राजनीति

एमसीसी संसदमा टेबल भएपछि कसले के भने ? (भिडियोसहित)

By खबरहब

February 20, 2022

काठमाडौँ– सत्तारुढ दलकै सांसदको विरोधकाबीच अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँग भएको मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) कम्प्याक्टलाई सरकारले संसदमा टेवल गराएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्मा उपस्थित नभएपछि सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्ताव टेवल गराए । कार्कीले प्रतिनिधिसभाको बैठकमा प्रस्ताव टेवल गर्दैगर्दा सत्तारुढ दलका सांसदहरुसमेत उठेर नारावाजी गरेका थिए ।

प्रतिनिधिसभामा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरुले विरोधमा नारावाजी गरेका थिए ।

बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले सदन अवरुद्ध भएको अवस्थामा एमसीसी सम्झौता टेबुल गर्ने विषयमा पार्टीको ध्यानाकर्षण भएको बताए । संसद् अवरुद्ध भइरहेको अवस्थामा संसद्मा महत्वपूर्ण विषयमाथि छलफल हुन नसक्ने र एमसीसीका राष्ट्रिय हित विपरीतका प्रावधान संशोधन गरेर मात्र सहमतिका आधारमा अगाडि बढाउनपर्ने आफ्नो पार्टीको धारणा रहेको बताए ।

त्यस्तै नेकपा (एमाले)का नेता एवं सांसद भीम रावलले नेपालको संविधान र कानुनमाथि आघात पर्ने एमसीसी सम्झौताको केही प्रावधानका बारेमा राजनीतिक दलका बीचमा सहमति नभइ यो कसरी टेबुल भयो भनी प्रश्न गरे ।

नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी सम्झौताका कतिपय प्रावधान नेपालको कानुन विपरीत भएको र नेपालको हितविपरितको सम्झौतालाई संसद्बाट अनुमोदन गरिनु नहुने बताए ।

भिडियो हेर्नुहोस्

राष्ट्रिय जनमोर्चाका सांसद् दुर्गा पौडेलले एमसीसी परियोजना राष्ट्रिय हितमा नभएको भन्दै यसलाई खारेज गरिनुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमसीसीलाई सदनले पारित गरे गलत नजिर बस्ने बताए ।

प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै खनालले करार सम्झौताहरुलाई दुनियाँको कुनैपनि संसदमा लगेर अनुमोदन गर्ने परम्परा नरहेको भन्दै एमसीसीलाई सदनले पारित गरे गलत नजिर बस्ने बताए ।

उनले संविधान बिपरित एमसीसीलाई सदनमा पारित गर्न नहुने बताए । एमसीसीका बहानामा नेपाललाई ट्रयापमा पर्ने काम गरिएको बताए ।

त्यस्तै कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले आउँदो संसद् बैठकबाट एमसीसीबारे छलफल हुने बताए ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमसीसीका बिषयमा डबल स्ट्यान्डर्ड छाड्न सुझाव दिए । आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सरकारमा पनि बस्‍ने र सरकारले ल्याएको प्रस्तावमा कोही पक्ष र कोही विपक्षमा लागे जस्तो गर्ने पार्टीहरूको डबल स्ट्यान्डर्ड छाड्न सुझाव दिएका हुन् ।

नेकपा (एकीकृत समाजवादी) नेतृ रामकुमार झाँक्रीले सदनमा एमसीसीका बिषयका आवश्यक संशोधन हुनसक्ने बताइन । सदनमा एमसीसी पेस भएकै विषयले आफ्नो पार्टी नफुट्ने दाबी गरिन ।