खेलकुद

ए डिभिजन लिगः मछिन्द्र क्लबका कप्तान सुजल अन्तिम खेलबाट वञ्चित

By खबरहब

February 20, 2022

काठमाडौँ– सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र फुटबल क्लबका कप्तान सुजल श्रेष्ठले अन्तिम खेल गुमाउने भएका छन् ।

दुई खेलअघि नै लिग च्याम्पियन भएको मछिन्द्रले अन्तिम खेलमा विभागीय टोली एपीएफ फुटबल क्लबको चुनौती पेस गर्दैछ ।

तर, कप्तान सुजलले भने लिगको समापन तथा पुरस्कार वितरण हुने अन्तिम खेल गुमाउने भएका हुन् । लिगमा लगातार दुई खेलमा पाएको पहेंलो कार्डका कारण सुजल अन्तिम खेलमा निलम्बनमा हुने छन् ।

शनिबार थ्रीस्टारविरुद्ध प्राप्त १–० को जितमा विपक्षी खेलाडीसँग ठोक्किन पुग्दा सुजलले पहेंलो कार्डको सामना गरेका थिए । प्राप्त पेनाल्टी सदुपयोग गरेपछि थ्रीस्टारका गोलरक्षक प्रिसोसँग ठोक्किन पुग्दा सुजललाई रेफ्री प्रकाशनाथ श्रेष्ठले कार्ड देखाएका थिए ।

प्रतियोगिताको नियमावलीअनुसार दुई पहेंलो कार्डको सामना गरेपछि एक खेल निलम्बनमा परिने छ । यसअघि सुजलले जावलाखेलविरुद्ध ७७ औँ मिनेटमा पहेंलो कार्ड पाएका थिए । सुजल

मछिन्द्रलाई लगातार उपाधि जिताउँदा टोलीका महत्वपूर्ण सदस्य हुन् । उनले मनाङ मस्र्याङ्दीमा रहँदासमेत दुई पटक लिगको उपाधि उचालेका छन् ।

सुजलसँगै अजरबैजानका अट्याकरसमेत रहेका नुर्लान जाहिद नोम्रुजोभले समेत खेल गुमाउने छन् । उनीसमेत दोहोरो कार्डका कारण निलम्बनमा हुनेछन् । जारी लिगमा १२ खेलबाट ३२ अंक बनाएको मछिन्द्रले आफ्नो अपराजित यात्रा कायम गरेको छ ।

अन्तिम खेलमा समेत मछिन्द्र अपराजित यात्रा कायम राख्दै लिगको ट्रफी उचाल्ने योजनामा हुनेछ ।