क्रिकेट

एसियाली ‘टाइगर’ टिमबाट इक्वालको सन्न्यास

By एसेन्स श्रेष्ठ

July 19, 2022

तमिम इक्वालले अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । विश्वकपको मुखमा उनको सन्न्यासलाई अर्थपूर्ण तबरले हेरिएको छ । एसिया क्रिकेटमा बाघ मानिने बंगलादेशको क्रिकेट टिममा इक्वाल एक हस्ती हुन् । जसले वर्षौँदेखि बंगलादेशको ओपनिङ सम्हाल्दै आएका छन् ।

आइतबार बिहान ३३ वर्षीय इक्वालले आफ्नो फेसबुक पेजमार्फत आफुले अन्तर्राष्ट्रिय टी–ट्वान्टी खेलबाट अवकाश लिएको जानकारी गराए । बंगलादेश क्रिकेट टोलीलाई वेस्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिज क्लिनस्वीप गर्न नेतृत्व गरेपश्चात इक्वालले सो घोषणा गरेका हुन् ।

बंगलादेशले अन्तिम एकदिवसीय खेलमा ४ विकेटले जित निकाल्दै सिरिज क्लिनस्वीप गरेको थियो । सो सिरिजमा इक्वालले ‘प्लेयर अफ द सिरिज’को उपाधी पनि जिते ।

‘अन्तर्राष्ट्रिय टी–ट्वान्टी खेलबाट मैले अवकाश लिएको छु । सबै जनालाई धन्यवाद’ उनले संक्षिप्त सन्न्यास पोस्टमा उल्लेख गरेका छन् ।

यो निर्णयले इक्वालले यस शैलीलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा चल्दै आएको बहसको अन्त्य गरेको छ । सन् २०२२ जनवरीमा इक्वालले अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेटबाट ब्रेक लिएका थिए । उनले त्यसबेला आफु ६ महिना टी–ट्वान्टीबाट टाढिने जनाएका थिए ।

‘मेरो पुरै ध्यान टेस्ट र एकदिवसीय खेलमा केन्द्रित हुनेछ । हामी विश्व टेस्ट च्याम्पियनशिप र २०२३ विश्वकपको लागि तयारीमा छौँ । म आगामी ६ महिना टी–ट्वान्टीबारे सोच्ने छैन । खेलिरहेकाले धेरै राम्रो गर्ने र टोलीलाई मेरो आवश्यकता नपर्ने मैले आशा गरेको छु । तर, यदि भगवानले टोलीलाई रोके वा क्रिकेट बोर्डलाई मेरो आवश्यकता परे, म तयार हुनेछु, पक्कै पनि त्यसको बारे सोच्ने छु’ इक्वालले जनवरी २७ मा जानकारी दिएका थिए ।

यसको अर्थ उनी टिमको आवश्यक ठानेमा सन्न्यास फिर्ता लिएर प्याड लगाएर ब्याट समाउन तयार हुनेछन् । तर यो यति सहज भने छैन । बंगलादेशमा पछिल्लो समय नयाँ नयाँ क्रिकेटर आइरहेका छन् । उनीहरू अवसर खोजिरहेका छन् । केहीले आफूलाई प्रमाणित गरेमा विश्वकपमा ठाउँ बनाउनेछन् । त्यसको लागि बाटो खोल्ने काम इक्वालले गरिदिएका हुन् ।

यूएईमा भएको टी–ट्वान्टी विश्व कपबाट स्वेच्छाले पछि हट्दै इक्वालले सबैलाई आश्चर्यमा पारे । यससँगै गत वर्ष देखि इक्वाल टी–ट्वान्टी क्रिकेटबाट टाढिए ।

सन् २०२० मार्चमा जिम्बाब्वेविरुद्धको टी–ट्वान्टी खेलमा उनले ३३ बलमा ४१ रन बनाएका थिए । यसअघि पाकिस्तानमा भएको टी २० सिरिजमा पनि उनले ५३ बलमा केवल ६५ रन बनाएका थिए । यसका लागि उनको धेरै आलोचना पनि भएको थियो ।

यद्यपि, इक्वाल अन्य फम्र्याटमा पकड जमाउँदै गए । सोहि अनुरुप गत शनिबार भएको वेस्ट इन्डिजविरुद्धको ५ खेलको एकदिवसीय सिरिजमा जित दिलाउन पनि इक्वालको योगदान अतुलनीय रह्यो ।

सन् २००७ देखि २०१८ को दौरान बंगालदेशको टी–ट्वान्टी टोलीमा इक्वाल नियमित खेलाडी रहँदै आएका थिए । बंगलादेशले खेलेको ८४ मध्ये ७४ टी–ट्वान्टी खेलमा उनको उपस्थिति रहेको थियो ।

बंगलादेशका लागि एक मात्र शतक प्रहार गर्ने क्रिकेटरको रूपमा पनि इक्वाल स्थापित छन् । टी–ट्वान्टी फर्माटमा २४ दशमलव ६५ को औसतमा १ हजार ७ सय १ रन जोडेर इक्वाल बंगलादेशको तेस्रो बढी रन बनाउने क्रिकेटर पनि हुन् ।

इक्वालले घरेलु टी–ट्वान्टी प्रतियोगिता खेल्ने भने सम्भावना बाँकी नै छ । अहिलेसम्मको बंगलादेश प्रिमियर लिग बीपीएलको सबै संस्करणमा भाग लिएका इक्वाल ‘अल टाइम रन स्कोरर’ का रूपमा पनि परिचित छन् ।

तर पनि एसियाली ‘टाइगर’ टिमबाट इक्वालले सन्यास लिनु विश्वकपको मुखमा एसियन टाइगर टिम बंगलादेशलाई ठूलो झट्का हो । पछिल्ला विश्वकपमा खराब लयबाट गुज्रेको बंगलादेशले त्यसलाई कसरी सुधार्छ वा बिगार्छ हेर्न बाँकी छ, तर जसरी इक्वालले सन्न्यास लिएका छन्, बंगलादेशी टोलीलाई त्यसको क्षतिपूर्ति पर्नेछ नै ।