तस्वीर– स्काइ न्यूज

अन्तर्राष्ट्रिय

तालिबानको शासनमा सार्वजनिक मृत्युदण्डको व्यवस्था सुरु

By खबरहब

December 19, 2022

काठमाडौँ- तालिबानले अफगानिस्तानमा सार्वजनिक मृत्युदण्डको व्यवस्था सुरु गरेको छ । गत वर्षको अगष्ट महिनायता अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले मुलुकको फराह प्रान्तमा एक जना पुरुषलाई सार्वजनिक मृत्युदण्ड दिएको हो ।

तालिबानले हत्या आरोपित एक जना पुरुषलाई मृत्युदण्ड दिएकोबारे तालिबानका प्रवक्ता जबिहउल्लाह मुजाहिदले पनि पुष्टि गरेको अमेरिकी प्रसारक भ्वाइस अफ अमेरिका भीओएले जनाएको छ ।

फराह प्रान्तको पश्चिमी क्षेत्रमा ती पुरुषलाई रंगशालामा लगेर मृत्युदण्ड दिइएको जनाइएको छ । उनको मृत्युदण्ड हेर्न सयौँ मानिसहरुको उपस्थिती रहेको मुजाहिदलाई उद्धृत गर्दै भीओएले जनाएको छ ।

मृत्युदण्ड पाएका व्यक्ति तालिबानको अदालतमा दोषी ठहर भएको जनाइएको छ । ती व्यक्तिले छुरा प्रहार गरी हत्या गरेको र हत्या गरिएका व्यक्तिको मोटरसाइकल र अन्य सम्पत्ति लुटेको स्वीकार गरेको मुजाहिदले जनाएका छन् ।

उनलाई हत्या गरिएका व्यक्तिका बाबुले गोली प्रहार गरी मृत्युदण्ड दिइएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।