अन्य

नबिल बैंकद्वारा प्रवासी कामदारको स्वास्थ्यमा हुन सक्ने असर न्यूनीकरण सम्बन्धमा कार्यशाला आयोजना

By खबरहब

April 19, 2022

काठमाडौँ– नबिल बैंकले प्रवासी कामदारहरुको स्वास्थ्य अवस्थालाई जलवायु परिवर्तनको प्रभाव कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा कार्यशाला आयोजना गरेको छ ।

गत शुक्रबार भिभान्ता होटल ललितपुरमा आयोजना गरिएको उक्त कार्यशालामा ला इस्ला नेटवर्कका प्रमुख कार्यकारी अधिकृत जेसन ल्गेएसरले मुख्य प्रस्तुतकर्ताको रुपमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

ला इस्ला नेटवर्क एउटा अनुसन्धान र परामर्श दिने संस्था हो । यसले विश्वभर रहेका कामदार तथा तिनिहरुको समाजमा हुनसक्ने तापक्रम सम्बन्धी रोगहरु निर्मूल पार्न काम गरिरहेको छ ।

जलवायु परिवर्तनको समयमा यो संस्थाले कामदारको स्वास्थ्यलाई सम्बोधन गर्न प्रमाणमा आधारित समाधानहरूको विकास तथा कार्यन्वयन गर्दै आइरहेको छ ।

प्रवासी कामदार र बिप्रेषण नेपाली अर्थव्यवस्थाको निकै महत्वपूर्ण भाग रहेको छ यिनै विषयलाई मध्यनजर गर्दै नबिल बैंकद्वारा सञ्चालन गरिएको यो कार्यशाला नेपाली बैकिङ्ग क्षेत्रमै पहिलो कार्यशाला हो ।

नबिल बैंकले दिगो विकासका पहलहरूलाई समर्थन तथा कार्यन्वयन गर्दै आइरहेको छ । र यो कार्यशाला पनि समाजमा दिगो विकासको लागी महत्वपूर्ण रहने विश्वास गरिएको छ ।

उक्त कार्यक्रमलाई नेपाली मुद्रा बिप्रेषक संघको सहयोगमा सञ्चालन गरिएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, वैदेशिक रोजगार विभाग, राष्ट्रिय योजना आयोग, परराष्ट्र मन्त्रालय, प्रवासी नेपाली समन्वय समिति तथा विदेशी कुटनीतिक संघ संस्थाहरु लगायतका श्रम मामिलामा आवद्ध विभिन्न संघ संस्थाहरुका उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो ।

ला इस्ला नेटवर्कका प्रमुख कार्यकारी अधिकृत जेसनले गरेको अनुसन्धान तथा बिभिन्न कामहरू नेपाली प्रवासी कामदारको लागि निकै महत्वपूर्ण रहेको नबिल बैंकका अध्यक्ष, उपेन्द्र प्रसाद पौडेलले बताए ।

उक्त अनुसन्धानको निष्कर्ष र समाधानले जलवायु परिवर्तनका कारण नेपाली प्रवासी कामदारहरुको स्वास्थ्यमा पर्न जाने असरलाई समयमै पहिचान गरी सो को आवश्यक समाधान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

कार्यशालाको दौरान जेसनले बढ्दै गएको तापक्रमको कारण धेरै स्वास्थ्य समस्या थपिदै गएको र प्रवासी कामदारहरूमा जलवायु परिवर्तनले पार्न गएको असर सम्बन्धमा सहभागीहरूको ध्यानाकर्षण गराएका थिए ।

बढ्दो तापक्रम र गर्मीका कारण मृगौलामा आउन सक्ने समस्या जलवायु परिवर्तनका कारण सृजना भएको पहिलो महामारी हुन सक्ने समेत बताए ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केसरी शाहले जलवायु परिवर्तनको प्रभाव सबै जिवित जीवहरूमा उच्च मात्रामा देखिन थाले ता पनि यसलाई कम गर्ने तर्फ सामान्य ध्यान केन्द्रित गर्न सके पनि केही हदसम्म न्यूनीकरण गर्न सकिने बताउँदै यसका लागि प्रवासी कामदारहरूमा चेतना फैलाउनु निकै महत्वपूर्ण रहेका बताए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव थानेश्वर भुसालले कामदारहरूको स्वास्थ्य सुधार गर्न कुनै अनुसन्धान गर्न चाहाने संस्था तथा व्यक्तिलाई सक्दो सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।