समाचार

इलाममा चुनावअघि स्थानीय तहका वडा विभाजन नहुने

By खबरहब

February 19, 2022

इलाम– इलामका तीन स्थानीय तहले गरेको वडा विभाजनको प्रस्ताव कार्यान्वयन नहुने भएको छ । स्थानीय तहले गरेको वडा विभाजनको प्रस्तावमा कुनै निर्णय नगरी स्थानीय तहको निर्वाचनको मिति घोषणा भएकाले प्रस्तावहरू कार्यान्वयन नहुने भएका हुन् ।

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको घोषणा गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय तहको निर्वाचन हुनुभन्दा एक वर्ष पहिले नै वडा विभाजनको निर्णय भइसक्नुपर्ने थियो ।

संघीय सरकारले स्थानीय तहले गरेको वडा विभाजन सम्बन्धी प्रस्तावमा टुङ्गो नलगाई चुनाव घोषणा गरेपछि वडा विभाजनसम्बन्धी प्रस्तावहरू अलपत्र परेका हुन् ।

इलामको इलाम नगरपालिका, सूर्याेदय नगरपालिका र माङसेबुङ्ग गाउँपालिकाले पालिकाको सभाबाट वडा विभाजन गर्ने प्रस्ताव गरेका थिए । पालिकाको सभाबाट पारित प्रस्ताव प्रदेश सरकार हुँदै संघीय सरकारसम्म पुग्छ ।

पालिकाको सभाबाट दुई तिहाई मतले पारित प्रस्ताव प्राप्त भएको छ महिना भित्रमा संघीय सरकारले निर्णय गर्नुपर्ने कानुनी प्रावधान छ । तर, पालिकाले प्रस्ताव पठाएको लामो समय बित्दासमेत कुनै निर्णय नगरी चुनाव घोषणा भएपछि वडा विभाजनको निर्णय चुनाव अघि नहुने निश्चित छ ।