तस्वीर- द वेस्टर्न अस्ट्रेलियन

अन्तर्राष्ट्रिय

सवारी दुर्घटनामा परी इजिप्टमा २२ जनाको मृत्यु

By खबरहब

July 19, 2022

काठमाडौँ- सवारी दुर्घटनामा परी इजिप्टमा मङ्गलबार कम्तीमा २२ जनाको मृत्यु भएको छ । घटनामा अन्य ३३ जना घाइते समेत भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । देशको दक्षिणी क्षेत्रमा पर्ने मिन्या प्रान्तमा घटना भएको जनाइएको छ ।

“राजधानी कायरो तर्फ आइरहेको बस दुर्घटनामा परी उनीहरूको मृत्यु भएको हो,” गभर्नर ओसामा अल क्वाडीले भने ।

दुर्घटनामा परेको बस देशको दक्षिणी प्रान्त सोहाङबाट हिडेको थियो । सडकमा रोकेर राखिएको ट्रकमा ठोक्किएर दुर्घटना भएको जनाइएको छ ।

घाइतेहरूलाई एम्बुलेन्समा राखेर स्थानीय अस्पतालमा लागिएको छ । उनीहरूको अस्पतालमा उपचार भइरहेको छ ।

घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको र अधिकांशको अवस्था समान्य रहेको चिकित्सकहरूले जनाएका छन् । इजिप्टमा यस्ता दुर्घटना बेला बेलामा भइरहने गरेका छन् ।

सडक तथा यातायातका साधनको बिग्रिएको अवस्था, चालकको लापरवाही लगायतका कारणले बढी दुर्घटना हुने गरेको हो ।