क्रिकेट

नेपाली क्रिकेटका नयाँ स्टारको संघर्ष कथा

By एसेन्स श्रेष्ठ

February 20, 2022

काठमाडौँ : नेपाली क्रिकेटलाई नयाँ उचाईमा पुर्याउने नाम बन्दै गएको छ, कुशल भुर्तेल । लामो समयदेखि नेपालको ओपनिङ समस्या दिगो समाधानको रुपमा पनि कुशलको नाम अगाडि आएको छ ।

शनिबार आइसीसी विश्वकप छनौटमा फिलिपिन्सविरुद्ध शतक प्रहार गरेपछि कुशल झन् बढी चर्चित छन् । टी–ट्वान्टीमा यो उनको पाँचौ अर्धशतक हो । अनि करियरको पहिलो शतक पनि । उनले शतक बनाएसँगै नेपालका पूर्व कप्तान पारस खड्काको एक मात्रै अन्तर्राष्ट्रिय शतकको कीर्तिमानसँग पनि बराबरी गरेका छन् ।

एक समय त्रिवि क्रिकेट मैदानमा लगातार तीन वटा अर्धशतक हानेपछि कुशल एकाएक चर्चामा आएका थिए । त्यसयता उनको चर्चा लगातार बढ्दो छ । त्यसमाथि आइसीसीकै विश्वकप छनौटमा समेत शतक प्रहार गरेपछि उनको चर्चा अन्तर्राष्ट्रियस्तरमा चलिरहेको छ ।

परीक्षा छाडेर क्रिकेट खेल्‍न जान दिने बुवाको प्रेरणा

रुपन्देहीको बुटवल सहरमा २०५३ माघ ९ गते उनको जन्म भएको थियो । उनले सन् २०११ देखि क्रिकेट खेल्न सुरु गरेका हुन् । छोटो समयमै उनी १६ वर्षमूनिको राट्रिय टोलीमा परेका थिए ।

चार वर्षको मेहनतपछि कुशलको लागि यू–१९ टोलीको ढोका खुल्यो । त्यसपश्चात पाँच वर्षको मेहेनततपछि कुशल राष्ट्रिय टोलीमा समेत पर्न सफल भए । यो अवधिमा कुशलले धेरै उतारचढावको सामना समेत गर्नुपर्‍याे ।

तर, जहाँ धेरै अभिभावक आफ्नो छोराछोरीले खेल क्षेत्रलाई मुख्य पेशा नबनाओस् भन्ने चाहन्छन् । तर कुशलका बुवा भने कुशलको क्रिकेटप्रतिको लगावलाई प्रोत्साहन गर्थे । कक्षा ११ को परीक्षा चलिरहेका बेला कुशललाई बुवाले धनगढीमा नेपाल प्रिमियर लिगमा खेलाउन समेत पठाएका थिए ।

क्षमता र क्रिकेटप्रतिको लगावले कुशललाई नेपाली क्रिकेटमा नयाँ प्रतिभाका रुपमा उदाउन प्रेरित गरेको हो । सुरुमा केही असहज बनेपछि विस्तारै परिवारले कुशलको लगावलाई साथ समर्थन गर्दा उनको सफलताले उचाई लिएको हो ।

सोहि विश्वासमा अडिग रहेका कुशलले सन् २०१६ मा पहिलोपटक आईसीसी यू १९ क्रिकेट विश्वकप खेले । सन् २०१७ मा नेपालले अमेरिकाविरुद्ध खेलेको ५० ओभरको खेलमा पनि कुशल सहभागी थिए । तर सोचेअनुसार सफलता हात लागेन ।

कुशलले सन् २०१९ मा एसियन क्रिकेट काउन्सिल इमर्जिङ कपअन्तर्गत लिस्ट ए मा डेब्यू गरे । तर, ती कुनै पनि खेलमा कुशलको प्रतिभा सोचेअनुसार प्रष्टफूटित भएन ।

डेब्यु खेलबाटै लगातार अर्धशतक

कुशलको क्षमताको अन्तर्राष्ट्रिय उडान सन् २०२१ मा भयो । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्सविरुद्धको टी–ट्वान्टी खेलमै अर्धशतक हाने ।

कप्तान पारस खड्का घाइते भएका कारण कुशलले सो अवसर प्राप्त गरेका थिए । मौकाको सदुपयोग गर्दै कुशलले सो खेलमा केवल ४६ बलमा ५ चौंका र ५ छक्का प्रहार गर्दैँ ६२ रन बनाए । सो प्रदर्शनपश्चात कुशललाई नेपालको विराट कोहलीको उपनामले पनि चर्चा गर्न थालियो ।

त्यसपश्चात दोस्रो खेलमा नटआउट ६१ र तेस्रो खेलमा नटआउट ६२ रन प्रहार गर्दैँ कुशलले आफूलाई प्रमाणित मात्रै गरेनन्, नेपालको नयाँ स्टारको रुपमा उभ्याए पनि । लगातार तीन खेलमा टी–ट्वान्टीमा अर्धशतक बनाउने कुशल एक मात्रै खेलाडी हुन् ।

यस्तै, नेदरल्याण्ड्सविरुद्धको फाइनलमा कुशलले ७७ रन बनाउँदै प्रतियोगिताकै उत्कृष्ट खेलाडी बने । विगतको १० वर्ष देखिको संघर्षलाई सफलतामा परिणत गर्दै कुशलले आफूलाई अब्बल ब्याटरका रुपमा उभ्याएका छन् ।

विश्वकप छनौटमा फिलिपिन्सविरुद्धको खेलमा नेपाललाई १ सय ३६ रनको जित दिलाउन शतक योगदान गरेका कुशलको चर्चा अहिले देश विदेशमा भइरहेको छ । कुशलले प्रहार गरेको शतकको भिडियो फुटेज ट्वीटरमा हाल्दै आइसीसीले लेखेको छ, ‘नेपालका कुशल भुर्तेल फायर ।’

उनको शतकले नेपाललाई प्रतियोगिताकै बलियो टोलीको रुपमा उभ्याएको छ । अनि विश्वकप छनौटको सेमिफाइनलमा पनि लगभग सुरक्षित गरिसकेको छ ।

अब सेमिफाइनल र फाइनलमा समेत कुशलले आशातित प्रदर्शन गर्न सकेमा नेपालले फेरि विश्वकप खेल्न पाउनेछ । सन् २०१४ पछि नेपाललाई विश्वकप खेलाउने टोली बनाउने एक प्रमुख खेलाडीको हकदारका रुपमा पनि कुशल हुनेछन् ।