सांकेतिक तस्वीर

समाचार

तनहुँमा ८२३ जनामा डेङ्गु सङ्क्रमण

By खबरहब

November 19, 2022

तनहुँ – जिल्लामा असोज र कात्तिक महिनामा आठ सय २३ जनामा डेङ्गु सङ्क्रमण भएको पुष्टि भएको छ।

डेङ्गु सङ्क्रमण बढेसँगै निको हुनेको सङ्ख्या पनि बढ्दै गएका कारण अस्पतालमा भीड कम हुन थालेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए। धेरैजसो डेङ्गु पोजेटिभका बिरामी आफ्नै घरमा बसेर आराम गरिरहेकाले पनि अस्पतालमा हुने भीडमा कमी आएको उनले बताए।

जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत ४० भन्दा बढी प्रहरीहरुमा पनि डेङ्गु सङ्क्रमण भएको छ। कार्यालयमा प्रहरी जवानदेखि प्रहरी नायव निरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव उपरीक्षकसम्मका व्यक्तिलाई डेङ्गु सङ्क्रमण भएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए।

“मलाई पनि डेङ्गु सङ्क्रमण भयो, शरीर निकै दुख्ने रहेछ, सङ्क्रमण भएप्छि १० दिन सुत्नुपर्‍यो तर अहिले निको भएको छ”, उनले भने। अस्पतालमा दैनिक दुई सयको हाराहारीमा स्वास्थ्य परीक्षणका लागि मानिस आउने गरेको दमौली अस्पतालले जनाएको छ।

डेङ्गुका बिरामीलाई प्रशस्त मात्रमा पानी पिउने र आराम गर्नसुझाव सल्लाह दिइएको अस्पतालका निमित्त प्रमुख डा दिवस ढकालले बताए। अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये दैनिक आठ-दश जनामा डेङ्गु पोजेटिभ देखिने गरेको डा ढकालले जानकारी दिए।