फाइल तस्वीर- पीटीआई

अन्तर्राष्ट्रिय

भारतको आसाम र मेघालयमा बाढीका कारण ३२ जनाको मृत्यु

By रासस

June 19, 2022

काठमाडौँ- भारतका उत्तरपूर्वी राज्यहरु आसाम र मेघालयमा आएको व्यापक बाढीमा परेर ३२ जनाको ज्यान गएको छ ।

आसाम र मेघालयमा शुक्रबारदेखि बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ । यी दुई राज्यमा वर्षा आइतबार पनि जारी रहेको बताइएको छ ।

आसामको विपद् व्यवस्थापन विभागका अनुसार असाममा शुक्रबारदेखि निरन्तर वर्षा जारी रहेको छ । आसाममा मात्र बाढीमा परेर १३ जनाको ज्यान गएको बताइएको छ । आसामका २८ जिल्लामा बाढी आएको र त्यसमा परेर १८ लाख भन्दा बढी मानिस प्रभावित भएका छन् ।

उता मेघालयका पनि दर्जनौँ जिल्लामा बाढीको प्रकोप बढेको छ । ती जिल्लामा शनिबारसम्ममा १९ जनाको ज्यान गएको बताइएको छ । यी जिल्लाहरुमा शनिबार रातिसम्म पनि वर्षा जारी रहेको बताइएको छ ।

त्यहाँको मौसम विभागले बाढीको प्रकोप रहेकाले सतर्कत अपनाउन सूचना जारी गरेको छ ।