अपराध

पुरातात्विक महत्वका सामग्री चोरीको आरोपमा २ जना पक्राउ

By खबरहब

January 20, 2022

काठमाडौँ– पुरातात्विक महत्वका सामग्रीहरु चोरी गरेको अभियोगमा २ जनालाई काठमाडौँ महानगरपालिका २६ केशरमहलबाट बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौँ बसुन्धरा बस्ने दाङ तुल्सिपुर उपमहानगरपालिका ३ ठेगाना भएका १८ वर्षीय किशोर र काठमाडौँ केशरमहल बस्ने रुकुम पश्चिम मुसिकोट नगरपालिका ११ घर भएका ३६ वर्षीय बीर बहादुर सुनार रहेका छन् ।

२०७२ सालको बिनाशकारी भूकम्पले क्षतिग्रस्त भई प्रबलिकरणको कार्य भइरहेको केशरमहलस्थित केशर पुस्तकालयबाट बाघको टाउकोको नम्बर २६, २ थान तरवार चोरी भएको थियो ।

सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका २६ केशरमहलमा बोरामा राखी फालेको अवस्थामा बुधबार दिउँसो फेला पारेको थियो ।

अनुसन्धानको क्रममा उक्त सामग्रीहरु चोरी कार्यमा संलग्नमध्ये उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त दरबारमार्ग काठमाडौँ पठाइएको तथा चोरीमा संलग्न हाल फरार अन्य व्यक्तिहरुको समेत खोजी भइरहेको उक्त महाशाखाले जनाएको छ ।