बलिउड/हलिउड

थ्रिलरमा बढ्यो शाहरुखको आकर्षण

By खबरहब

July 19, 2022

काठमाडौँ– बलिउडमा बादशाहको उपनाम समेत पाएका शाहरुख खान आउँदो वर्ष कमब्याक गर्दैछन् । उनले कमब्याक लाइनअपलाई तगडा बनाएका छन् । उनी आउँदो वर्षको सुरुवातमा ‘पठान’ मा देखिनेछन् । त्यसपछि साउथ इन्डियन निर्देशक एटलीको फिल्म जवान रिलिज हुनेछ । यी फिल्ममा एक्सन अवतारमा देखिने शाहरुखले वर्षको अन्त्यमा रिलिज हुने फिल्म डंकीमा आफ्नै उमेर समुहको चरित्रमा प्रस्तुत हुनेछन् । फिल्मलाई राजकुमार हिरानीले निर्देशन गरिरहेका छन् । त्यसपछि उनले आफ्नो हिट फिल्म ‘डन’ को तेस्रो सिरिजमा काम गर्ने तयारी गरेका छन् ।

पछिल्लो फिल्म ‘जिरो’ सम्म फ्लपको सामना गरेपछि शाहरुखले ब्रेक लिएका थिए । उनी अब भने ५ वर्ष पश्चात बलिउडमा कमब्याक गर्न तयार छन् ।बलिउडमा हालैमात्र ३० वर्ष पूरा गरेका अभिनेता शाहरुखले अब आफ्नो छवि बदल्ने तयारीमा छन् । रोमान्टिक र सोसल ड्रामामा आधारित फिल्ममा देखिँदै आइरहेका शाहरुखले अब थ्रिलर र एक्सन जनरामा आफूलाई प्रयोग गर्दैछन् । किनकी उनले सुन्ने स्क्रिप्ट र भेट्ने निर्देशकहरूनै सोही शैलीमा फिल्म बनाउन माहिर छन् ।

उनले आफ्नो डनको नयाँ सिरिजमा काम गर्ने  मनसाय समेत बनाएका छन् । डनको तेस्रो सिरिजमा निर्देशक फरहान अख्तरले शाहरुखसँगै अमिताभ बच्चनलाई पनि कास्ट गर्दैछन् । फिल्म थ्रिलर, एक्सन र सस्पेन्सले भरिपूर्ण हुनेछ । शाहरुखले केही वर्ष यता एक्सन फिल्म नगर्ने मनसाय बनाएका थिए । तर, अब उनी ब्याक टु ब्याक फिल्म गरिरहेका छन् । आउँदो वर्ष मात्र शाहरुखको तीन फिल्म रिलिज हुनेछ ।