तस्वीर- ब्लूम्बर्ग

अन्तर्राष्ट्रिय

रूसी इन्धनमा निर्भरता अन्त्य गर्ने युरोपेली युनियनको योजना

By खबरहब

May 19, 2022

काठमाडौं- युरोपेली आयोगले रूसी जीवाश्म इन्धनमा युरोपको निर्भरतालाई अन्त्य गर्ने योजना अघि सारेको छ । बेल्जियमको राजधानी ब्रसेल्समा सम्बोधन गर्दै युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लाइनले योजना घोषणा गरेकी हुन् ।

रूसले युरोपको ४० प्रतिशत प्राकृतिक ग्यास र यसको आयातित तेलको २७ प्रतिशत आपूर्ति गर्दछ । बीबीसीका अनुसार उर्जा बेचेर रुसले युरोपबाट प्रतिवर्ष करिब ४ खर्ब युरो आम्दानी गर्दै आएको छ ।

अब युरोपेली युनियनले हरित ऊर्जामा तीव्रता दिने योजना बनाएको छ । रुसी उर्जा प्रयोग गरेर युक्रेनको युद्धमा सहयोग गरेको युनियनमाथि आरोप लाग्दै आएको छ । बढ्दो ऊर्जा लागतले उपभोक्ताहरू र युरोपको व्यवसायमा वित्तीय दबाब पनि परेको बीबीसीले जनाएको छ ।

अद्यावधिक गरिएका प्रस्तावहरूले ईयूले तत्कालै ग्यास संकटलाई कसरी समाधान गर्ने भनेर वार्ता गर्ने योजना मात्र बनाएको छैन, सन् २०३० सम्ममा रुसी ऊर्जाबाट पूर्णरूपमा छुटकारा पाउने बाचाहरू पनि गरेको छ ।