सांकेतिक तस्बिर

समाचार

सुर्खेतमा टिपरमा मोटरसाइकल ठोक्कियो, एक किशोरीको मृत्यु

By खबरहब

March 19, 2022

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगरमा टिपरमा मोटरसाइकल ठोक्किँदा एक किशोरीको मृत्यु भएको छ ।

शनिबार वीरेन्द्रनगर नगरपालिका–११ रत्न राजमार्ग खण्डमा टिपरसँग मोटरसाइकल ठोक्किँदा लेकबेँसी नगरपालिका–५ सुर्खेत नेटागाउँकी १७ वर्षीया लक्ष्मी पुलामीको मृत्यु भएको हो ।

वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत सेडा स्कूलनजिक रत्न राजमार्गमा पिपिराबाट धुलियाबिटतर्फ गइरहेको भे १ख ३३०२ नम्बरको टिपरमा सोही दिशाबाट आउँदै गरेको भे ७प १७९९ नम्बरको मोटरसाइल पछाडिबाट ठोक्किएको थियो ।

किशोरीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते मोटरसाइकल चालक लेकबेँसी नगरपालिका–८ सुर्खेतका २२ वर्षीय मिलन विक र त्यसमा सवार सोही नगरपालिका–५ नेटाकै १७ वर्षीया सन्दीपा पुलामीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइते दुवैको अवस्था सामान्य छ । टिपर चालक बाँसगढी नगरपालिका–५ बर्दियाका ३१ वर्षीय राजु थापालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।