फाइल फोटो

राजनीति

जित्ने आशा अझै छ : सिर्जना सिंह

By खबरहब

May 19, 2022

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले जित्ने आस अझै नमरेको बताएकी छन् । राष्ट्रियसभा गृहस्थित मतगणनास्थलमा पहिलोपटक पुगेकी सिर्जनाले आफू जित्ने आशा अझै रहेको बताएकी हुन् । 

‘कतिपय वडामा हामी जितिरहेका छौं, अझै पनि जित्ने आशा छ । वडाहरूमा पनि राम्रै आइरहेको छ । नआएका वडाहरूमा गुड फाइट दिइरहेका छौं,’ सिर्जनाले भनिन् । 

अहिले मतपरिणामलाई आफूले सहज रूपमा लिइरहेको भन्दै मतगणना अझै बाँकी रहेकाले अहिले मत परिणामबारे बोल्दा हतार हुने उनले बताइन् । 

‘मैँले सहज रूपमै लिएकी छु । मैँले एक भोटको पनि सम्मान गर्छु । त्यो विषयमा मैले ध्यान दिएकी छैन । सबै परिणाम आइसकेपछि बोल्छु,’ उनले भनिन्, ‘अहिले नै मतपरिणाम बारे बोल्दा हतार हुन्छ । सकिसकेको वडाहरूमा यो भन्दा राम्रो हुनुपर्थ्यो भन्ने हो । सोचेको भन्दा कहीँ नराम्रो पनि भएको छ कहीँ राम्रो पनि भएको छ ।’ 

स्वतन्त्र उम्मेदवारले के कारणले बढी मत पाइरहेका छन् भन्ने विषयमा अहिले नै बोल्दा हतार हुने उनले बताइन् । अझै पनि मतगणना बाँकी नै रहेकाले जित बारे अहिले नै भन्न सकिने अवस्था नरहेको उनको भनाइ छ ।