फाइल फोटो

राजनीति

अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका हौँ : नारायणकाजी श्रेष्ठ

By खबरहब

October 19, 2022

काठमाडौँ – नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एमसीसी पारित हुनुअघि आफूहरूले एमाले अध्यक्ष केपी ओलीलाई भेटेर प्रधानमन्त्रीको प्रस्ताव गरेको बताएका छन् ।

बुधबार माओवादी सम्पर्क समन्वय समितिको प्रशिक्षण कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै श्रेष्ठले एमसीसी फेल गराउने सर्तमा ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेको बताएका हुन् । नेता श्रेष्ठले उक्त बैठकमा एमालेबाट ओलीसहित ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङलगायतका नेताहरु सहभागी भएको बताए । यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल र आफूसहितका केही नेताहरू सहभागी भएको उनले बताए ।

माओवादी एमसीसी फेल गर्ने पक्षमा भएपनि ओलीले विफल पार्न साथ नदिँदा व्याख्यात्मक टिप्पणीसहित पारित गरेको श्रेष्ठले बताए । आगामी चुनावमा पनि कम्युनिष्ट एकताका लागि आफूहरूले पहल गरेको भए पनि एमाले अध्यक्ष ओलीका कारण त्यो सफल नभएको उल्लेख गरे । 

त्यस्तै गठबन्धन दलभित्रको चुनावी तालमेल आफूहरूको इच्छा नभएर बाध्यात्मक परिस्थितिको उपज भएको बताए । उनले अहिलेको गठबन्धन संविधानको रक्षाका लागि बाध्यात्मक रुपमा बनाएको दाबी गरे । मुलुकको एजेन्डा र बिचारको हिसाबले  माओवादीभन्दा अर्को कुनै शक्ति नभएको श्रेष्ठले जिकिर गरे ।

त्यस्तै नेता श्रेष्ठले पार्टी अध्यक्ष प्रचण्ड चितवनमा चुनाव हार्ने डरले गोर्खा आएको कुरा सत्य नभएको बताए । उनले अन्तिम समयमा प्रचण्डले गोरखाबाट चुनाव लड्ने निर्णय लिनुको कारण जनयुद्धको लिगेसीसँग जोडिएको बताए । जनयुद्ध सुरु गर्ने बेला केन्द्रीय कमिटीको तयारी बैठक गोरखामा भएको र जनयुद्ध सुरुवातको आवश्यक फौजी तयारी पनि त्यहीँ गरिएकाले प्रचण्डले गोर्खा रोजेको उल्लेख गरे ।