खेलकुद

पुरानो लयमा अमेरिका

By मनोज घिमिरे

July 19, 2022

अमेरिकाको आरेगनमा जारी विश्व च्याम्पियनसिपमा घरेलु टोली अमेरिका पहिलो हुने सम्भावना प्रबल देखिएको छ। गत वर्ष जापानको टोकियोमा भएको ओलम्पिकको एथलेटिक्समा अपेक्षाकृत कमजोर साबित अमेरिकाले जारी विश्व च्याम्पियनसिपमा राम्रो सुरुवात गरेको छ। दोस्रो दिन नै अमेरिकाले पुरुष १ सय मिटरमा क्लीनस्वीप गरेको हो।

फ्रेड केर्लीको नेतृत्वमा ब्रेभी विलीयम्स र थोमस ब्रोमेलले पदक जितेका हुन्। लामो समयपछि अमेरिकाले सट पुटमा दुवै स्वर्ण पदक जितेको छ। पुरुष स्पर्धामा लामो समयदेखि प्रभाव जमाएको अमेरिकाले महिला सट पुटमा पनि यस पटकको विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जितको हो। अमेरिकाकी चेज एलीले स्वर्ण पदक जिते पछि ओलम्पिक च्याम्पियन तथा लामो समय देखि यस स्पर्धामा राज गर्दै आएकी चीनकी लाउजाओ गङग रजत पदकमा सीमित भइन्। सो स्पर्धामा नेदरल्यान्डकी जेसिका स्कील्डरले कास्य पदक जितेकी थिइन्।

विश्व च्याम्पियनसिपको पहिलो स्वर्ण पदक पेरुका किम्बर्ली गार्सियाले जितेकी थिइन्। उनले महिला २० किलोमिटर हिँडाइको स्वर्ण पदक जितेकी हुन्। सो स्पर्धामा पोल्यान्डका काटारेजन जाजोर्कोले रजत तथा चीनकी सिजे क्वेइङले कास्य पदक जिते।

पुरुषको २० किलो मिटर हिँडाइमा जापानले स्वर्ण तथा रगत पदक जितेको छ। जापानका तोसीकाजु यामानीसीले स्वर्ण पदक जितेको सो स्पर्धामा जापानकै कोकी इकेडाले रजत तथा स्विडेनका प्रेसिटुस कार्लसमले कास्य पदक जिते।

विगतमा आफूले प्रभाव जमाएको दुई स्पर्धामा स्वर्ण पदक गुमाएको चीनले पुरुष लङ जम्पमा भने आश्चर्यजनक रूपमा स्वर्ण पदक जित्यो। चीनका जस्नान वाङले स्वर्ण पदक जिते भने उपाधिका प्रबल दाबेदार ग्रिसका मिटालडेस टेन्टेग्लाउसले रजत पदक जिते। यसैगरी, स्वीजरल्यान्डका सिमोन इमोरले कास्य दिक जिते।

पुरुषको ह्यामर थ्रोमा पोल्यान्डका पावेल फाज्डेकले स्वर्ण पदक जिते। यो उनको लगातार पाँचौँ विश्व च्याम्पियनसिप उपाधि हो। सोही स्पर्धामा पोल्यान्डका वाजोडेक नोवोस्कीले रजत पदक जिते भने नर्वेका एलीभिन्ड हेर्सभिन्सकेनले कास्य पदक जिते।

महिला १० हजार मिटर दौडमा केन्याकी हेलेन ओबीरीलाई दोस्रो स्थानमा छाड्दै इथियोपियाकी लेटेसेन्सबेट गेडीले गीडेले स्वर्ण पदक जितिन्। सो स्पर्धामा केन्याकै मार्गरेट सेलीमोले कास्य पदक जिते।

च्याम्पियनसिपको तेस्रो दिन भने अमेरिकाका लागि स्वर्णिम बनेको थियो। तेस्रो दिन टुङ्गो लागेका सात मध्यका चार स्वर्ण अमेरिकाले जितेको थियो। यत्ति मात्र होइन, पुरुष सट पुटमा क्लीन स्वीप गरेको अमेरिकाले पुरुष १ सय १० मिटर हर्डल्समा शीर्ष दुई स्थान हात पार्न सफल भएको छ। यसैगरी, महिला पोलभोल्टमा शीर्ष दुई स्थान पाएको अमेरिकाले महिला ह्यामर थ्रोमा पनि स्वर्ण र कास्य पदक जितेको छ।

महिला ह्यामर थ्रोमा अमेरिकाका ब्रुक एन्डरसनले स्वर्ण तथा जेनी कासनभोडले कास्य पदक जिते। यी दुईको बीचमा रहेकी क्यानडाका क्यामरीन रोजर्सले कास्य पदक जितिन्। यस अगाडी सन् २०१९ मा डिना प्राइसले पहिलो पटक अमेरिकालाई यस स्पर्धामा अमेरिकालाई स्वर्ण पदक दिलाएकी थिइन्।

गत ओलम्पिकमा पनि स्वर्ण पदक जितेकी प्राइस यस पटक टाढा रहेपछि एन्डरसनले अमेरिकालाई अर्को सफलता दिलाएकी हुन्। प्राइसले कोभिडका कारण खेल गुमाएकी हुन्। एन्डरसनका लागि युगेनको त्यो मैदान धेरै अर्थमा विशेष रहेको छ। त्यसै मैदानमा उनले विश्व यूथ च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेकी थिइन् भने अमेरिकी च्याम्पियन पनि यसै मैदानमा भएकी हुन्। त्यहाँ पनि उनी पहिलो भएकी थिइन्।

पुरुष सट पुटमा विश्व कीर्तिमानधारी ओलम्पिक च्याम्पियन रेन क्रुजर र साबिक विजेता जोय कोभाकबीचको सनसनीपूर्ण प्रतिस्पर्धामा क्रुजर च्याम्पियन भए। त्यसै स्पर्धामा जोसे ओटुन्डले खेल जीवनकै उत्कृष्ट प्रदर्शन गर्दै कास्य पदक जिते पछि अमेरिकाको क्लीनस्वीप सम्भव भएको थियो।

पुरुष १ सय १० मिटर हर्डल्समा यस वर्ष शीर्ष वरीयताका रहेका डेभन एलन डीस्क्वालीफाइड भएपछि अमेरिकाको क्लीनस्वीप पुरा भएन। सो स्पर्धामा ओलम्पिक च्याम्पियन जमैकाका हान्से मार्चपेन्टले पनि फाइनल रेस अगाडि नाम फिर्ता लिएका थिए। साबिक विजेता ग्रान्ट होलवेले स्वर्ण पदक जिते भने अमेरिकाकै ट्रे कुनीङघमले रजत पदक जिते।

पोलभोल्टमा अमेरिकी च्याम्पियनसमेत रहेकी केटी नेगोटेले स्वर्ण पदक जितिन् भने स्यान्डी मोरिसले रजत पदक जितिन्। सो स्पर्धामा अस्ट्रेलियाकी नीना केनेडीले कास्य पदक जितिन्।

तेस्रो दिन भएको पुरुष म्याराथनमा इथियोपियाका टामीराट टोलाले स्वर्ण तथा मोसीनेट जेरेमीउले रजत पदक जिते। यसै गरी, बेल्जियमका बसिर अब्दीले कास्य पदक जिते। अमेरिकाका लागि सुरुवाती तीन दिनको स्पर्धा मध्य पहिलो दिन भएको चार धेरै स्पर्धामा अमेरिकाका दबदबा रहेको यस विश्व च्याम्पियनसिपमा पहिलो दिन चार गुणा चार सय मिश्रित रिलेमा अन्तिम २० मिटर बाँकी रहँदा अग्रता कायम गरेको अमेरिका त्यस समय अग्रता गुमाउँदै तेस्रो स्थानमा खुम्चिएको थियो। सो स्पर्धामा डोमेनीक गणतन्त्र पहिलो तथा नेदरल्यान्ड्स दोस्रो भए।

यस वर्ष महिला १ सय मिटर दौडमा जमैकाले क्लीनस्वीप गरेको छ। सानी अल फ्रेजीयरले स्वर्ण, सारिका ज्याक्सनले रजत तथा एलेन थम्सन हेराथले कास्य पदक जिते।

यस विश्व च्याम्पियनसिपमा धेरै दिनहरू अझ बाँकी नै छन्। सबै परिणाम यसै भन्न सकिँदैन। तथापि यस भन्दा अगाडि भएको विश्व च्याम्पियनसिपमा १३ स्वर्ण पदक जितेको अमेरिका यस पटक त्यो भन्दा अगाडी बढ्ने सम्भावना प्रबल छ। रियो ओलम्पिकमा १३ स्वर्ण पदक जितेको अमेरिका टोकियो ओलम्पिकमा भने कमजोर साबित भएको थियो।

एक वर्ष अगाडीको ओलम्पिकमा सात स्वर्ण पदक जितेको अमेरिका फेरी पुरानो लयमा फर्कने सम्भावना प्रबल देखिएको छ। बाँकी रहेका स्पर्धामा ४ सय मिटर हर्डल्समा सिड्नी म्याकगाउलीन स्वर्ण पदककी प्रबल दाबेदार मानिएकी छिन्। यसैगरी, १ सय मिटर हर्डल्स र रिलेमा अमेरिकाले सफलता पाए रियो ओलम्पिक तथा सन् २०१९ को विश्व च्याम्पियनसिपको सफलताको नजिक अमेरिकी टोली पुग्ने छ।

यस विश्व च्याम्पियनसिपमा केही हेर्न लायक रेस बाँकी नै छन्। विश्व कीर्तिमान धारी ओलम्पिक स्वर्ण विजेता कार्सटन ओभरहाल्म र बेन्जामिन राई बिचको रेस यस विश्व च्याम्पियनसिपको सबै भन्दा हेर्न लायक हुने छ। त्यसो त ओलम्पिक स्वर्ण विजेता बहमासका स्टेफन गार्डनरले नाम फिर्ता लिए पनि माइकल नर्मान र किरानी जेम्सको ४ सय मिटरको रेस पनि त्यत्तिकै सनसनीपूर्ण हुने छ। अन्य थुप्रै स्टार यस विश्व च्याम्पियनसिप हेर्न लायक हुने छन्। युक्रेनकी हाइजम्प स्टार युरो स्लाभा माहुचीक स्टार यस विश्व च्याम्पियनसिपका स्टार हुने छन्। लंङजम्पकी मालियाका मिहाम्बो यस विश्व च्याम्पियनसिपकी हेर्न लायक स्टार हुन्। जर्मनीकी यी खेलाडीले यस पटक पनि उपाधि हात पार्ने अनुमान गरिएको छ। उनले यस वर्ष सहभागिता जनाएकी सात मध्यको पाँच स्पर्धामा सफलता पाएकी थिइन्।

विश्व कीर्तिमान धारी भेनेन्जुएलाकी युलीमार रोजासले नै ट्रिपल जम्पमा स्वर्ण पदक पाउने अनुमान गरिएको छ। जमैकाकी सानजेका रिकेट्स र पोर्चुगलकी प्याट्रिसिया मामोना उनका मुख्य प्रतिस्पर्धा हुने छन्।

महिला डिस्कस थ्रोमा ओलम्पिक च्याम्पियन अमेरिकी भालेरी अलमानलाई बलियो मानिएको छ। उनले सफलता पाए महिलाका थ्रो स्पर्धामा अमेरिकाका लागि यो विश्व च्याम्पियनसिप स्वर्णिम मानिएको छ। सान्ड्रा पर्भोभीक उनकी मुख्य प्रतिस्पर्धी हुने छिन्। क्रोएसियाका पर्भोभीकले दुई पटक ओलम्पिक स्वर्ण समेत जिती सकेकी छन्।

ज्याभलीन थ्रोमा अमेरिकी म्यागी म्यालोनले अमेरिकी च्याम्पियनसिपमा तीन पटक फल्ट गरेकी थिइन्। अन्य दुई अमेरिकीले मात्र ओलम्पिक मापदण्डको थ्रो पुरा गरेका कारण उनी यस भयानक गल्तीका बाबजुद छनोट भएकी छिन्। उनका लागि यो विश्व च्याम्पियनसिप विशेष महत्त्वको हुने छ। समग्रमा यस विश्व च्याम्पियनसिपको महिला थ्रोमा स्पर्धामा अमेरिकी पकड कस्तो रहने हो भन्ने अझै हेर्नै पर्ने हुन्छ। स्रोत : वर्ल्ड एथलेटिक्स, वाच एथलेटिक्स