देश/प्रदेश

कर्णालीका मेयर विष्णु भाम भन्छन्- ‘छायाँनाथ रारालाई नमुना पालिका बनाउँछु’ 

By खबरहब

May 19, 2022

मुगु– छायाँनाथ रारा नगरपालिकाको मेयरमा निर्वाचित ३२ वर्षीय  विष्णु कुमार भाम कर्णालीकै कान्छा मेयर पनि हुन् । 

उनी यसअघि नेपाली कांग्रेस मुगुका पूर्व नगर सभापति हुँदै वडा अध्यक्ष भइसकेका छन् । यसपटक उनी कर्णालीकै सबैभन्दा कान्छा मेयर बनेका छन् । उनी ०७४ सालको स्थानीय तह निर्वाचनमा छायाँनाथ रारा नगरपालिका-४ को वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनले ०६८ सालबाट राजनीतिक यात्रा सुरु गरेका थिए । वडा अध्यक्षमा निर्वाचित भएपछि उनले राज्यबाट प्रदान हुने तलबभत्ता र विभिन्न संघ संस्था बाट प्राप्त हुने भत्ता सामाजिक क्षेत्रमा लगानी गर्ने घोषणा गरेका थिए । उनले कल्से कोषको स्थापना पनि गरेका थिए । 

मेयर भामले नगरपालिकाका गरिब, दलित, विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्रीसहित आवश्यकताअनुसार सहयोग गर्दै आएका छन् । 

यस्ता छन् मेयर भामका ऐजेण्डा १- भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्न २- ग्रामीण बस्तीहरूको उचित व्यवस्थापन तथा नमुना बस्ती विकास ३- सुधारिएको खानेपानी सरसफाइ, खानेपानी तथा सिँचाइ ४- सडक तथा यातायात सुविधा ५- गुणस्तरीय शिक्षा तथा नमुना विद्यालय विकास ६- गुणस्तरीय स्वास्थ्य सेवा ७- कृषि पशुपालन तथा लघु उद्यम ८- युवा तथा खेलकुद ९- लक्षित वर्षको उत्थान तथा सशक्तीकरण 

कान्छा मेयर भामले आफू बिनायोजना र भिजन मेयरमा नआएको बताएका छन् । उनी भन्छन्, ‘मेरो कार्यकालमा यो गाउँपालिकालाई देशकै नमुना पालिका बनाउँछु । विदेशिएका युवालाई फिर्ता बोलाएर स्वरोजगार कार्यक्रम चलाउँछु ।’