तस्वीर- द पन्च नाइजेरिया

अन्तर्राष्ट्रिय

नाइजेरियाको राजधानीमा ३ सवारी साधन आपसमा ठोक्किए, १९ जनाको मृत्यु

By खबरहब

September 19, 2022

काठमाडौँ- अफ्रिकी मुलुक नाइजेरियामा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि १९ जनाको ज्यान गएको छ । स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार नाइजेरियाको राजधानी अबुजाको सडकमा तीन सवारी ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर १९ जनाको ज्यान गएको र अरु सात जना नराम्ररी घाइते भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

राजधानी अबुजाको यान्जी ग्वाग्वालादा सडकमा सो दुर्घटना भएको हो । सडक विभागका एक अधिकारीले उक्त सडकमा बस र ट्रक एक आपसमा जुध्दा सो दुर्घटना भएको जानकारी दिएका छन् ।

सडकमा तीन ओटा सवारी साधन एक आपसमा जुधेका र यसका कारण यति धेरै मानवीय क्षति भएको अधिकारीहरुले जनाएका छन् ।

सो सडकमा तीन ओटा सवारी साधन के कसरी आपसमा जुध्न पुगेका थिए भन्ने बारेमा अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।

नाइजेरियामा सडक सुरक्षाको बेवास्ता, बेपर्वाहसँग सवारी हाँक्ने, सडकको अवस्था पनि कमजोर रहेको र त्यहाँका सवारी साधनहरुले क्षमताभन्दा बढी मात्रामा भारी बोक्ने गरेकाले समय समयमा सडक दुर्घटना हुने गरेको अधिकारीहरुले जनाएका छन् ।