काठमाडौँ– पुष्पाको सफलताले अल्लु अर्जुन र उनको टिम निकै उत्साहित छ । फिल्मले गरेको व्यापारले गर्दा नै पछिल्लो समय साउथ इन्डियामा बन्ने प्राय फिल्महरू हिन्दी भाषामा पनि एकसाथ रिलिज हुने गरेको छ ।
साउथ इन्डियामा रिलिज भएको फिल्महरू केही समयपछि हिन्दीमा डबिङ गरेर युट्युबमा आउने शैलीलाई ‘पुष्पा’ ले ब्रेक गर्यो। यो फिल्मले गरेको विजनेसले साउथ इन्डियन फिल्मलाई नर्थमा रहेको मार्केटको राम्रो सम्भावना देखायो । फलतः साउथका फिल्महरू हिन्दीमा हलमा एकसाथ मात्र प्रदर्शनमा आएनन्, त्यसपछि ओटीटीमा आउन थाले । त्यसैले गर्दा पनि यसको सिक्वेल के कस्तो बन्छ ? र कस्तो व्यापार गर्ला ? भन्ने कौतुहलता आम दर्शकसँगै फिल्मकर्मीलाई पनि छ ।
यसैले गर्दा अल्लु अर्जुन र रश्मिका मन्दना अभिनीत फिल्मको सिक्वेल ‘पुष्पा’ : द रुल’ लाई लिएर निर्देशक सुकुमार निकै चनाखो छन् । उनी पहिलो भागले बनाएको मार्केट बढोस् भन्ने चाहन्छन् । यसैले गर्दा उनले फिल्मको मेकिङ पनि बढाउन लागेका छन् । सिक्वेललाई निर्माण टिमले अघिल्लो पार्टभन्दा ठूलो बजेटमा निर्माण गर्ने निर्णय गरेको छ । सिक्वेलको बजेट ४ सय करोडसम्म पुग्ने भारतीय माध्यमले उल्लेख गरेका छन् । ‘पुष्पा : द राइज’ १ सय ९५ करोडमा निर्माण भएकोको कारण पनि सिक्वेल झनै सशक्त बनाउने दायित्व निर्देशक सुकुमारलाई छ ।
२०२३ को जनवरीबाट छायांकन सुरु गरिने भनिएको फिल्मको प्रि-प्रोडक्सन अन्तर्गत स्क्रिप्ट र सेटको काम भइरहेको छ । ईस्ट गोदावरीको मारेदुमिली जंगलमै छायाकारको तयारी भइरहेको फिल्म सन् २०२४ मा रिलिज हुन् सक्नेछ ।