समाचार

होलीसँग जोडिएको महामुर्ख सम्मेलन

By खबरहब

March 19, 2022

काठमाडौँ- वराह पुराणका अनुसार पाटवास–विलासिनी अर्थात् पाउडरहरू मिलेर बनेको खेलको रूपमा रहेको फागु पूर्णिमा फागुन शुक्ल पूर्णिमाको दिन बिहिबार मनाइरहँदा तराई भेगमा भोलिपल्ट शुक्रबार मनाइन्छ ।

होली पर्व असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा मनाउने पर्व हो । असत्यको पक्षमा लागेकी होलिकाको दहन भएको स्मरणमा यो पर्व मनाउने गरिन्छ । यसवर्षको होली पहाडी क्षेत्रमा बिहिबार मनाइयो भने तराई क्षेत्रमा शुक्रबार । यद्दपी मिथिला अर्थात् जनकपुरमा भने होली आज शनिबार मनाईंदैछ । मिथिला संस्कृतिमा हरेक पूर्णिमाको दिन जनकपुर लगायत देवालयमा विशेष मेला लाग्ने गर्छ । पूर्णिमाको दिन जनकपुरधामको परिक्रमा गरिने भएकाले मदिरा र मासु सेवन वर्जित हुन्छ । पूर्णिमाको दिन १५ दिने परिक्रमाको समापन दिन हो र मिथिलावासीहरू परिक्रमाले थकित भएका हुन्छन् । त्यसैले जनकपुरमा यसपटक शनिबार मनाईंदैछ ।

विशेषत मिथिला संस्कृतिमा वसन्त पञ्चमीको दिनदेखि डंफ र मजीराका साथ होलीका गीत गाउने होलैताहरु तयार हुन्छन् । यो क्रम फागुन पूर्णिमाको भोलिसम्म चल्छ । पूर्णिमाको राति होलीका गीतहरु (फागु) गाउँदै होलिका दहन गरिन्छ र भोलिपल्ट फागु मनाइन्छ । फागुका दिन रङ्ग–अबिर खेलेर बेलुका होलिका दहन गरिएको स्थानमा गएर खरानी उडाउँदै ’जे जीवे से खेले फागु जे मरे से लेखा ले’ भन्दै त्यहाँबाट ’चैतावर’ गीत (चैत महिनाको गीत) गाउँदै फर्किने गरिन्छ।

पहिले पहिले गाउँघरमा दुध र मसलामिश्रित भाङ तयार हुन्थ्यो । होलैता समूहमा प्रत्येक टोलको मानिसहरू सहभागी हुन्थे र उनीहरू घरघरमा पुगेर होली गीत गाउने गर्थे । होलैतालाई भाङ, अबिर, पान र मसालेदार सुपारी प्रदान गरी बिदा गरिन्थ्यो । यद्दपी पछिल्लो समय यो संस्कृति विस्तारै लोपोन्मुख छ । परदेशीया ल धोतिया रङ्गावे गोरिया, हो रङ्गावे गोरिया.., जमुना तट श्याम खेलैय होरी, जमुना तट, किनकर हाथ कनक पिचकारी, किनकर हाथ अबीर झोरी.., .होलीका यी गीतहरु अहिले विरलै सुनिन्छ । मिथिलाको होलीलाई लिएर आफ्नै संस्कृति छ । पछिल्लो पुस्ताले होलीलाई केवल रमाइलो पर्वका रुपमा बुझेका छन् । यद्दपी यसको आफ्नै संस्कृति छ ।

मिथिला संस्कृतिलाई जोगाउन मिथिला नाट्यकला परिषद्ले होलीको अवसरमा होरी गायन प्रतियोगिता गर्ने गरेको छ । ग्रामीण इलाकामा फागु गीत गाउनेमा कमी हुन थालेपछि लोपोन्मुख फागु गीतलाई जगेर्ना गर्ने मिनापले होरी महोत्सवको आयोजन गर्दै आएको छ । फागु पूर्णिमाको पूर्वसन्ध्यामा आयोजना हुने दुई दिने होली महोत्सवको पहिलो दिन फागु गीत प्रतियोगिता तथा दोस्रो दिन महामूर्ख सम्मेलनको आयोजन गरिन्छ ।

महामुर्ख हुनेलाई समाजमा उच्च व्यक्तित्व मानिन्छ । विभूषित गरिने उपाधिहरु महामुर्ख, पटमुर्ख, चौपटट्मुर्ख, मुर्खानन्द र मुर्खाधिश लगायत छन् । विभूषित हुनेहरुलाई काउली, फर्सी, खुर्सानी, आलु लगायत विभिन्न तरकारीहरूको माला लगाइने गरिन्छ । अन्य बेला महामुर्ख भन्दा समेत कुटाकुट गर्नेहरु होलीको अवसरमा त्यस्ता विभूषणहरु पाएर दङ्ग पर्छन्।

यस वर्षको महामूर्खको उपाधि मधेश प्रदेशको नीति आयोगका उपाध्यक्ष उपाध्यक्ष डा. भोगेन्द्र झालाई दिइएको छ । मिनापले होली पर्वको अवसरमा प्रदान गर्दै आएको महामूर्खको उपाधि मिथिला काल तथा सांस्कृतिकको क्षेत्रमा लामो समयदेखि कार्यरत रहेकोले उपाध्यक्ष झालाई दिएको जनाएको छ ।

त्यसैगरी यस वर्ष मधेश प्रदेश सांसद मञ्जु यादवलाई अदल बदली, नेपाली काँग्रेसका जनकपुरधाम नगर उपसभापति राकेशविक्रम साहलाई टिटही, मिथिला चित्रकार मनीषा साहलाई गन्हकी, मिथिला वाइल्डलाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डललाई हराशंख, नेपाल पत्रकार महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झालाई दिलतोरिया, अधिवक्ता सुदिप कोइरालालाई गोबर गणेशको उपाधि दिएको छ ।

त्यसैगरी, मिनापले गिद्धाबेलापट्टी विद्यालयका प्रधानाध्यापक पवन मण्डललाई डपोर शंख, वरिष्ठ कलाकार रामरेखा पण्डितलाई बज्रकिट, जनकपुरधाममा मिथिला चित्रकलालाई सुरुवात गरेकी मिथिलेश्वरी कर्णलाई लालबुझकड, व्यवसायी अभिशेष चौधरीलाई बोतलानन्द र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न उपाध्यायलाई बैशाखनन्दनको उपाधि दिइएको छ ।

सम्मेलनको इतिहास

जनकपुरमा निकै चर्चा पाउने गरेको महामुर्ख सम्मेलनको प्रारम्भ नेपालको वीरगञ्जबाट भएको हो । मैथिली साहित्य परिषदले वीरगञ्जमा २०५० सालमा पहिलो पटक यो सम्मेलनको आयोजना गरेको थियो । पहिलो पटकको महामूर्ख लाला माधवेन्द्रजी भएका थिए । वि.सं. २०६१ बाट जनकपुरमा महामूर्ख सम्मेलनको आरम्भ भएको छ ।

२०६१ सालमा महामूर्खको उपाधी मैथिली कवि नरेश ठाकुर, २०६२ मा तत्कालीन नेकपा एमालेका नेता शीतल झा, २०६३ मा तत्कालीन जनकपुर नगरपालिकाका मेयर हरिबहादुर बिसी, २०६४ मा तत्कालीन सदभावना पार्टीका नेता ओमकुमार झा, २०६५ मा वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, २०६६ मा पूर्व मन्त्री नेकपाका नेता रामचन्द्र झा, २०६७ मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, २०६८ मा साहित्यकार रामभरोष कापडि़ भ्रमर, २०६९ मा नेपाली काँग्रेस प्रदेश नम्बर २ को संसदीय दलका नेता रामसरोज यादव, २०७० मा राष्ट्रिय जनता पार्टीका नेता डा. विजयकुमार सिंह, २०७१ मा नेकपाका नेता एवं प्रदेशसभा सदस्य शत्रुधन महतो, २०७२ मा मसानघाटको स्वरुप परिवर्तन गरी आधुनिक स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिंघानीयालाई महामुर्खको उपाधि प्रदान गरिएको थियो ।

त्यस्तै, २०७३ सालमा सप्तरीको मलेठमा तत्कालीन नेकपा एमालेले गरेको मेची महाकाली अभियानको क्रममा प्रहरीको गोली लागि ५ जनाको मृत्यु भएपछि अन्तिम समयमा होली महोत्सव कार्यक्रम नै मिनापले स्थगित गरेको थियो ।

२०७४ मा राष्ट्रिय जनता पार्टीका वरिष्ठ उपाध्यक्ष एवं राजसभा सदस्य वृषेशचन्द्र लाल, २०७५ मा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई, २०७६ मा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र २०७७ मा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश अचार्य ‘मह’ जोडीलाई महामूर्खको उपाधि प्रदान गरिएको थियो।

मिनापले मिथिला क्षेत्रबाट उच्च तहको बौद्धिक काम गर्ने जनालाई हरेक वर्ष छनौट गरेर महामूर्ख सहित विभिन्न व्यंगात्मक पदवीबाट समाजिक सम्मान गर्ने चलन छ। जुन मिथिला क्षेत्रमा चर्चित पनि छन् । मिनापको अनुसार विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई वर्षै पिच्छै छनौट गरेर यो पदवीबाट समाजिक सम्मान दिने चलन छ। आपसी भाइचाराको रूपमा लिइएको होली पर्वलाई जनकपुरधाममा हिन्दुसँगै मुस्लिम युवाले पनि सँगै मिलेर होली मनाएर आपसी सौहार्दताको परिचय दिँदै आएका छन्।