ब्रेकिङ स्टोरी

निर्वाचनमा पैसा : कति भ्रम, कति यथार्थ ?

By उद्धव प्याकुरेल

April 19, 2022

स्थानीय सरकारले पहिलो पाँच वर्षे कार्यकाल बिताएसँगै आसन्न चुनावको मुखमा उम्मेदवारले चुनावमा खर्च गर्ने पैसाको निकै चर्चा भइरहेको छ । विषयलाई यसरी उचालिएको छ कि, यही मुद्दाले कतिपय चुनाव लड्न भनेर हच्किने र भाग्ने अवस्था आउँछ । जनतालाई चुनावमा पैसाको खोलो बगाइन्छ भन्ने प्रभाव पनि पार्न खोजिएको छ ।वास्तवमा यो भाष्य कसरी सिर्जना भइरहेको छ र यो विषयलाई कसले मुद्दा बनाइरहेको छ भन्ने फरक विषय हो । यस्ता हल्ला फैलाइनुको पनि कारण छ ।

विषयलाई यसरी उचालिएको छ कि, यही मुद्दाले कतिपय चुनाव लड्न भनेर हच्किने र भाग्ने अवस्था आउँछ । जनतालाई चुनावमा पैसाको खोलो बगाइन्छ भन्ने प्रभाव पनि पार्न खोजिएको छ ।

चुनावका बेला पैसा बाँडेको भन्ने हाउगुजी जताततै सुन्न पाइनछ । तर, मुख्य रुपमा कसले यसलाई बलजफ्ती समाजमा स्थापित गर्न खोजेको होलान् भनेर हेर्दा यसपछाडि तीनवटा शक्ति लागेका छन्, एउटा बहुलवादमा आधारित चुनावी व्यवस्था नै मन नपराउनेहरु । अर्को, चुनावका नाममा वर्षौ हालीमुहाली गर्न पल्केकाहरु र तेस्रो अथाह पैसा कमाएर उन्मत्त तर सामाजिक साखका भोकाहरु ।

सामान्य मानिस चाहिँ उनीहरुको कुरा पत्याएर उनैको पछि लागेका छन् । एकपटकलाई अघिल्लोपटक जितेकाहरुलाई स्मरण गरौँ । केही समय अघिसम्म उनीहरुको मुखबाट यति खर्च भयो र उती खर्च भयो भनेर फुत्काउँथे । अहिले प्रायः उनीहरु त्यो कुरा गर्दैनन्, बरु भन्न थालेका छन् कि, ‘मेरा काम अधुरा छन्, एक पटकका लागि फेरि अवसर दिइयोस् ।’

विगतको महङ्गो भएको रटान र अहिलेको मलाई नै चाहिन्छ भन्ने रोइलोले के संकेत गर्छ भने खासमा चुनाव सस्तो या महङ्गो भन्ने कुरा कसरी चुनाव लड्ने भन्नेमा भर पर्छ तर एकपटक जितेकाहरु चुनाव त लड्नै नसक्ने गरि महङ्गो भएको रटान जनस्तरमा कानै टट्टाउने गरी उठाउन चाहन्छन् र त्यसको मक्सद भनेको अब नवप्रवेसीलाई दुरुत्साहित गर्नु हो ।

प्रश्न उठ्छ, शशांक कोइरालाजस्ता विपी पुत्र र एक सम्मानित नेताले किन यो एजेण्डामा मलजल गरे होलान् भनेर । शशांक आफैँमा आफ्नो जन्मस्थल र कर्मस्थल छाडेर नयाँ स्थानमा चुनाव लड्दै आइरहेका छन् ।

बाह्य रुपमा उनीसँग म अब लड्ने भए, तिमीले क्षेत्र छाडिदेऊ भन्ने आँट नगरेका भए पनि भित्र भित्र उनले अब विश्राम लिइदिए हुने भन्नेहरु देखिन्छन् । अरुले देख्दा विपी पुत्र र आफैँमा अत्यधिक मतसहित महामन्त्री भइसकेको देखिए पनि एजेण्डा र जनताका कामका सवालमा शशांक पनि खासै कामयावी नदेखिनु अबका लागि उनी सामुको चुनौती हो।

यस अवस्थामा अहिले जवर्जस्त रुपमा स्थापित गर्न खोजिएको भाष्यमा मलजल गरेर आफ्ना कार्यकर्तासँग दिनुपर्ने ढाडस र चन्दादातालाई आगामी चुनावका चन्दाको रकम बढाउने आह्वान दुवैका लागि उनले यो अस्त्रको प्रयोग गरेका हुन् ।

काँग्रेसको सुरक्षित क्षेत्रमा यदि कसैसँग काँग्रेसजनको मन छुने एजेण्डा छ भने एक पैसा पनि खर्च नगरी निर्वाचन जित्ने अवस्था थियो र छ ।

यहाँ उनलाई बताउने एक मात्र कुरा भनेको उनको जस्तो काँग्रेसको सुरक्षित क्षेत्रमा यदि कसैसँग काँग्रेसजनको मन छुने एजेण्डा छ भने एक पैसा पनि खर्च नगरी निर्वाचन जित्ने अवस्था थियो र छ ।

फेरि सोध्न सकिन्छ कि, के उम्मेदवारको खर्च नै हुँदैन त भनेर ? हो चाहँदा आजकलको वैश्विक अर्थव्यवस्थामा नराम्ररी भाषिन खोजेको नेपालमा मनग्ये खर्च हुन्छ । विगतको स्थानीय चुनावमा मेरो आफ्नै वार्डमा वडा तहमा परिचालितहरुलाई कुनै दलले एक बिहानको खाजामा ६५ हजारको बिल तिरेको पनि सुनेको हो । बिहानी खाजामा त्यति खर्च गर्ने ती उम्मेदवारले निर्वाचनको अवधिभर दिवाभोज, रात्रिभोज र यातायातमा बीस लाख खर्च गरे । तैपनि निर्वाचन भने जितेनन् । जसले जिते, उनलाई कन्जुस, चुनावको माहोल नै ल्याउन नसकेको भनेर आलोचना भइरहँदा पनि खर्च गर्नेभन्दा निकै मतान्तरमा रहन सके । किन यस्तो हुन्छ होला त ?

किनभने त्यो खर्च भएको पैसा खासमा मतदातामा खर्च भएको हुन्न । मतदातामा पुग्ने बहानामा, चुनावको माहोल बनाउने नाममा त्यो पैसा खर्च भएको हुन्छ । खास मतदाता अहिलेको मौसममा कि त असिन पसिन गरेर मकै खेतमा काम गरिररहेको हुन्छ, कि त आफ्नो सानो व्यापार, व्यवसाय या नोकरीमा । त्यसै बीचमा हुलका हुल मानिस मोटरसाइकलमा जिन्दावाद र मुर्दावाद गरेर धूलो उडाउँदै दौडादौड गरेको देख्ने मतदाताहरुको मनमा यी काम नपाएका र सित्तै खान र सित्तैको तेलमा मोटरसाइकल बटार्ने ग्याङ हुन् भन्ने भान पर्नु अस्वभाविक होइन । असिनपसिन ती मतदाताले कहाँको पैसाले यत्रो खर्च गरिरहेको छ त भनेर मनमनै प्रश्न पनि गरिरहको हुन्छ । तिनीहरुले लगाएका नारा र गरेका भाषणमा गाँउले टेर पुच्छर लगाउने त कुरै भएन ।

नयाँ परिस्थितीमा पैसा कम चाहिने आधारहरु केही समय अघिसम्म आज जस्तो हरेक व्यक्तिको हातमा मोबाइल भएको त के कल्पना गर्ने, गाउँ टोलसम्म पनि रेडियो र टेलिभिजन सम्म हुँदैनथ्यो । सडक सञ्जाल र सवारी साधन नभएका कारण उम्मेदवार पनि घरसम्म पुग्न सक्थेनन् । त्यसैले उम्मेदवारलाई चिनाउन पोष्टर छाप्नु र घरघरमा पु¥याइदिन पथ्र्यो । पोष्टर त पानी र हावाले पनि बिगार्न सक्छ भनेर वाल पेन्टिङ गरिन्थ्यो ।

उम्मेदवारको स्वर र भाषणकला जाँच्नेहरुका लागि आमसभा गरेर जानकारी दिनुपथ्र्यो । तर, आज यी तिनवटै काम जनताको हात हातमा भएको मोबाइलले गरिरहेको छ । भ्वाइस म्यासेज या भिडियो म्यासेज मार्फत मतदातामा हर क्षण उम्मेदवार पुग्ने आजको अवस्थामा माइकिङ तथा तडकभडक जुलुस र र्यालीलीलाई कसैले राम्रो मानिरहेको देखिन्न, न त यसकै आधारमा मतदाताले भोट दिने मनाशाय बनाउने हुन् ।

वास्तवमा मत कसलाई दिने भन्नेमा ७५ प्रतिशत मतदाता आजै मन बनाएर बसेको छ भने बाँकी २५ प्रतिशतले त्यो भिड र तडकभडक देखेर हैन, उम्मेदवार र उसको विश्वासपात्रसँग रात बिहान हुने विभिन्न चरणको वार्ताका आधारमा निर्णय गर्दछ ।

वास्तवमा मत कसलाई दिने भन्नेमा ७५ प्रतिशत मतदाता आजै मन बनाएर बसेको छ भने बाँकी २५ प्रतिशतले त्यो भिड र तडकभडक देखेर हैन, उम्मेदवार र उसको विश्वासपात्रसँग रात बिहान हुने विभिन्न चरणको वार्ताका आधारमा निर्णय गर्दछ ।

आजको खट्केको खाँचो केहीको छ भने जनपक्षीय सवालको । जनताले बुझ्ने भाषामा आफूले गर्ने काममा बारेमा उम्मेदवारबाट दिनुपर्ने स्पष्टीकरणको । जहाँ त्यो उम्मेदवारले पूरा गरेको छ या गर्न सक्छ, उसलाई अहिले विगतमा जति पनि खर्च आवश्यक छैन । तर तिकडम गरेर नेताको चाकडी मात्र गरेर टिकट हत्याउने, तर जनतासँग नजोडिएकालाई हर कदममा पैसा चाहिन्छ ।

पहिलो त नेताको नजिक पुग्न, र नेताका अगाडि आफुलाई राम्रो मान्छे हो भन्न लागाउन आकांक्षीले पैसा खर्च गर्छ । यो काममा नेताका नजिककामार्फत राम्रै खर्च नगरी सम्भव नै हुन्न । दोस्रो, पैसा आप्mना प्रतिद्वन्द्वी देखिनेलाई कमजोर साबित गर्नका लागि लगाउने देखिन्छ । प्रतिद्वन्द्वीका समर्थकलाई प्रभावमा पार्ने कार्यमा पनि पहिलोमा झैँ राम्रै रकम खर्चिइन्छ । अरु आकाँक्षीले कतिपय अवस्थामा ठूलै बार्गेनिङ गर्ने भएकाले ती आकाक्षीं र उसका वरिपरिका मान्छेहरुलाई भोट बाकसमा नखस्दासम्म राम्रो गाडी र मिठो खाना खुवाएर हिँडाउन सक्नमा उम्मेदवार हुनेले आफ्नो सफलता ठानेको हुन्छ ।

यसरी दलभित्रका या आफ्ना नजिकका नेता जो तत्कालका लागि टिकट लिने सन्दर्भमा प्रतिद्वन्द्वीजस्ता देखिन्छन्, उनीहरुलाई नतमस्तक बनाउन गरेको खर्चलाई देखाएर महंगो चुनावको भाष्य बनाउन कति जायज ? के यो त एजेण्डा विहीनता र समकक्षीलाई गरिने गरिएको एक प्रकारको व्याकमेलिङ होइन र ? यसबाट जनताले केही पाउँछन् र ?

यसरी खर्च बढाउँदैमा भोट बढेर चुनाव जितिन्छ त ? यी थुप्रै को एकै जवाफ छ, उम्मेदवार बन्न यत्रा कसरत गर्ने आकांक्षीले जनतासमक्ष गएर भावी कार्यदिशाका बारेमा चर्चा चलाउने, यसमा जनका कुरा सुनेर परिमार्जन अगाडि बढ्ने । यदि उम्मेदवारको आकांक्षीसँग मतदाताले बुझ्ने भाषाको गाँउ र जनपक्षीय एजेण्डा छन् भने उनीहरुले नै जनस्तरमा प्रचारप्रसार गरेर, बाहिरबाट आएका आगन्तुकलाई रुखोसुखो खुवाएर र रात बस्न परे बार्दली शेयर गरेर अगाडि बढाउँछन् ।

यो कुरा बहुदल पछिका केही चुनावमा हिँडेकाहरुलाई राम्ररी थाहा छ । त्यसबेलाको भन्दा गाँउघरमा बस्ने र खाने अवस्थामा व्यापक सुधार एकातिर देखिन्छ भने अर्कोतिर अतिथिलाई सत्कार गर्ने सवालमा नेपाली मानसिकतामा खास परिवर्तन पनि देखिन्न ।

यो अवस्थामा दलका नेता बन्न लालायितका चुनौती भनेको ति ठूलो छाती भएका मतदातासँग आँखा जुधाएर म जनताको सेवा गर्न चाहन्छु, चुवावलाई सस्तो बनाएर जाने सवालमा मलाई सहयोग चाहियो भन्ने हिम्मत र आँट हो । त्यो आँट भएकाहरुको संख्यामा उल्लेख्य कमी र चुनावमा गइसकेपश्चात अरुले भन्दा बढी खर्च गनैपर्ने आडम्बर, चुनाव लडेपश्चात जित्ने नै हो र त्यसका लागि भड्किलो प्रचारप्रसार पूर्वशर्त हो भन्ने गलत बुझाइका मानिसहरुको बाहुल्यताले आजको अवस्था आएको छ । सजग बनौं, निर्वाचन सहज बनाउनेतर्फ लागौं ।