मुख्य समाचार

सप्तकोसी नगरपालिकामा झडप, वडाअध्यक्षसहित दुई जना घाइते

By खबरहब

February 20, 2022

सप्तरी– सप्तकोसी नगरपालिकामा आइतबार झडप हुँदा एक वडा अध्यक्षसहित दुई जना घाइते भएका छन् ।

चार दलका कार्यकर्ताले लगाएको ताला फुटाएपछि पुनः आइतबार ताला लगाउने क्रममा झडप भएको हो ।

६ बुँदे माग राख्दै बिहीबार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरूले नगरपालिकाको कार्यालयमा ताला लगाएका थिए । जनप्रतिनिधिले गत शुक्रबार ताला खोलेर काम सुरु गरेपछि झडप भएको स्थानीयले बताए ।

झडपका क्रममा सप्तकोशी नगरपालिका–४ का वडा अध्यक्ष बद्रिनारायण चौधरी र वडा नम्बर ९ का किसुन यादव घाइते भएका छन् । घाइते दुवैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अप्रिय घटना हुन नदिन नगरपालिका कार्यालय वरपर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा नगरभित्रका ११ वटै वडाका योजना कार्यान्वयन गर्नुपर्ने, बेरुजुको विवरण र आन्तरिक लेखा परीक्षणको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै चार दलले माघ २४ गते नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापन पत्रको बेवास्ता गरेको भन्दै उनीहरूले तालाबन्दी गरेको हो ।