अन्तर्राष्ट्रिय

विश्व कम्युनिष्ट राजनीतिमा चिनियाँ नेतृत्वको निरन्तरता

By हिमाल कोइराला

October 19, 2022

काठमाडौँ – विश्व राजनीतिमा बलियो पाइला राखिरहेको चिनियाँ कम्युनिष्ट पार्टी फेरि एकपटक आफ्नो नेतृत्वमाथि विश्वास जमाउँदैछ । २० औँ महाधिवेशन राजधानी बेइजिङमा सुरु हुँदा पार्टीका प्रमुख अथवा महासचिव सी जिनपिङको निरन्तरतामाथि औपचारिकताका लागि बहस हुनेछ ।

त्यसबाहेक उनको निरन्तरताले नै विश्वमा चिनियाँ शक्ति अझै धेरै शक्तिशाली हुने अपेक्षा फलदायी हुनेछ । यो महाधिवेशनले राष्ट्रपति सी जिनपिङको कार्यकाल ५ वर्षका लागि थप गर्ने मुल उद्धेश्य राखेको छ । किनकी अहिलेका लागि सीबाहेक अर्को विकल्प चीन मात्रै होइन, विश्व कम्युनिष्ट राजनीतिमै देखिदैन । खासगरि युक्रेनसँगको युद्धमा रुसका राष्ट्रपति पुटिन असफल साबित भइसकेका छन् ।

दश वर्षअघि राष्ट्रपति चयन हुनुअघिसम्म सी चिनियाँ कम्युनिष्ट पार्टीमा ऐतिहासिक तेस्रो कार्यकाल सम्हाल्नेगरी दरिलो रुपमा स्थापित होलान् भनेर सायदै कसैले कल्पना गरेको थियो ।

कुनै समय मुलुकको उप प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका एवम् चिनियाँ क्रान्तिका नेता माओत्सेतुङका साझेदार मानिने सी झोङसुनका छोरा सीलाई बाबुको विरासत सम्हाल्ने ‘राजकुमार’को शैलीमा हेरेका थिए ।

हुन पनि प्रारम्भिक चरणमा आफ्ना बाबुको विरासतका कारण उनलाई पार्टीका पाका नेताहरुको साथ रहेको थियो । यी पाका नेताहरुले पार्टीबाट अवकाश लिएपनि आन्तरिक राजनीतिमा प्रभावशाली नै मानिन्छन् ।

राष्ट्रपति सी आफ्ना पूर्ववर्ती हु जिन्ताओभन्दा भाग्यमानी मानिन्छन् । किनभने उनलाई सैन्य आयोगका अध्यक्ष बन्न कुनै समय नै लागेन । उनले जनमुक्ति सेनाको नेतृत्व हासिल गर्न पार्टीभित्र कुनै राजनीति गर्नु परेन ।

‘उनको बढोत्तरीअघि सबैलाई चित्त बुझाउन सक्ने नेताको रुपमा सी जिन्पिङलाई हेरिएको थियो’ बोस्टन विश्वविद्यालयमा चिनियाँ राजनीतिका विद्वान जोसेफ फ्युस्मिथ भन्छन् ।

तर १० वर्षपछि पार्टीभित्र उनको पकड बेजोड र निर्विवादित बन्न पुगेको छ । यो कसरी सम्भव भयो ? माओले कुनै समय भनेका थिए, ‘राजनीतिक शक्ति बन्दुकको नालबाट मात्र सम्भव छ ।’

चीनमा माओले सन् १९४९ मा जनगणतन्त्रको घोषणा गरेसँगै मुलुकको जनमुक्ति सेनाको नियन्त्रण राज्य नभई पार्टीमा निहीत रहने व्यवस्था गरेका थिए । त्यसयता कम्युनिष्ट पार्टीका नेता मुलुकको केन्द्रीय सैनिक आयोगको अध्यक्ष समेत रहँदै आएका छन् ।

राष्ट्रपति सी आफ्ना पूर्ववर्ती हु जिन्ताओभन्दा भाग्यमानी मानिन्छन् । किनभने उनलाई सैन्य आयोगका अध्यक्ष बन्न कुनै समय नै लागेन । उनले जनमुक्ति सेनाको नेतृत्व हासिल गर्न पार्टीभित्र कुनै राजनीति गर्नु परेन ।

सन् २०१४ र २०१५ मा सैन्य आयोगका पूर्व उपाध्यक्ष सु काइहोइ र जनमुक्ति सेनाका पूर्व जनरल गुओ बोसिओङमाथि भ्रष्टाचारको आरोप लागेपछि घटनाक्रमले थप नाटकीय मोड लियो ।

‘बन्चरो प्रहार हुनेबेला नै उनीहरु निवृत्त भइसकेका थिए, तर उनीहरुलाई निशाना बनाउने सीको क्षमताले सेनामा पूर्व चिनियाँ नेता जियाङ जेमिनको बचेखुचेको प्रभाव पनि कटौति गरिदियो’ पेन्टागनद्वारा सञ्चालित राष्ट्रिय सुरक्षा विश्वविद्यालयका सिनियर फेलो जोयल वुथ्नो भन्छन्, ‘यसले सेनामा सेवारत अधिकारीलाई सीको नियन्त्रण नचाहने जोकोही पनि बच्न सक्दैन भन्ने कडा सन्देश दिएको थियो ।’

‘पार्टीप्रति वफादारिताको अर्थ जनमुक्ति सेनाले पार्टी र खासगरी सीलाई शक्तिमा रहन कुनैपनि र जुनसुकै आदेश पालना गर्छन् भन्ने अपेक्षा हो ।’

सन् २०१५ मा सीले सैनिक संरचनामा फेरबदल गरेका थिए । उनले कर्मचारी, राजनीति, बन्दोबस्ती र हातहतियार गरी सेनाका चार मुख्यालयहरु खारेज गरिदिएका थिए । यसको स्थानमा उनले १५ वटा नयाँ स–साना एजेन्सीहरु खडा गरेका थिए ।

नयाँ सैन्य संरचनाका माध्यमबाट सैन्य आयोगले नै सेनाका विभिन्न शाखाहरुलाई प्रत्यक्ष निर्देशन दिने व्यवस्था मिलाइएको थियो । वित्तीय लेखा समेत सोझै सैन्य आयोगमा बुझाउनुपर्ने व्यवस्था गरिएको वुथ्नो बताउँछन् ।

यसमाथि पनि सेनालाई सीप्रति पूर्ण वफादार रहनुपर्नेमा जोड दिइएको थियो । गत महिना जनमुक्ति सेनाको अखबारले सैन्य आयोग नै सर्वोपरी सैन्य कमाण्डको नेतृत्वमा रहेकोमा जोड दिइएको आलेख प्रकाशन गरेको थियो ।

भविष्यमा सैनिकहरु सीलाई चुनौति दिनसक्ने वरिष्ठ सैनिक अधिकारीप्रति वफादार नहोउन् भन्नका लागि सन्देश जारी गरिएको हो’ अमेरिकी थिङ्कट्याङ्क राण्ड कर्पोरेसनका वरिष्ठ अन्तर्राष्ट्रिय रक्षा अनुसन्धानकर्ता टिमोथी हिथ भन्छन्, ‘पार्टीप्रति वफादारिताको अर्थ जनमुक्ति सेनाले पार्टी र खासगरी सीलाई शक्तिमा रहन कुनैपनि र जुनसुकै आदेश पालना गर्छन् भन्ने अपेक्षा हो ।’

बन्दुकको नालमा आफ्नो प्रभाव स्थापित गरिसकेपछि उनको अर्को कदम छुरा – आन्तरिक सुरक्षा संरचनालाई आफ्नो नियन्त्रणमा ल्याउनु थियो ।

सी सत्तामा आएपछि अधिकारीहरुले ‘बाघ’ भनिने पूर्व आन्तरिक सुरक्षा प्रमुख झाउ योङकाङलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको पुष्टि गरे । उनी सीका प्रतिद्वन्द्वी बो सिलाईका निकटस्थ मानिन्थे ।

उनले बेइजिङ, साङघाई, चोङचिङजस्ता महत्वपूर्ण सहरका पार्टी सचिवजस्ता क्षेत्रीय पदहरुमा पनि आफ्ना विश्वासपात्रलाई ठाउँ दिएका छन् ।

सर्वशक्तिमान् राजनीतिक अङ्ग मानिने पोलिटब्युरो स्थायी समितिका सदस्यलाई कुनै पनि आपराधिक सजाय नदिइने अलिखित नियमको ठाडो उल्लङ्घनको रुपमा हेरिएको उक्त घटनाले राजनीतिक वृत्तमा नै तरंग ल्याइदिएको थियो ।

‘धैर्यतापूर्वक पार्टी प्रणालीमा अघि बढेर सत्ताको मौका छोप्ने सी प्रभावशाली राजनीतिज्ञ भएर निस्के’ युरेशिया ग्रुपका वरिष्ठ चीन विश्लेषक निल थोमस भन्छन्, ‘सीको उदयमा समर्थन गर्ने पार्टीका पाका नेताहरु सत्तामाथि उनको पकडको गति र स्तर देखेर छक्क परेका थिए होलान् ।’

जानकारहरु सीको भ्रष्टाचारविरोधी अभियानबाट पनि उनलाई राजनीतिक रुपमा फाइदा पुगेको विश्लेषण गर्छन् । पछिल्लो दशकमा ४७ लाख भन्दा धेरै मानिसहरु भ्रष्टाचारविरोधी अभियानअन्तर्गत अनुसन्धानको घेरामा तानिएको बताइन्छ । यसको माध्यमबाट उनले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरु र पार्टीभित्रका अन्य गुटहरुको सफाया गर्ने गरेको बताइन्छ ।

‘पछिल्लो दुई वर्षमा सीले आफूलाई सुरुमा सहयोग गर्ने सुरक्षा अधिकारीहरुको पनि सफाया गरेका छन्’ युनिभर्सिर्टी अफ क्यालिफोर्निया सान डिएगोका राजनीतिशास्त्री भिक्टोर सिह भन्छन्, ‘अहिले सुरक्षा निकायहरु प्रायः सीका निकटस्थ र उनका विश्वासपात्रहरुले चलाइरहेका छन् ।’

उनले बेइजिङ, साङघाई, चोङचिङजस्ता महत्वपूर्ण सहरका पार्टी सचिवजस्ता क्षेत्रीय पदहरुमा पनि आफ्ना विश्वासपात्रलाई ठाउँ दिएका छन् ।

दशौँ लाख मानिसहरुको बसोबास रहेको क्षेत्रमा पार्टीका केन्द्रीय निर्देशनहरुको व्याख्या गर्ने र लागू गर्ने जिम्मेवारी रहेका कारण यी पदहरु अत्यन्त महत्वपूर्ण मानिन्छन् ।

३१ मध्ये कम्तीमा पनि २४ प्रान्तीय स्तरमा पार्टी सचिवहरु सीका राजनीतिक सहकर्मी, उनको परिवारलाई चिनेका, उनीसँग अध्ययन गरेका, उनको मातहतमा काम गरेका वा उनको निकटस्थसँग काम गरेका मानिसहरु रहेको युरेशिया ग्रुपका वरिष्ठ चीन विश्लेषक थोमस बताउँछन् ।

‘सी जिन्पिङ विचारधारा अरु भन्दा पनि पार्टी र मुलुकभित्र सीको आफ्नै शक्ति र औचित्यलाई अझ सुदृढ गर्ने प्रयास हो’

क्यानाडाको भिक्टोरिया विश्वविद्यालयका राजनीतिक प्राध्यापक वु गुवोगुवाङको तथ्याङ्कअनुसार पार्टीको स्थायी समितिका २८१ जना सदस्यमध्ये प्रायः सबै सीले बढुवा गरेका हुन् ।

सन् २०१८ मा चिनियाँ संविधानमा ‘नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादमा सी जिनपिङ विचारधारा’ उल्लेख गरिएको थियो । आफ्नो नाममा राजनीतिक विचारधारा संविधान मै उल्लेख गरिएको घटनाले उनको विरासतमा थप आयाम थपिएको थियो ।

सीअघि अध्यक्ष माओले मात्र यस्तो अवसर पाएका थिए । चीनको आधुनिकीकरणको जग बसालेका देङ स्याओपिङको नामको पछाडि समेत ‘राजनीतिक विचारधारा’ झुण्ड्याइएको थिएन । उनको नामको पछाडि केबल ‘राजनीतिक सिद्धान्त’ को ट्याग लगाइएको थियो ।

सीका पूर्ववर्तीहरु जियाङ जेमिन र हु जिन्ताओको नामको पछाडि कुनै विचारधारा वा सिद्धान्त राखिएको थिएन । सी जिन्पिङ विचारधाराको अर्थ के हो भन्ने विभिन्न अर्थ लाग्न सक्छन् तर एउटा कुरा भने सत्य हो यसको अर्थ सी शक्तिशाली नेता हुन् भन्ने हो ।

‘सी जिन्पिङ विचारधारा अरु भन्दा पनि पार्टी र मुलुकभित्र सीको आफ्नै शक्ति र औचित्यलाई अझ सुदृढ गर्ने प्रयास हो’ हङकङ बाप्टिस्ट विश्विद्यालयका राजनीतिशास्त्रका प्राध्यापक जेँ पिएर काबेस्ताँ भन्छन् ।

पेकिङ विश्वविद्यालय, सिङ्गुवा विश्वविद्यालयजस्ता विश्वविद्यालय र संस्थानहरुले सीको नाममा अनुसन्धान केन्द्रहरुको स्थापना गरेका छन् । अगष्ट महिनामा शिक्षा मन्त्रालयले सी जिन्पिङ विचारधारालाई राष्ट्रिय पाठ्यक्रममा समावेश गर्ने योजना अघि सारेको थियो ।

सन् २०१९ मा ‘सुएसी चियाङ्गगुओ’ अर्थात् सीबाट सिकौँ, देशलाई मजबुत बनाऔँ’ भन्ने मोबाइल एप सार्वजनिक गरेको थियो । यो एपमा सी जिन्पिङ विचारधाराबारे प्रश्नहरुको संगालो समेटिएको थियो ।

‘आफ्नो विचारधारा सही रहेको र सबैले यसलाई स्वीकार गर्नुपर्ने सीको विश्वास छ’ कोलम्बिया विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक एन्ड्रियू नाथन भन्छन्, ‘जब माओले कुनै नीतिगत अडान लिन्थे, सबैले त्यसको पालना गर्नुपथ्र्यो र सीका सन्दर्भमा पनि त्यही नै सत्य हो ।’

(ग्रेस त्सोई र सिल्भिया चाङको रिपोर्ट बीबीसीबाट)