तेल खाती उद्धार गरी स्वदेश पठाइएको एनआरएनए कुवेतका अध्यक्ष रानाध्वज लामाले जानकारी दिए ।

दुर्घटनामा परि छातीदेखि तलको भाग नचल्ने भई करिब २५ महिनादेखि हस्पिटलको शैयामा छटपटाउँदै उपचार गराइरहेकी उमालाई एनआरएनए कुवेत, त्यहाँस्थित नेपाली दूतावास र उनी कार्यरत कम्पनीका म्यानेजर होमनाथ गिरीको संयुक्त पहलमा बिहीबार नेपाल पठाइएको हो ।

उनलाई जीवन दिन नसके पनि एउटा सहाराको रूपमा एक व्हील चेयर सहयोग स्वरूप उपलब्ध गराइएको एनआरएनएले जनाएको छ। उनलाई काठमाडौँमा एनआरएनएका स्वयंसेवकले रिसिभ गरेका छन् ।

कुवेतमा कार्यरत नेपालीले भोग्नु परेका समस्या समाधानमा संयोजन तथा सहयोगी भूमिका खेल्दै आएको एनआरएनए कुवेतले कोरोना महामारीको समयमा पनि रोजगार गुमाएर नेपाल फर्कने चाहने नेपालीलाई हवाई टिकट, पीसीआर परीक्षणको प्रबन्ध मिलाएको थियो ।