काठमाडौँ : दुई हजारको दशकमा नेपाल अहिलेको अवस्थामा थिएन । स्वयंम राजधानी पनि यति धेरै विकसित थिएन् । त्यसबेला गाउँमा झन् कस्तो अवस्थाको विकास र चेतनास्तर थियो ? सजिलै अनुमान गर्न सकिन्छ ।
संखुवासभाको चैनपुरमा २००२ सालमा आनन्द श्रेष्ठ जन्मिए । अवस्था यस्तो थियो कि डाक्टर पढ्नु त्यतिबेला रहरभन्दा बढी आवश्यकता थियो । तर आँट सबैको थिएन । कारण डाक्टर पढ्ने आर्थिक ल्याकत सबैमा हुँदैन्थ्यो ।
श्रेष्ठलाई परिवारले डाक्टर बनाउन सक्ने अवस्था पनि थिएन । तर इच्छाशक्ति भएपछि कुनै कुराले रोक्न सक्दैन भन्ने ज्वलन्त उदाहरण उनी हुन् । नेपालमा त्यस समयमा कोही पनि रेडियोलोेजिष्ट बन्न चाँहदैन थिए । डाक्टरी पढ्न नसक्ने अवस्थामा रेडियोलोजिष्ट झन् धेरै परको कुरा थियो ।
तर श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालमा प्रवेश पाएपछि रेडियोलोजी पहिलो अवसर पाएका थिए । ‘त्यतिबेला नेपालमा तीन चार वटा रेडियोलोजी ल्याब थियो होला । अहिले जस्तो प्रविधिको विकास हुन नसकेका कारण रेडियोलोजीको खासै महत्व राख्दैनथ्यो,’ उनी भन्छन्, ‘त्यति बेला एक सयमा रिपोर्ट हुन्थ्यो । एक्सरे हुन्थ्यो । यस्तो समयमा छनोटमा परे र रेडियोलोजी अध्ययन गर्न सकेको हुँ ।’
एमबीबीएस पास गरेपछि एमडी पढ्न उनी भारत गए । भारतको तीन वर्षको अध्ययन पश्चात काठमाडौँको शिक्षण अस्पतालमा असिस्टेन्ट प्रोफेसरको रुपमा उनले सन् १९९१ देखि रेडियोलोजिष्ट परिचय बोकेर काम सुरु गरेका हुन् ।
भारतदेखि शिक्षण अस्पताल र वीर अस्पतालको चुनौति
श्रेष्ठले काठमाडाँै पाइला राखेपछि उनी वीर अस्पतालको रेडियोलोजी विभागमा पुगे । उनी त्यहाँ एक्सपोजरको रुपमा आएका थिए । नयाँ क्षेत्रमा नयाँ काम । त्यसमा पनि अनुभव पनि नयाँ नयाँ थियो । केही गरौँ भन्ने भावनाले मात्रै हुदैन्थ्यो, भरोसा कायम राख्नुपर्ने चुनौति थियो । उनले त्यसैलाई स्वीकार गरे ।
‘त्यसबेला भेरिएन्ट मिलको सिरिन्ज, भेरिएन्ट मिनीमा, भेरिएन्ट सम्बन्धी विशेष अनुसन्धान, एक्स रे मात्र हुन्थ्यो’ उनी त्यो चुनौति स्वीकार गर्दाको क्षण सम्झिन्छन्, ‘अल्ट्रा साउण्ड, सिटि स्क्यान, एमआरआई केहि पनि थिएन । त्यस्तो बेला एक्स रे रिपार्ट नै नलिइकन डाक्टरले काम गर्नुपथ्र्यो । जुन निकै ठूलो चुनौति थियो ।
त्यसबेला विरलै रेडियोलोजिष्ट देखिने काठमाडौँमा श्रेष्ठले आफ्नो नाम बनाए । शिक्षण अस्पतालमा काम गर्ने क्रममा उनले एमबीबीएस पीजीएस, विद्यार्थीलाई अध्यापन गराउने मौका पाए । धेरै विद्यार्थीहरु उत्पादन गर्न पाएकोमा पनि उनी आफूप्रति गौरव गर्छन ।
‘त्यसबेला अरु रेडियोलोजिष्ट थिएनन्, टिचिङमा मैले पढाउँदा धेरै रेडियोलोजिष्ट उत्पादन गर्ने अवसर पाएँ,’ उनले भने ‘अहिले सम्झिदा खुशी लाग्छ । देशभर रेडियोलोजिष्टको संख्या बढ्दै जाँदा खुशी पनि लाग्छ ।’
मेडिकल विषयमा मात्र होइन, धेरै विषयमा नेपाल पछाडि नै छ । प्रविधिको विकास क्रममा विस्तारै परिवर्तन आइरहेको छ । छिमेकी भारतकै तुलनामा नेपाल पिछडिएको छ । नेपालमै हुन सक्ने कतिपय उपचारहरु प्रविधिको अभावमा विरामीहरुलाई विदेशमा पठाउनु परेको अवस्था छ । आफ्नो सफलतामा आनन्द मानिरहेको उनको नाम यसमा पनि सन्तोषजनक देखिदैन । यो भोगाई स्वयंम उनमा पनि छ ।
‘एक जना विरामीलाई ब्रेनमा समस्या भएर सिटी स्क्यान गर्नका लागी सिटी स्क्यान नभएर गर्न सकेन । ती विरामीलाई अल इन्डिया इस्टिच्युट अफ मेडिकल साइन्समा लगेर सिटी स्क्यान गर्दा ब्रेनमा क्यान्सर भएको थियो । एउटा सिटि स्क्यान नहुँदा हामीले यस्ता समस्याहरु भोग्नुपरेको थियो,’ उनी त्यतिबेला भोगेका यस्ता धेरै समस्या सम्झिएर अहिले पनि झस्किन्छन् ।
तर अहिले तुलानात्मक रुपमा पहिलाको भन्दा प्रविधि तथा उपचारमा धेरै विकास भएको उनको बुझाई छ । जसले आंशिक भएपनि उनलाई खुशी दिन्छ । नेपालको र बाहिरी देशको उपचारको कुरा गर्दा सजिलै तुलना गर्न गाह्रो छ ।
भन्छन्, ‘एउटा घट्नालाई स्मरण गर्न चाहन्छु । पूर्व स्वर्गीय प्रधानमन्त्री शुशील कोइरालाको चेष्टमा क्यान्सर भएको बेला रेडियोलोजिष्ट विशेषज्ञको रुपमा जाने अवसर पाएको थिँए । त्यस समय रेडियोलोजीमा चाहिने प्रविधिहरु नेपालमा नभएका कारण उपचार गर्न उँहालाई भारत या अमेरिकामा जानुपर्ने सुझाव दिएको थिँए । उहाँले नेपालमा नै उपचार गर्न खोज्नु भएको थियो । तर हामीसँग उपकरण नभएकाले विदेश जान सुझाएको थिएँ । यस्ता धेरै समस्या छन् ।’
अझै पनि नेपालमा तालिम प्राप्त डाक्टर हुँदा पनि प्रविधि नहुँदा सर्वसाधारणलाई उपचार गराउन समस्या भएको उनको देखे भोगेका घटनाक्रमले बताउँछन् । प्रविधिको अभावका कारण उपचारको लागी विदेश जानुपर्ने बाध्यता रहेको वास्तविकता उनी बताउँछन् ।
सरकारी अस्पतालमा उपकरण अभाव, प्राइभेटमा आकर्षण
नेपालको सरकारी समस्याले डा. आनन्द पनि अहिले निजी क्षेत्रमै व्यस्त छन् । बिरामीको सेवा गर्नुपर्ने दैनिकीमा उनी उपकरणकै कारण निजी अस्पतालमा व्यस्त रहनुपर्ने बाध्यतामा धकेलिएका हुन् ।
‘सरकारको निर्देशन अनुसार सरकारी अस्पतालमा चल्नु पर्ने हुन्छ । सरकारको निर्णय अनुसार सरुवा, बढुवा हुँदा स्थायित्व नहुने हुन्छ,’ उनी आफ्नो अनुभव पोख्छन्, ‘निश्चित बजेट, औषधि, औजारको अभाव, जनशक्तिको अभावका कारण सीप र क्षमता हुँदाहँुदै पनि काम गर्न सक्ने अवस्था छैन ।’
त्यसमाथि कर्मचारी तन्त्रका कारण पनि काम गर्ने सहज वातावरण छैन । यी सबै कारण निजी अस्पताल फरक छन् । निजी क्षेत्रमा राम्रो वातावरणको सिर्जना गरी काम गर्न सहज छ । आवश्यक स्रोत र सामाग्रीको व्यवस्थापन राम्रो हुन्छ ।
निजी संस्थालाई अगाडि बढाउन संस्थागत निर्णयहरु गरी काम गर्नुपर्छ । जसले गर्दा बैंक, वित्तिय संस्था, सेयर होल्डरहरुको पनि राम्रो साथ पाइएको हुन्छ । यसकारण सरकारी क्षेत्रमा भन्दा निजी क्षेत्रमा कार्य गर्न सहज रहेको डा.श्रेष्ठको भोगाइ छ ।
‘मैले सरकारी अनुभव लिएर नै निजीमा केही फरक र सेवामुलक काम गर्नुपर्छ भनेर ओम अस्पतालको प्रमुख बनेको हुँ,’ उनले भने, ‘यस अस्पतालले आर्थिक अवस्था कमजोर भएका विरामीहरुलाई सहुलियत दरमा उपचार गरी सेवा दिइरहेको छ ।’
सरकारी अस्पतालमा थोरै शुल्क परेपनि धेरै समय कुर्नुपर्ने अवस्थाले समयमै उपचार नपाउने समस्या बढेको छ । शुल्कमा सरकारी अस्पतालमा भन्दा केहि अन्तर भएपनि बिरामीको अवस्था हेरेर सेवा दिने भएकाले निजी अस्पतालमा बिरामीको आकर्षण बढ्दै गएको बुझाइ डा.श्रेष्ठमा छ ।
‘रेडियोलोजिष्ट डाक्टर बन्छु भन्ने सोचेकै थिएन’
उनका शब्दमा उनले आफू अहिले भएको पेशामा आउँछु भन्ने सोचेकै थिएनन् । त्यो पनि त्यो बेला असम्भव लाग्ने कुरा आफूले गरेर देखाउँछु भन्ने हिम्मत कमै थियो । तर समय र उनको इच्छाशक्तिले त्यसलाई सम्भव तुल्यायो ।
‘यो क्षेत्रमा काम गरी रेडियोलोजिष्ट बन्छु भनेर कहिले सोचेको थिएन । सन् १९७२ मा एमबीबीएस गरेर फर्के पश्चात वीर अस्पताल र पाटन अस्पतालमा काम गरे । त्यसपछि स्थायी जागिर खाने सोचले टिचिङमा लेक्चलरको रुपमा काम गरे,’ उनले त्यो बेलाको आफ्नो पहिलो भोगाई सुनाएँ, ‘त्यसपछि सिंगापुरमा पब्लिक हेल्थमा अध्ययन गर्न अवसर पाएर पनि गइन । पछि रेडियोलोजिष्टको लागी अवसर पाएपछि अल इन्डिया इन्टिसच्युट अफ मेडिकल साइन्समा अध्ययन गरे । त्यसपछि जापान जर्मनीमा तालिम लिँए । अहिले रेडियोलोजिष्टका रुपमा कार्यरत छु ।’
उनी यति कुरा गर्दा त्यसबेलाको घरको अवस्था भन्न पनि बिर्सदैनन् । घरपरिवारले डाक्टर बनाउन सक्ने अवस्था नभएकै कारण उनले त्यति ठूलो सपना घरपरिवारसँग पुरा गर्ने जिद्दी पनि गरेनन् ।
‘डाक्टर बन्ने मेरो नितान्त व्यक्तिगत इच्छा थियो । २०२० सालमा ५० प्रतिशत अंक ल्याएर एसएलसी पास गरे । घरको कमजोर आर्थिक अवस्थाको बाबजुद पनि डाक्टर बन्ने सपना बोकी आइएस्सी पढ्न काठमाडौँ आँए,’ उनले भने, ‘आइएस्सीको अध्ययन पश्चात छात्रवृत्तिमा अध्ययन गर्न भारत गएँ । त्यही अवसरले डाक्टर बन्ने सौभाग्य पनि पाएँ ।’
डाक्टर बनेपछिको त्यो अवस्मरणीय क्षण
उनले आफ्नो नयाँ यात्राको थालनी गर्दा धेरै चुनौति थिए । जुन सहजै पूरा गर्न झन् सजिलो थिएन । तर पनि उनले हार खाएनन् । आफ्नो विराट योजनामा उनी सफल भए । डाक्टर बन्ने सपना साकार पारे । यसबीचका कति घटनाका ताजा प्रमाण उनीसँग छन् ।
डाक्टरी जीवनमा धेरै राम्रा नराम्रा घटनाहरु घटे पनि एउटा घटना भने सम्झिदा उनी अहिले पनि झस्किन्छन् । त्यो हो, सिन्धुपाल्चोक घटना । जतिबेला मेडिकल अफिसर भएर सिन्धुपाल्चोक बाह्रबिसेमा उनको पहिलो पोस्टिङ भएको थियो ।
त्यस ठाँउमा कार्यरत भइँरहदाको एउटा घटना उनी सम्झिन्छन् । तीन चार घण्टाको उकालो बाटो चडेर बिरामी हेर्न पुगेका थिए । विरामीलाई धामी झाँक्री लागएर झारफुक गर्ने गरेको दृश्यले उनलाई एकदम धेरै पीडा दियो ।
केही प्रविधि विना नै विरामी जाँच गर्नुपर्ने अवस्था थियो । विरामीको लिभरमा पीप जमेको थियो । तर कसैले पनि उनको कुरा पत्याएनन् । त्यसपछि बिरामीको छोराको अनुमतिमा अलिकति घाउ निचोरेर पिप निकाले । त्यसपछि उनले पुरै घाउबाट पिप निकाले । अनि सबै जना खुसी भएर ताली पनि बजाए ।
बिरामीलाई बाह्रबिसे स्वास्थ्य केन्द्रमा लगेर दश पन्ध्र दिनसम्म दैनिक उपचार गराएर निको बनाए । त्यसबेला बिरामीले एक सय मात्र शूल्क तिर्नु पथ्र्यो । बिरामीलाई नयाँ जीवन दिन सके भनेर धेरै खुसी भएका थिए डा.श्रेष्ठ । जुन उनले आफ्नो अविस्मरणीय क्षणमा दर्ज गरेका छन् ।
नेपालमै सबै रोगको उपचार सम्भव देख्ने डाक्टर
उनलाई आफ्नो जीवनका धेरै क्षणहरुमा ठूलो खुशी छैन । न त ठूलो दुःख छ । केवल मानवीय सेवा र बिरामीको मुहारमा खुशी ल्याउन हरपल समर्पित छन् ।
त्यसमा पनि नेपालमा आधारभूत आवश्यकता बनेको कुरामा सम्बोधन भन्दा बढी बेवास्ता छ । मेडिकल क्षेत्रमा नेपालमै प्रविधिहरुको विकास भइसक्दा पनि गुणस्तरीय स्वास्थ्य सेवातर्फ ध्यान छैन ।
हाँच्छ्यु आउँदा पनि दिल्ली, लण्डन जाने नेताहरुको प्रवृत्तिप्रति उनको आपत्ति छ । विदेशका महंगा अस्पतालमा भन्दा नेपालकै अस्पतालहरुलाई विश्वास गर्न पनि उनको आग्रह छ ।
‘हामीले विस्तारै सिक्दै जाने हो । हामी एकदमै दक्ष छौँ भनेर दाबी गर्दैनौ । नेपालमा धेरै दक्ष जनशक्तिहरु उत्पादन भइसकेको छ । प्रविधिको राम्रो विकास भएको छ,’ उनी भन्छन्, ‘नेपाल सरकारलाई नेपालमा नभएका प्रविधि भित्र्याइदिन अनुरोध गर्न चाहन्छु ।’
सरकारले ध्यान दिएमा विदेशमा हुने कैयौ उपचार नेपालमै सम्भव हुने उनको भनाइ छ । विदेशी चिकित्सकसरह नेपालका चिकित्सक सक्षम रहेको पनि उनको भनाइ छ । उनीहरुलाई प्रोत्साहन र बेला बेला दक्ष सीप तथा तालिमको आवश्यकता पर्ने उनको भनाइ छ ।
‘उहाँहरुलाई प्रोत्साहन र विश्वासको खाँचो छ । यसमा सरकारले ख्याल गरेमा मेडिकल क्षेत्रमा नेपालले धेरै फड्को मार्छ,’ उनले सारमा भने ।