तस्बिर स्रोत : सुर्य किरणको फेसबुकबाट

ब्रेकिङ स्टोरी

सिंहदरबार बैठक : वाम एकतादेखि गठबन्धनसम्म !

By खबरहब

July 19, 2022

काठमाडौँ- तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालका बहुमत सचिवालय सदस्य मंगलबार दिउँसो सिंहदरबारमा भेला भए । असार १९ गते अहिले नेकपा एकता राष्ट्रिय अभियान नामक पार्टी गठन गरेका तत्कालीन नेकपाका सचिवालय सदस्य वामदेव गौतमको पहलमा बैठक बसेको हो। आजको बैठक यसैको निरन्तरता भएको नेताहरुले बताएका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा हुनै लाग्दा गठबन्धनमा रहेका दुई दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका साथमा वामदेव गौतम छलफलमा जुटेका हुन् ।

छलफलमा आगामी निर्वाचन, सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल एव‌म् नेकपा कालको एक दल एमालेका पछिल्ला निर्णयहरुबारे छलफल भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताए ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको बैठकपछि सबैभन्दा पहिला वामदेव गौतम, माधवकुमार नेपाल र झलनाथ खनाल बाहिरिएका थिए । बाहिरिने क्रममा रहेका नेताहरुलाई सञ्चारकर्मीले बैठकका बारेमा प्रश्न राखे । अगाडि रहेका वामदेवले नारायणकाजीले बोल्नु हुन्छ भन्दै टार्न खोजे । माधव नेपाल र झलनाथ खनाल केही बोलेनन् ।

लिफ्ट खुल्नु अघि वामदेवलाई पत्रकारले फेरि प्रश्न गरे, ‘वामदेव काम्रेणले केही प्रस्ताव राख्नु भएको हो नेकपाकालीन ?’ तर उनले जवाफ दिएनन् । हात हल्लाउँदै हास्दै बसे ।

लिफ्ट खुलेसँगै गौतम, नेपाल र खनाल प्रवेश गरे । पत्रकारले पुनः वामपन्थी दलहरुबीचको एकताबारे प्रश्न गरे । जवाफ झलनाथले दिए । भने ‘सिंगै राष्ट्रलाई एक बनाउने ।’

त्यसपछि प्रचण्ड आइपुगे । उनले बैठकबारे जानकारी दिए । ‘बसेको थाहा भइहाल्यो नेकपा कालका सचिवालयका बहुमत सदस्य । पहिला पनि बसेका थियौं’ उनले भने, ‘गठबन्धनलाई कामय राखेर अघि जानु पर्छ भन्नेमा विमति छैन । स्थानीय तहको निर्वाचनको परिणामलाई समेत ध्यान दिएर गठबन्धनलाई कसरी प्रभावकारी बनाउने भन्ने बारे छलफल भयो ।’

उनले अगाडि भने, ‘नेकपा एउटै पार्टी भयौं हिजोका सचिवालयका बहुमत हौं हामी । विचार मिल्नेकाबीचमा एकताको सम्भावनाबारे छलफल गरिरहेका छौं, त्यो भनेको गठबन्धनको विरुद्ध भनेको होइन ।’ भारत भ्रमणबारे सोधिएको प्रश्नमा भने उनले जवाफ दिएनन् ।

यो पनि पढ्नुहोसः

विचार मिल्नेसँग एकता गर्ने पाँच नेताको निष्कर्ष