तस्वीर- अबर न्युज

अन्तर्राष्ट्रिय

साउदी अरबका विश्वविद्यालयमा पनि योग

By खबरहब

October 19, 2022

काठमाडौँ– साउदी अरबको योग समितिले मुलुकका विश्वविद्यालयहरुमा योगलाई प्रोत्साहन गर्ने भएको छ ।

हालै साउदी योग समितिले एक भर्चुअल कार्यक्रमको आयोजना गर्दै साउदी अधिराज्यका विश्वविद्यालयहरुमा योगलाई प्रोत्साहन गर्ने विषयमा छलफल गरेको साउदी गजेट अखबारले जनाएको छ । ‘दुबै लिङ्गका विश्वविद्यालय विद्यार्थीका लागि योग’ शीर्षकमा उक्त भर्चुअल कार्यक्रमको आयोजना गरिएको हो ।

साउदी विश्विद्यालय खेलकुद महासंघको सहकार्यमा विश्वविद्यालयमा योगको प्रवर्द्धन एवम् प्रोत्साहन गरिने जनाइएको छ ।

यससँगै आगामी दिनहरुमा साउदी विश्वविद्यालयमा योगसँग सम्बन्धित अभ्यास एवम् अन्य कार्यक्रमहरुको आयोजना गरिने जनाइएको छ । यसका लागि योग रेफ्रीहरुलाई तालिमको पनि व्यवस्था गरिने साउदी गजेटले उल्लेख गरेको छ ।

साउदी अरबको खेलकुद मन्त्रालय र साउदी योग समितिको सहकार्यमा रेफ्रीहरुका लागि तालिमको आयोजना गरिनेछ ।

युवाहरुको शारीरिक एवम् मानसिक स्वास्थ्यलाई मजबुत बनाउनका लागि साउदी अरबमा ठूलो स्तरमा योगको प्रवद्र्धन गर्ने उद्देश्य राखिएको साउदी योग समितिकी अध्यक्ष नउफ अलमर्वाईले बताइन् ।