अन्तर्वार्ता

जसपालाई गठबन्धनको जरुरी थिएन : राजकिशोर यादव

By धीरज बस्नेत

April 19, 2022

आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनको सरगर्मी बढेको छ। स्थानीय निर्वाचनमा दलहरूबीच तालमेल र गठबन्धनको तयारी तीव्र बनेको छ। सत्तारुढ दलहरूबीच आपसी तालमेल गरेर चुनावमा जाने निर्णय भएपनि कार्यान्वयनमा अनेकौं चुनौतीहरू देखाइरहेका छन्। स्थानीय चुनावको तयारी, तालमेलको अवस्था, लगायत समसामयिक विषयमा सत्तारुढ गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा) नेता तथा पूर्वमन्त्री राजकिशोर यादवसँग खबरहबका लागि धिरज बस्नेतले गरेको कुराकानीको सम्पादित अंशः

कस्तो छ जनता समाजवादी पार्टीको चुनावी तयारी ?

नेता, नेतृत्व र राजनीतिक दलका लागि चुनाव भनेको हामीले गरेको कामको रिजल्ट प्राप्त गर्ने अवसर हो। आफ्ना एजेन्डा जनतामा गएर अनुमोदन गराउने मौका यही हो। लोकतन्त्रमा चुनाव भनेको दल र नेताले के कस्ता काम गरे भनेर जनताले उसलाई पुरस्कार र दण्ड दिने समय हो। यो लोकतन्त्रको सुन्दर पक्ष हो। लोकतन्त्रलाई बलियो बनाउन यो आवश्यक पनि छ। त्यसैले हामी यो परीक्षाको तयारीमा छौँ। हाम्रो तयारी तीव्र गतिमा अघि बढिरहेको छ। हामी गाउँगाउँ पुगेका छौँ। जनताको घरघर गइरहेका छौँ। उनीहरुको आवश्यकता र गुनासो सुन्ने काम गरिरहेका छौँ। हामी हिजोका दिनमा पनि जनतासँगै थियौं। आज पनि उहाँहरुको घर घरमा पुगिरहेका छौँ।

कसरी उम्मेदवार छनोट गर्दै हुनुहुन्छ ?

अहिले हामी केन्द्रका नेता गाउँ, टोल, क्षेत्रमा स्थानीय नेता कार्यकर्तासँग भेट्ने र छलफल गर्ने काम गरिरहेका छौँ। आन्तरिक संगठनलाई अझै बलियो बनाउने काम गरिरहेका छौँ। कस्तो व्यक्तिलाई उमेदवार बनाउने भनेर मापदण्ड बनाउने काम भइरहेको छ। वडास्तरको उमेदवार छान्नका लागि वडा कमिटीले पालिकामा पठाउने छ। पालिकाले सहमतिका आधारमा वडाका उमेदवारको टुंगो लगाउने छ। यदि त्यहा टुंगिएन भने जिल्लाले टुंगाउने गरी हामीले संयन्त्र तयार गरेका छौँ। पालिकको हकमा पालिकाले आकांक्षीको नाम छनोट गरेर जिल्ला कमिटीमा पठाउने छ। सकेसम्म जिल्लाले नै टुंगो लगाउने छ। यदि जिल्लामा सहमति हुन नसके प्रदेशले टुंगो लगाउने छ। उमेदवार छनोटको हकमा यसरी काम भइरहेको छ। संगठन बलियो बनाउँदै कम विवाद आउने गरी स्थानीय कार्यकर्ताको माग बमोजिम उमेदवार छान्ने हाम्रो तयारी छ।

गठबन्धन गर्नुपर्ने जुन बाध्यता छ। यसले उम्मेदवार छनोट गर्न निकै सकस पर्ने देखिन्छ। कसरी मिलाउनुहुन्छ ?

निश्चित रुपमा तपाईंले भनेजस्तै अहिले हाम्रो पाँच दलीय गठबन्धन छ। हामी अधिकांश स्थानीय तहमा तालमेल गर्ने तयारीमा छौँ। गठबन्धनमा महानगर र उपमहानगरपलिकामा केन्द्रबाटै उमेदवार छान्ने भन्ने निर्णय भएको छ। नगरपालिका र गाउँपालिकाको सवालमा कस्ता कस्तालाई उमेदवार बनाउने भन्ने मापदण्डसम्म केन्द्रबाट तयार होला। तर, त्यहा स्थानीय रुपमा नै तालमेल गर्ने उमेदवार छान्ने काम हुन्छ। उम्मेदवार छनोटका लागि वास्तवमा हामीलाई समस्या छ। आफ्ना पार्टीका आकांक्षीलाई पाखा लगाएर अर्को दलको उमेदवारलाई सहयोग गर्नुपर्ने अवस्था छ। हाम्रै पार्टीमा पनि एउटै पालिकामा आधादेखि एक दर्जनसम्म आकांक्षी छन्। नेता धेरै भएको देशमा यस्तो समस्या आइहाल्छ। तर, हामी व्यस्थापनको प्रयास गरिरहेका छौं।

गठबन्धनमा तपाईंहरुले कतिवटा महानगर र उपमहानगरमा दाबी गर्नुभएको छ ?

जसले जुन स्थानमा जितेको छ, त्यो स्थान उसैलाई दिने भन्ने गठबन्धनमा भद्र सहमति भएको छ। त्यो सहमतिलाई टेकेर भन्दा महानगरमा वीरगन्ज हामीले जितेको ठाउँ हो। त्यसमा स्वभाविक दाबी हाम्रो छ। हामीले विराटनगरमा पनि दाबी गरेका छौँ। जहाँ हामी २०७४ को निर्वाचनमा प्राविधिक कारणले पराजित भएका थियौँ। मतदाता शिक्षाको अभावका कारण करिब ८ हजार मतपत्रमा ल्याप्चे लगाएका कारण बदर भएको थियो। अधिकांश मत हाम्रो पक्षमा जाहेर भएको थियो। त्यसकारण यसपालि विराटनगरमा हाम्रो दाबी रहन्छ। उपमहानगरको हकमा जनपुर हामीले जितेको क्षेत्र हो। जनकपुरसहित अन्य केही उपमहानगरमा हाम्रो दाबी रहन्छ।

मधेसमा तपाईंको पार्टीको पकड राम्रै थियो। तर, त्यहाँ पनि पाँच दलीय गठबन्धनको टेको किन खोज्नुभयो ?

राष्ट्रिय राजनीतिमा जुन खालको परिस्थिति बन्यो, प्रतिगमनकारी जसरी सक्रिय भए त्यसलाई परास्त गर्न पाँच दलीय गठबन्धन बनेको हो। जुन गठबन्धनलाई स्थानीय निर्वाचनदेखि प्रतिनिधिसभाको चुनावसम्म निरन्तरता दिने तयारी छ। त्यसैले यसलाई टेको बनाउन खोजेको भन्न मिल्दैन। सत्तामा रहेका दल मिलेर चुनाव लड्न लागेको भन्ने रुपमा बुझ्नुपर्छ। हामी मधेस प्रदेशमा एक्लै लडे पनि अधिकांश स्थानमा सहजै जित हासिल गर्न सक्छौ। हाम्रा लागि गठबन्धनको जरुरी छैन। तर, प्रतिगमनकारी शक्ति र उसलाई सहयोग गर्ने तत्वलाई परास्त गर्न हामीले गठबन्धन गरेका हौँ। ठूलो उद्देश्य हासिल गर्न सानासाना इच्छा कुल्चिएर भए पनि हामी गठबन्धनमार्फत् नै चुनाव लड्ने निचोडमा पुगेका हौ।

प्रतिनिधि सभामा जित हासिल गर्न र सत्तामा बसिरहनका लागि गठबन्धनमा सामेल भएका हौँ भन्न खोज्नु भएको हो ?

त्यस्तो होइन, सत्ता ठूलो कुरा होइन। तर, मुख्य कुरा चाहिँ के हो भने संसद् नै समाप्त गर्न खोज्ने, मुलुकलाई फेरि पुरानै बाटोमा फर्काउन खोज्ने, संघीयता नै धरापमा पार्न खोज्ने शक्ति जसरी सक्रिय भयो त्यसविरुद्ध हो गठबन्धन। त्यो गठबन्धनलाई निरन्तरता नदिँदा यस्ता शक्तिले फेरि टाउको उठाउन सक्ने जोखिम छ। त्यसैले हामी एउटै मोर्चामा उभिएका हौ। चुनाव पनि गठबन्धनमार्फत् साझा उमेदवार छनोट गरेर लड्ने निष्कर्षमा पुगेका हौ।

चुनावलाई दल र नेताले आश्वासन बेच्ने समयका रुपमा उपयोग गर्दै आएका छन्। तपाईंले चाहिँ कस्तो घोषणा पत्र बनाउँदै हुनुहुन्छ ?

हो, दलले घोषणा पत्रमार्फत् जनतालाई आश्वासन बेच्दै आएका छौं। गर्नै नसकिने, हुनै नसक्ने कुराको सपना बाढ्ने गरेका छन्। तर, हामी त्यस्तो पार्टी परेनौ। जे सकिन्छ, त्यो भन्छौं, जे भन्छौ त्यो गर्ने प्रयासमा गर्छौ। हामी आश्वासन बाँड्ने भन्दा स्थानीयस्तरमा जनताको समस्या, आवश्यक के हो ? त्यो बुझ्ने र त्यसकै आधारमा घोषणा–पत्र बनाउने तयारी गरिरहेका छौं। पालिका वा स्थानीय जनताको माग के हो ? अहिलेको अवस्थामा जनताको समस्या के हो ? के गर्दा जनतालाई राहत मिल्छ, समस्या समाधान हुन्छ भन्ने विषयमा हाम्रो टोलीले गाउँगाउँमा पुगेर राय लिने काम गरिरहेको छ। जनताको आवश्यकता र मागका आधारमा हामीले घोषणा–पत्र निर्माण गर्ने तयारी गरिरहेका छौँ। प्रचार-प्रसारको क्रम पनि सुरु गरेका छौँ। केन्द्रमा कमिटी नै बनाएका छौँ। त्यसैले अहिले हाम्रो सम्पूर्ण ध्यान भनेको संगठन बलियो बनाउने, उमेदवार छनोट गर्ने, घोषणा–पत्र बनाउने र जनताको घर घरमा जाने कुरामा केन्द्रित छ।

सत्ता गठबन्धनमै सामेल दलले चुनाव सार्न दबाब दिइरहेको कुरा बाहिर आइरहेको छ। के त्यस्तो तयारी भएको हो ?

हामीले पनि सुनेका छौँ। तर, कसले के उद्देश्यले चुनाव सार्न दबाब दियो ? त्यस विषयमा कुनै ठोस कुरा आएको छैन। यहाँ हल्ला अलिबढी हुन्छ। अहिलेसम्म निर्वाचन आयोग, दल र सरकारको तयारी हेर्दा निर्वाचन सार्न कसैले खोजेजस्तो देखिँदैन्। निर्वाचन आयोगको कुरा सुन्दा अहिले निर्वाचन सार्ने कुरा सोच्न पनि सकिदैन भन्ने छ। मतदातामा देखिएको उत्साहका कारण पनि चुनाव सार्न कसैले आँट गर्न सक्ला जस्तो मलाई लाग्दैन।

तर, चुनाव सार्नका लागि अहिले तीनवटा विषयलाई बाहाना बनाउन खोजिदैछ। पहिलो कुरा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीले चुनावमा भाग लिन चाहेको तर, प्रक्रियामा सामेल हुन नपाएका कारण सार्नुपर्छ भन्ने तर्कहरु सुनिराखिएको छ। दोस्रो कुरा देशको आर्थिक संकटलाई पनि बाहना बनाउन खोजिदैछ। देशको अर्थव्यस्था धरमराएको अवस्था छ। डलर सञ्चिती स्वाट्टै घटेको अवस्था छ, चुनावले झन् जोखिम बढाउँछ कि भन्ने कतिको टिप्पणी छ। तेस्रो कुरा पाँच वर्षे कार्यकाल काम गर्न नपाएका जनप्रतिनिधिले अदालतमा हालेको मुद्दाका कारण पनि केही आशंका पैदा भएको छ। तर, मलाई लाग्छ यिनै कारणले मात्रै चुनाव सर्दैन। चुनाव सर्ने अवस्था छैन।

जनता समाजवादी, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच पार्टी एकताका लागि आन्तरिक छलफल भइरहेको कुरा बाहिर आएको छ। वास्तविकता के हो ?

राजनीतिक दलबीच गठबन्धन, तालमेल, मोर्चाबन्दी, एकता र धुर्वीकरण भनेको सामान्य कुरा हो। यस्तो प्रक्रिया चलिरहन्छ। यदि कांग्रेसले साथ छाडेको अवस्थामा हामी तीन दल मिलेर गठबन्धन गर्ने विषयमा छलफल भएकै हो। तर, त्यो भनेको चुनावी तालमेल मात्रै हो। पार्टी एकता नै गर्ने सोच हामीले राखेका छैनौं। त्यो आवाश्यकता महसुस पनि गरेका छैनौ। तत्काल एकताको सम्भावना पनि देखिदैन। एकताका लागि पहिलो कुरा वैचारिक, सैद्धान्तिक र राजनीतिक विषय मिल्नुपर्छ, जुन हामीबीच छेउ टुप्पै मिल्दैन्। म त भन्छु विश्वमै कम्युनिष्ट पार्टीले लिएको विचार कमजोर भैसकेको छ। उहाँहरुले त्यो सिद्धान्त छाडेर आउनुभयो भने नयाँ शिराबाट छलफल हुनसक्छ। होइन भने अहिलेकै अवस्थामा पार्टी एकीकरण नै हुने सम्भावना चाहिँ म देख्दिन।