विवेकशील साझा पार्टीको अध्यक्ष पदबाट रवीन्द्र मिश्रले राजीनामा दिएपछि रिक्त रहेको अध्यक्ष पदमा समीक्षा बास्कोटा चयन भएकी छिन् । योसँगै विवेकशील साझा पार्टीको अबको बाटो कस्तो हुनेछ भन्नेमा पनि धेरैलाई चासो रहेको छ । आगामी निर्वाचनमा विवेकशील साझा पार्टी कसरी अगाडि बढ्छ, एजेन्डाहरु के के छन् लगायतका विषयमा विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटासँग खबरहबका लागि चन्द्रकान्त न्यौपानेले गरेको कुराकानीको अंशः
मङ्सिर ४ गते चुनावको मिति घोषणा भएपछि सबै राजनीतिक दलहरूलाई चुनाव लागेको छ, तपाईँहरूको दलको के छ ?
हामीलाई पनि चुनाव लागेको छ किनभने हामीले दल दर्ता गर्नुपर्ने एउटा प्रक्रिया भर्खरै पूरा गरेका छौँ ।
दल दर्ता निर्वाचन आयोगमा गरेपछि मात्र हुने हो कि उम्मेदवारको छिनोफानो कसरी गर्दै हुनुहुन्छ ?
दल दर्ता निर्वाचन आयोगको सामान्य प्रक्रिया हो । विवेकशील साझा पार्टीभित्र विगतदेखि विभिन्न प्रतिरोधहरू थियो । त्यसलाई अन्त्य गर्दै केन्द्रीय कमिटीको बैठक बस्दै अगाडि बढ्ने महत्त्वपूर्ण कुरा हो र अब हामी सबै मिलेर तराजु चिन्ह लिएर जानुपर्छ भन्नेमा सबैको एकमत छ । कहाँ कस्ता कस्ता उम्मेदवार उठाउने भनेर छलफल गर्नुपर्छ । हामीले उठाएका उम्मेदवाररू अरूभन्दा कम हुने तर अब्बल हुने सबै जनाले थाहा पाउनुभएको छ ।
पहिला वैकल्पिक शक्ति भनिने पार्टी अहिले स्थानीय तहको चुनावमा पनि खस्किनुभयो, आगामी चुनावसम्म पार्टीलाई अगाडि लैजान कस्ता चुनौतीहरू देख्नुभएको छ ?
चुनौतीहरू धेरै छन् किनभने त्यहाँ विचारका विमतिहरू छन् । ध्रुवीकरणका कुराहरू छन् यो ५ वर्षको वैकल्पिक राजनीतिले सबै कुरा सिकायो । एकै पटक हामी माथि पुग्यौँ र एकै पटक सानो भयौँ । अब त्यसलाई माथि लैजानु पर्दछ सबै चुनौतीलाई सहजै समाधान गर्न सक्ने विश्वासका साथ हामी अगाडि बढेका छौँ ।
हिजोको नै शक्ति छ भन्ने तपाईँहरूमा छ तर आम जनताले यो पार्टी अब हरायो भन्नु हुन्छ नि ?
जनताले हामीलाई अझै पनि राम्रा योजना अगाडि सारेर आउनुभयो भने हामीले भोट दिन्छौँ भन्नुभएको छ । हिजो गरेका कामका आधारमा जनताले हामीबाट धेरै आशा गर्नुभएको छ । पार्टी यस्तो खस्केको अवस्थामा पनि उहाँहरूबाट जुन मतदाताले हालेको मतका आधारमा हामी फेरि उठ्ने हौसला मिलेको छ ।
अहिले गठबन्धनको कुराहरू धेरै उठेका छन् सबै पार्टीहरू आफ्नो विचार मिल्ने शक्तिसँग मिल्नुपर्छ भनेर लागेका छन् । तपाईँहरू पनि एक्लै अगाडि जानुहुन्छ कि विचार मिल्नेसँग एकता गरेर बढ्नुहुन्छ ?
हामी विभिन्न चरणमा बैठक बसेका छौँ । हामी एक्लैभन्दा पनि भर्खरै आएका पार्टीहरू स्वतन्त्रहरूसँग सहकार्य गरेर अगाडि जाने प्रक्रियामा छौँ । २०७४ सालमा विवेकशील साझाले रोपेको बिउका कारण स्वतन्त्रप्रति लहर आएको छ । हामी त्यसमा खुसी छौँ । यो सबैलाई समेटेर भ्रष्ट्राचार, बेथितिका विरुद्ध हामी कसरी उभिने भनेर खुला छलफल गर्नेछौँ ।
केन्द्रीय संयोजक मिलन पाण्डेले एक पटक एकीकृत समाजवादीसँग एकता गर्ने भनेर भन्नु भयो रे, पछि यो हरायो अहिले के छ यो एकताको विषय ?
एकीकृत समाजवादीसँग एकताको विषय मलाई थाहा छैन र मिलन जी गए पनि उहाँले जे जति प्रयास गर्नुभयो त्यो उहाँको व्यक्तिगत प्रयास हो । उहाँको अहिले हालको स्थितिमा विवेकशील साझामा कुनै भूमिका छैन । उहाँको लक्ष्यहरू र मुद्दाहरूका आधारमा पछि सहकार्य गर्न सक्छौँ । उज्ज्वल थापाको देहान्तपछि यो विवेकशीलको असली को हो भन्ने किसिमले उहाँहरू भित्र पनि द्वन्द्व छ । अहिले हाम्रो पार्टीमा पनि असली हामी हो भन्ने धेरै हुनुहोला । त्यसलाई हामीले दल एकीकरण गरेर ल्याएको हो र को असली हो हैन भन्ने छैन यो साझा हो ।
विवेकशील साझाले राजा मान्छ कि मान्दैन र चुनावमा जाँदा मुख्य एजेन्डा कुन हुन्छ ?
विवेकशील साझाले संघीयता खारेज गरेर अन्य मुद्धाहरु उठाएर केन्द्रीय समितिले पास गरेको थियो राजाको कुरामा यो हामी मान्दैनौँ । राजाको एजेन्डा हामी उठाउँदैनौँ । यो निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रले अध्यक्षबाट राजीनामा दिएपछि ल्याएको व्यक्तिगत विचार हो । अहिले उहाँ पार्टीमा सामान्य सदस्य रहनुभएको छ । हामीले उहाँलाई सम्मान गर्छौँ ।
तपाईँहरूले ‘विचारभन्दा माथि देश’ भनेर रवीन्द्र मिश्रको लाइनलाई फलो गर्नुभएन भने उनी केही समूह लिएर राजेन्द्र लिङ्देलसँग जान्छन् भन्ने कुरा आएको छ यसले तपाईँहरू कमजोर हुने स्थिति आएको हो ?
जो कोही व्यक्तिले आफ्नो विचार गर्न पाउँछ । तर हामीलाई त्यस्ता धेरै चुनौतीहरू छन् तीलाई हामी चिर्न सक्छौँ भनेर अगाडि बढ्छौँ । उहाँको व्यक्तिगत धारणामा उच्च सम्मान छ । तर विवेकशील साझामा राजको मुद्धाहरु लिएर अगाडि जाँदैन ।
हामीले लिएको ‘विचारभन्दा माथि देश’ दुई तिहाइ बहुमतले पारित ग¥यौँ । त्यसमा प्रदेश संरचना खारेजी र स्थानीय संरचनाको सुदृढीकरण भनिएको छ र धर्मको सवालमा जनमत सङ्ग्रह भनेर तत्कालीन केन्द्रीयले पास गरेको डकुमेन्ट हो । त्यो महाधिवेशनमा गएर छलफल हुन्छ । कोही व्यक्ति उहाँको विचार मन परेर जानुहुन्छ भने केही छैन । हैन, यो सही हो भनेर यही बस्नुहुन्छ । त्यो सबैको स्वतन्त्रता हो । भोलिको दिनमा आउने चुनौतीहरूको आंकलन गरेर आजको भोलिको लागि नै निर्णय गर्न सकिँदैन । हामीले राम्रो काम गरेर जनताको माझमा जाने कुरा महत्त्वपूर्ण छ किनभने नागरिकले हामीले गर्ने काम नियाल्नुभएको छ । त्यसैले उहाँहरूलाई हामीले निराश बनाउनु हुँदैन ।
कानुन र संघीयता मान्नुहुन्छ कि हुँदैन ?
हामीले नेपालमा भएपछि ऐन कानुन मान्दिनँ भन्न पाइँदैन मान्नुपर्छ तर पार्टीले बोक्ने विचार फरक हुन सक्छ । जस्तो हामी संघीयता मान्छौँ भन्दा संघीयतामा प्रदेश खारेजी र स्थानीय तहको पुनः संरचना भनेका छौँ ।
तपाईँहरूलाई संघीयता मन परेको छैन भने त स्थानीय तहलाई अधिकार सम्पन्न गरौँ र केन्द्रबाट महत्त्वपूर्ण काम गरौँ भन्नुपर्यो नि ?
हामीले भनेको प्रदेश सरकार पेन्डुलम छ । काम कर्तव्य र अधिकार केन्द्र सरकारलाई छ र कि त स्थानीय सरकारलाई छ । बीचको प्रदेश सरकारको काम छैन र त्यो सरकार राखेर हामीलाई आर्थिक भार थपेको छ । नागरिकहरूले स्थानीय तहलाई सुदृढीकरण गर्नुपर्छ भनेको छ तर प्रदेश सरकालाई धेरै प्रश्न उठेको छ । यो बढी खर्चिलो भयो व्यक्तिगत प्रयोजनका लागि प्रयोग भयो भनिएको छ । यस्तो कुरा हामीले उठाएका छौँ ।
यस पटकको चुनावमा तपाईँहरूको एजेन्डा के हो ?
हामी सामूहिक छलफलबाट हामी सार्वजनिक गर्छौँ । अहिले यो प्रदेश सरकार खारेजी र शिक्षा, स्वास्थ्य राज्यको दायित्व हुनुपर्यो ।
रवीन्द्र मिश्रलाई सबै जनाले पार्टीको कानुन विपरीत काम गरेर विधान र संरचनालाई ध्वस्त बनाएको आरोप लगाउँदा तपाईँले पनि यो आरोप लगाउनुहुन्छ कि अझै मिल्छौँ भन्नुहुन्छ ?
उहाँले विचार ल्याउँदा म केन्द्रीय कमिटीमा विचार राख्छु र अल्पमतमा परे भने पनि स्विकार्छु भन्नुभएको थियो । त्यसैले आरोप लगाउनु हुँदैन । उहाँले केन्द्रीय समितिबाट र साथीभाइबाट छलफल गरे नै गर्नुभएको हो ।(प्रस्तुति: पुष्पाञ्जली बस्नेत)