राजनीति

शासक वर्गमा राणाकालीन र पञ्चायतकालीन सोच अझै हटेनः मुख्यमन्त्री राउत

By खबरहब

February 19, 2022

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले शासक वर्गमा राणाकालीन र पञ्चायतकालीन सोच अझै हट्न नसकेको बताएका छन् ।

शनिबार ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा जनकपुरधाममा भएको समारोहमा मुख्यमन्त्री राउतले देशमा शासन पद्धति परिवर्तनका लागि थुप्रै आन्दोलनहरू भए पनि शासक वर्गको सोचमा खासै परिवर्तन आउन नसकेको बताएका हुन् ।

अहिले पनि राणकालीन र पञ्चायतकालीन सोच विद्यमान रहेकाले जनताले परिवर्तनको अनुभूति गर्न नसकेको उनको भनाइ छ ।

यही सोचका कारण मधेश प्रदेश सरकारले अपेक्षाकृत काम गर्न नसकेकोसमेत उनले आरोप लगाए ।

देशमा प्रजातन्त्र ल्याउनका लागि संघर्ष गरेका योद्धाहरूलाई सम्झिँदै मुख्यमन्त्री राउतले जनताको चाहना पूरा भए मात्र प्रजातन्त्र दिवसले सार्थकता पाउने बताए ।

उनले जनताको चाहना पूरा गर्न सबै तहका सरकारले मिलेर काम गर्नुको विकल्प नरहेको पनि बताए ।

समारोहमा प्रदेश प्रमुख हरिशंकर मिश्र, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहलगायत सहभागी भएका थिए ।