तस्बिर स्रोत : सुर्य किरणको फेसबुकबाट

ब्रेकिङ स्टोरी

सिंहदरबारमा कांग्रेसलाई झस्काउने वाम नेताको छलफल

By खबरहब

July 19, 2022

काठमाडौँ – कम्युनिष्ट विचारधाराका नेताहरु सिंहदरबारमा छलफलमा बसेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा वाम नेताहरु छलफलमा जुटेका हुन् । यद्यपि छलफलमा एमाले नेताहरूको सहभागिता छैन ।

प्रचण्ड भारत भ्रमणबाट फर्केपछि बालुवाटार छाडेर सिंहदरबार छलफलमा केन्द्रित छन् । मंगलबार बिहानै बाबुराम भट्टराईसँग छलफलमा जुटेका प्रचण्ड बेलुकीतिर भने नेकपा एकीकृत समाजवादीका नेताहरूसँग छलफलमा जुटेका हुन् ।

यसलाई प्रचण्ड भारत भ्रमणबाट फर्केपछिको परिदृश्यको रुपमा हेरिएको छ । छलफलमा प्रचण्ड, नारायणकाजी श्रेष्ठ, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम छन् । वामदेव गौतमबाहेक सबै सत्ता गठबन्धनका नेता हुन् ।

सत्ता गठबन्धन छाड्न नहुने निष्कर्षमा प्रचण्ड र माधव नेपाल छन् । तर नारायणकाजी र वामदेवको मत भने अहिले पनि वाम एकता गर्नुपर्छ भन्ने छ । यसले प्रचण्ड दोधारमा छन् । प्रचण्ड भारत भ्रमणबाट फर्केपछि सम्भावित राजनीतिक परिवर्तनका लागि छलफल हुन सक्ने आशंका छ ।

जसले कांग्रेसलाई झस्काउने गरेको छ । कांग्रेसले पार्टी बैठकमा सत्ता गठबन्धन चुनावसम्म लैजाने छलफल अगाडि बढाएको छ । त्यसमा प्रचण्ड सहमत छन् । तर वाम एकताका विषयमा वामदेव गौतमले छलफल रोकेका छैनन् । यही कुराले कांग्रेसलाई झस्काइरहेको छ ।