राजनीति

संसदीय दलमा उम्मेदवारी टुंग्याउन बसेको कांग्रेस संस्थापन इतरको बैठक निष्कर्षविहीन

By खबरहब

December 19, 2022

काठमाडौँ- संसदीय दलको नेतामा उम्मेदवारी टुंगो लगाउन बसेको नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक निष्कर्षविहीन भएको छ ।

होटल एम्बेस्डरमा सोमबार दिउँसो बसेको बैठकमा संसदीय दलमा समूहको साझा उम्मेदवार टुंग्याउने विषयमा निर्णय हुने नसकेको हो ।

यसअनुसार समूहबाट महामन्त्री गगन थापा र डा. शेखर कोइरालामध्ये कसले संसदीय दलको नेतामा उम्मेदवारी दिने भन्ने अझै स्पष्ट भइसकेको छैन ।

संस्थापनतर्फबाट भने प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको उम्मेदवारी लगभग निश्चित भइसकेको बताइन्छ । संसदीय दलको नेता चयन गर्न कांग्रेसमा बुधबार निर्वाचन हुने कार्यक्रम छ ।