खेलकुद

च्यासल बी डिभिजनका घटुवा

By खबरहब

February 19, 2022

काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार भएको पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग २–१ अन्तरले पराजित हुँदै च्यासल युथ क्लब रेलिगेसनमा परेको छ । यो जितसँगै फ्रेन्ड्सले भने रेलिगेसन टारेको छ । च्यासल भने १२औँ चरणमा आएर बी डिभिजन लिगमा घटुवा भएको हो ।

खेलको ३८औँ मिनेटमा कप्तान नथाजियल जर्ज गार्सियाको हेडरलाई टच दिँदै जमोल एन्थोनी फ्रान्कोइसले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए । ४१औँ मिनेटमा च्यासलका अभिषेक लिम्बूले जमोल एन्थोनीलाई पेनाल्टी बक्सभित्र लडाए पछि फ्रेन्ड्सले पेनाल्टी पाएको थियो । खेलको ४३औँ मिनेटमा जमोल एन्थोनीको पेनाल्टी गोलमा परिणत भएपछि फ्रेन्ड्सको दोहोरो अग्रता बनायो ।

खेलको ५६औँ मिनेटमा मोउसा अवगानाले पेनाल्टीमा सान्त्वना गोल गरे । खेलको ५४औँ मिनेटमा फ्रेन्ड्सका गोलरक्षक राहुल रामचन्द्र यादवले च्यासलका फरवार्ड राजिव लोप्चनलाई पेनाल्टी बक्स भित्र फल गरेपछि च्यासलले पेनाल्टी पाएको हो ।

यसअघि खेलमा दुबै टोलीले केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । खेलको पाँचौं मिनेटमा फ्रेन्ड्सका निशेन सुब्बाको सटलाई प्रदिप भण्डारीको हातमा पुगेको हो । त्यस्तै च्यासलका मोउसा अवगानाको सट बार माथिबाट बाहिरिएको थियो ।

हारसँगै यस सिजनका लागि च्यासल रेलिगेसनमा पर्ने पहिलो टोली बनेको छ । च्यासलले १२ खेलबाट ६ अंक मात्र जोडेको छ । फ्रेण्ड्सले यस जितसँगै १० अंक जोड्दै १२औँ स्थानमा छ ।

२०७३ सालमा बी डिभिजन जितेर पहिलो पटक ए डिभिजनमा उक्लेको च्यासले २०७५ र २०७६ मा ए डिभिजन खेलेको थियो ।